सिँचाइ अभावले लसुनखेती गर्न बाधा
जाजरकोट, २७ फागुन : विगत वर्षसम्म नलगाड नगरपालिका–१० रग्दाका हर्कबहादुर थापाको अधिकांश खेतबारी बाँझै हुन्थ्यो । थापाको मात्र होइन, सिँचाइ, प्रविधि, मललगायत अभावमा नलगाड ८, ९ र १० का किसानको अधिकांश जग्गा बाँझो देखिन्थ्यो । अन्य उत्पादन न्यून प्राय नहुने भएकाले रग्दा र रोलीगाउँका कतिपय किसानले खेतवारीमा फाटफुट सुर्तीखेती गर्दथे । उनीहरु जमीन बाँझो राख्नुभन्दा आकाशे पानीका भरमा पनि उत्पादन हुने सुर्तीखेती गर्न बाध्य थिए तर यो वर्ष नलगाड नगरपालिकाका ८, ९ र १० वडाका घरैपिच्छे लसुनखेती हराभरा देखिन्छ ।
नलगाडको मैदे, रोली, रग्दालगायत गाउँका कृषकलाई पछिल्लो समय लसुनखेतीमा मोह बढेको पाइएको छ । उक्त गाउँका किसानले खेतबारीमा गहुँ, तोरी र तरकारी खेतीको साटो लसुनखेती गरेका हुन् । रग्दाका भीमबहादुर रावत, डम्बरबहादुर रावत, थापालगायत दर्जनौँ किसानको लसुनखेतीतर्फ मोह बढेको हो । मनग्य आम्दानी हुने भएपछि यस वर्ष आठ रोपनी खेतमा लसुनखेती गरेको भीमबहादुरले बताउनुभयो । प्रतिरोपनी चार क्विन्टल लसुन उत्पादन हुने रावतको भनाइ थियो ।
गहुँ लगाउँदा रू दुई हजार प्रप्त हुने एक रोपनीको खेतमा लसुनबाट २४ हजार आम्दानी भएको उहाँले बताउनुभयो ।उनीहरूले चनाखेतीमा पनि जोड दिएका छन् । यो वर्ष हिमपात तथा वर्षात धेरै भएकाले लसुन तथा चनाखेती सप्रेको हो । “सिँचाइ सुविधा नहुँदा आकाशे पानीका भरमा खेतीपाती गर्ने गरेको छौँ”, भीमबहादुरले भन्नुभयो । लसुनखेतीका लागि ऋण काढ्ेर पाइप किनी सिँचाइ गर्ने गरेको अर्का कृषक डम्बरबहादुरले बताउनुभयो । रग्दालगायत क्षेत्रका १०० किसानले ४०० रोपनी खेतबारीमा लसुनखेती गरेका छन् । सिँचाइ सुविधा नहुँदा कतिपय किसानको जमीन बाँझै छ ।
उक्त नगरपालिकाले वडा नं ८, ९ र १० लाई लसुन उत्पादनको पकेट क्षेत्र घोषणा गरेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । उक्त वडाका किसानलाई बीउ, मललगायतमा ७५ प्रतिशत अनुदान सहयोग गरेर लसुनखेती गर्न लगाएको जानकारी दिँदै उहाँले नलगाडको रग्दा, कायामैदे, रोली जिउलालगायत क्षेत्र लसुन उत्पादनको राम्रो सम्भावना भएकाले पकेट क्षेत्र घोषणा गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले गत वर्ष लसुनखेती गर्ने किसानलाई रू १० लाख अनुदान दिएको थियो ।
लसुनको पकेट क्षेत्रमा कुनै पनि समस्या आउन नदिन नियमित प्राविधिक परिचालन गरिएको र लसुनलाई बजारीकरण गर्ने जिम्मासमेत लिइएको जानकारी दिँदै नगरप्रमुख रावलले कुनै सहकारी संस्थासँग समन्वय गरेर लसुनको बजारीकरण गर्ने योजना रहेको बताउनुभयो । यस वर्ष नलगाडमा करिव चारसय क्विन्टल लसुन उत्पादन हुने अनुमान गरिएको छ ।
नगरपालिकाले वडा नं १, २, ४ लाई मह, वडा नं ५ लाई मकै, वडा नं ६ लाई आलु, वडा नं ७, ८ लाई धान, ८, ९ र १० लाई लसुन उत्पदनको पकेट क्षेत्र घोषणा गरी त्यसै अनुरुप गतिविधि सञ्चालन गरेको छ ।
