गाईगोरुको उचित संरक्षण गर्न आदेश
काठमाडौँ, २२ फागुन : सर्वाेच्च अदालतले नेपालको राष्ट्रिय जनावरको प्रतीकका रुपमा रहेको गाई र त्यससँग सम्बन्धित प्रजाति घरपालुवा जनावर गोरुको उचित संरक्षण गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश तेजबहादुर केसीको इजलासले मङ्गलबार नेपालभरका जुन जुन स्थानमा छाडा छोडिएका गाईगोरुको उचित संरक्षण गर्न आदेश जारी गरेको छ । आदेशमा भनिएको छ, ‘देशभरका जुन जुन स्थानमा छाडा छोडिएका गाईगोरुलाई सुरक्षित बासस्थान, जीविकाका लागि घाँस, दाना, पानीजस्ता अति आवश्यक आहार एवम् उपचारको व्यवस्था गर्नु ।’ अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी चैत ३ गते बोलाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय लगायतलाई विपक्षी बनाई स्नेहाज केयरका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले यही फागुन १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । नेपालको धार्मिक आस्थासमेत जोडिएको गाईगोरुलाई छाडा छोड्ने, निर्दयी व्यवहार गर्ने र भोग, रोग र ओतको समेत राम्रो व्यवस्था नभएको हुँदा सो व्यवस्था गर्न आदेशको माग रिट निवेदनमा थियो ।
