महोत्तरीका किसानले गरे हलो र गोरु पूजा

गोपालप्रसाद बराल । गौशाला, २७ माघ : श्रीपञ्चमीको अवसरमा महोत्तरी जिल्लाका किसानले आज हलो र गोरुको पूजा गरेका छन् । परम्परागत रुपमा जिल्लाका किसानले आजका दिनलाई कृषि कार्यको शुरुवात भएको मान्दै आजका दिन हलो र गोरुको पूजा गर्दै आएकाले महोत्तरीका हजारौँ किसानले हलो गोरु पूजा गरेका छन् ।

किसानले आ–आफ्ना आँगनमा हलो राखेर पूजाआजा गर्नुका साथै घर बाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर पूजा गर्ने गर्दछन् । किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलनअनुसार खेतबारी पनि जोतेका छन् ।

आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने तथा बाछोबाट गोरुका रुपमा तयार भइसकेकालाई समेत आजका दिनबाटै गोरु बनाउने गर्छन् । किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन् प्रयोगमा ल्याउने गर्छन् ।

श्रीपञ्चमीको अवसरमा अरवा चामलमा सख्खर मिलाएर एक किसिमको प्रसाद तयार पार्छन् भने हलो र गोरुको पूजा गरेर हलो जोतेर एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर पूजा सम्पन्न गर्ने प्रचलन छ । आजका दिनबाट आफ्नो खेतीपाती शुरु भएको समेत मान्ने गरिन्छ भने आजैका दिनबाट आ–आफ्ना बाँझो खेतबारीसमेत जोत्ने कामको शुभारम्भ हुन्छ ।

हलो गोरु पूजाको अवसरमा गाउँमा सयौँ गोरु एकैसाथ कुँदिरहेको तथा किसानको काँधमा हलो लहरै रुपमा राखेर गइरहेको हेर्दा सबैको मन खुशीले गद्गद हुन्छ । हलो र गोरु पूजा महोत्तरीको सदरमुकाम जलेश्वरलगायत जिल्लाका १० नगरपालिका, पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहका सयौँ गाउँमा धुमधामका साथ मनाइएको छ ।

पानी परेपछि किसान हर्षित 

महोत्तरी जिल्लामा तीन दिनसम्म पानी परेपछि किसान हर्षित भएका छन् । लामो समयदेखि पानी नपरेका कारण जिल्लामा दलहन, तेलहन र गहुँ तथा मकै बाली नसप्रिने अवस्था आइसकेका बेला विगत तीन दिनसम्म जिल्लामा निकै धेरै पानी परेपछि किसान हर्षित भएका छन् ।

तीन दिनसम्म परेको पानीले जिल्लाको हजारौँ बिघा जग्गामा लगाइएको दलहन, तेलहन, गहुँ र मकै बालीलाई निकै फाइदा पुगेको तथा यसपालि यी बाली राम्रो उत्पादन हुने किसान बताउँछन् । महोत्तरीमा वर्षेनी दलहन बालीमा मसुरो, रहर, चना र तेलहन बालीमा आलस, तोरी, सस्र्यौं खेती हुने गरेको छ भने गहुँ र मकै पनि पर्याप्त मात्रामा हुने गर्छ ।

कृषि श्रमिकको अभाव

सरकारले खेतीयोग्य जग्गा बाँझो राख्न नपाउने कानून बनाउने तयारी गरिरहेकै बेला महोत्तरीका किसान भने यसपालिको श्रीपञ्चमी पर्वमा कृषि श्रमिक नपाएर पिरोलिएका छन् ।

मिथिलामा श्रीपञ्चमी पर्वका दिन अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको र कृषि ज्यावल बनाउने तथा मर्मत गर्ने बडही (हलो, कुटो, कोदालो बनाउने र मर्मत गर्ने मिथिलाको खास जाति समुदाय, सिकर्मी) को टुङ्गो लगाउने परम्परा छ । तर यसपालि आफ्नो गाउँनगर बस्तीमा कृषि श्रमिक र बडही नपाएपछि यहाँका किसान समस्यामा परेका छन् ।

“श्रीपञ्चमीमा हलीको टुङ्गो लगाउन एकसातादेखि मान्छे खोज्याखोन्यै छु, तर कोही भेटिएनन्”, भङ्गाहा नगरपालिका–३ का किसान तेजनारायणसिंह थारुले भन्नुभयो, “सरकार चाहिँ खेत बाँझो राख्न नपाउने कानून बनाउँदैछ भन्ने सुनिन्छ तर गाउँनगर बस्तीमा कामदार पाइँदैनन्, मान्छे नै नपाएपछि खेती कसरी गर्नेहोला ?”

जिल्लाको गाउँनगर बस्तीमा कृषि कार्यका लागि कहलिएका मुसहर युवा रोजगारका लागि भारतको पञ्जाव, हरियाणा र अन्य समुदायका युवा अरब राष्ट्र गएपछि गाउँ बस्ती युवाविहीन बनेका छन् । काम गर्ने उमेरका युवा गाउँनगर बस्तीमा नरहेपछि यसपालिको श्रीपञ्चमी पर्वमा श्रमिक वरण गर्न नपाइएको अर्का किसान शालिग्राम ढकालले चिन्ता व्यक्त गर्नुभयो ।

हलो जोत्ने, कुटो कोदालो चलाउने, गाईभैँसी चराउने र अन्य कृषि कार्यका लागि आइपर्ने काम गर्ने श्रमिक (मजदूर) माघ शुक्लपञ्चमीकै दिन अघिल्लो एक वर्षका लागि कुरा पक्का गरेर वरण गर्ने मिथिला परम्परा रहिआएको छ । यसपालि गाउँनगर बस्तीमा कृषि कार्यका श्रमिक र बडही नभेटिएपछि श्रमिक र बडही वरण गर्न नपाइएको बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ७५ वर्षीय पाका किसान नथुनी महतोले बताउनुभयो । “आफ्नो बस्तीमात्र नभएर छरछिमेकका बस्तीमा पनि श्रमिकको खोजी गरँे” महतोले भन्नुभयो, “तर, कहीँ भेटिएनन्, कामकाजी उमेरका सबै युवा विदेशिए, अब खेती गर्नेे आश म¥यो ।”

मिथिला परम्परामा श्रीपञ्चमीका दिन कृषि श्रमिक र बडहीको पारिश्रमिकको आपसी सहमतिमा टुङ्गो लागेपछि किसानले दुवैलाई अबिर टीका लगाएर मिष्ठान्न भोजन गराई दक्षिणा दिएर वरण गरेपछि उनीहरु अघिल्लो एकवर्षका लागि काममा बाँधिएको मानिने गरिन्छ । परम्पराले यसै दिन श्रमिक र बडहीको टुङ्गो लगाउने भने पनि गाउँ बस्तीका नयाँ पुस्ताका युवा रोजगारीका लागि अन्यत्र गएपछि काम गर्ने मान्छे पाउन नसकिएको औरही नगरपालिकाको भोइल बस्तीका किसान मोहन महतो बताउनुहुन्छ ।

पछिल्लो एक दशकयता गाउँगाउँबाट कामकाजी उमेरका युवा रोजगारीका लागि विदेश जान थालेपछि खेतीपातीको काम निकै पछि धकेलिएको किसानको भनाइ छ । कृषि कार्यमा श्रमिक नपाइएपछि बिघौँबिघा खेतबारी बाँझै रहेका छन् ।

खासगरी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिने यस पर्वलाई कृषि पर्वका रुपमा मनाइने मिथिला परम्परा अब श्रमिक भेटिन छाडेपछि स–साना नानीलाई अक्षरारम्भ गराएर मनाउनेमा मात्र सीमित हुँदै गएको जलेश्वर नगरपालिकाको बखरी बस्तीका बासिन्दा पूर्वप्रशासक महेश्वर रायले बताउनुभयो । यस पर्वमा किसानले कृषि ज्यावललाई धोई पखाली पूजा पनि गर्छन् । यसरी पूजा गरिएका ज्यावल टिकाउ हुने मैथिल जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.