लागत प्रभावी प्राङ्गारिक खेतीमा नयाँ खोज

काठमाडौँ, १५ माघ : प्राङगारिक खेतीलाई बढावा दिने लक्ष्यका साथ नेपाली कृषि वैज्ञानिकले ‘लागत प्रभावी प्राङ्गारिक खेती’ मा नयाँ खोज गरेका छन् ।

विद्यमान प्राङगारिक खेती प्रणालीमा किसानको बढी लागत हुने र त्यसबाट फाइदासमेत नहुने भएकाले नयाँ खोज गरिएको दाबी गरिएको छ । कागेश्वरी मनहरा नगरपालिका–६ नयाँ डाँछीमा पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल र प्राङ्गारिक खेतीका अभियानकर्मी राम थापाले आज उक्त खेती र खोजको निरीक्षण गर्नुभयो ।

कम लागतमा किसानलाई राहत दिने र प्राङगारिक खेतीतर्फ आकर्षित गर्ने लक्ष्यका साथ नयाँ खोज गरिएको नेप्लिज फार्मिङ इन्स्टिच्युटका प्रमुख वैज्ञानिक खड्गभक्त पौडेलले जानकारी दिनुभयो । स्थानीय रुपमा प्राप्त हुने विभिन्न जीवाणु तथा जैविक पदार्थको प्रयोग गरेर कम्पोस्ट मल उत्पादन गर्ने, यस्तै हानिकारक जीवाणुको रोकथामका लागिसमेत ‘जीवाणु झोल’को समेत खोज गरिएको पौडेलको भनाइ छ ।

प्रविधिलाई सरलीकृत गर्दै व्यावसायिक कृषि प्रणालीको विकासका लागि आफूहरुले प्रयास गरेको उल्लेख गर्दै प्रमुख वैज्ञानिक पौडेलले धनी र गरीब किसानलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । काउली बन्दाजस्ता कृषि उपजमा लाग्ने कीरा तथा जीवाणु रोकथामका लागि आफूहरुले समेत खोज गरेको उल्लेख गर्दै उहाँले सरकारी तवरबाट सहयोग र सद्भावको जरुरी रहेको बताउनुभयो ।

सो अवसरमा पूर्वप्रधानमन्त्री खनालले नेपाली खोजको विस्तार र विकासका लागि सरकार र पार्टीबाट उचित सहयोग उपलब्ध गराउन पहल गरिने बताउनुभयो । उहाँले कृषि उत्पादनलाई बढावा दिन स्वदेशमा नै नयाँ खोज तथा अनुसन्धानको जरुरी रहेको भन्दै नेपाली कृषि वैज्ञानिकले गरेको खोजप्रति प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले सरकारले समेत प्राङ्गारिक खेतीलाई बढावा दिएको सन्दर्भमा नेपाली वैज्ञानिकको खोजलाई थप सहयोग गर्ने र त्यसका लागि वातारण बनाउने आश्वासन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.