‘नयाँ प्रविधिबारे किसानलाई सूचना आवश्यक’
भरतपुर, १२ माघ : प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले नयाँ प्रविधिबारे किसानलाई सूचना दिन कृषिसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी महत्वपूर्ण भएको बताउनुभएको छ ।
शुक्रबारदेखि भरतपुरमा जारी कृषि, पोल्ट्री तथा डेरीसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनीको अवलोकनपश्चात् उहाँले प्रदर्शनीले आर्थिक गतिविधि बढाएको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा आत्मनिर्भर बन्नका लागि प्रविधिको प्रयोग आवश्यक रहेको भन्दै गाउँगाउँमा नयाँ प्रविधिबारे किसानलाई जानकारी प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रलाई प्रदेश सरकारले सहयोग गर्ने मन्त्री नेपालले प्रतिबद्धता जनाउनुभयो । आइतबारसम्म चल्ने प्रदर्शनीमा नेपाल, भारत, चीनलगायतका विभिन्न १८ देशका कृषिसम्बन्धी कम्पनीका १५० भन्दाबढी कक्ष रहेका छन् । प्रदर्शनीमा कृषकलाई लक्षित गरी पशुपालन, कुखुरापालन, नगदेबाली, सिँचाइ, डेरी सञ्चालन मात्र नभई कृषिका नवीनतम् औजार, उपकरणबारे प्रदर्शनीस्थलमै विस्तृत जानकारी प्रदान गरिएको छ ।
