भारतले ढिलो पानी छाड्दा गहुँखेती प्रभावित

वीरगञ्ज, २५ पुस : भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यसवर्ष गहुँखेती प्रभावित हुने किसानको गुनासो रहेको छ ।

भारतीय पक्षले गण्डक नहरमा डिसेम्बर २५ (पुस १०) भित्र पानी छोडी सक्नुपर्नेमा भारतीय पक्षको नहरको मूलढलानमा ढिलो गरी पानी दिएकाले दुई हप्ता ढिलो पानी आएको स्वीकार्दै नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगञ्जका प्रमुख राजेन्द्रप्रसाद साहले भन्नुभयो, “गहुँको बीउ छर्ने समयमा पानी नछाड्दा केही मात्रामा गहुँखेती भने प्रभावित भएको छ ।”

भारतीय पक्षले ८५० क्युसेकमध्ये यसवर्ष नहरमा ५४० क्युसेक मात्र पानी छाडेकाले उक्त पानी पर्सा र बारामा हुने गहुँखेतीका लागि मात्र पुग्ने तथा आवश्यक भएको खण्डमा मात्र रौतहट जिल्लामा छोडिने डिभिजन प्रमुख साहको भनाइ छ । “मध्य तराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहट जिल्लाका किसान गण्डक नहरमा समयमा पानी नछाड्दा गहुँखेती राम्रोसँग गर्न सकिएको छैन”, किसान शेषमन पण्डितले भन्नुभयो, “आकाशे पानीको भरमा थोरै बीउ लगाए पनि पानीको अभावमा पूर्णरूपमा गहुँखेती गर्न सकिएको छैन ।”

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछोड्दा कतिपय ठाउँमा साना सिँचाइमार्फत किसानले गहुँखेती गरेको सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले जनाएका छन् । भारतीय पक्षले नेपाल तर्फको ८१ किलोमिटर लामो गण्डक नहरमा वर्षको दुईचोटि पानी छोड्ने गर्दछ । गण्डक नहरको चार दशकको लामो इतिहास छ । समयमा नहरमा पानी नछोड्दा पर्सा, बारा तथा रौतहट जिल्लाका ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा किसानले लगाएको गहुँखेती यसवर्ष ढिलो हुने किसानको ठम्याइ छ ।
भारतीय भूमि हँुदै गण्डक नहरको पानी पश्चिमी पर्साको जानकी टोलाबाट शुरु भई पर्सा, बारा हँुदै रौतहटको बाग्मती नदीमा मिसिने गर्छ । नेपाल भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नहरमा ८५० क्यूसेक पानी छोडनुपर्नेहुन्छ ।

उर्वराभूमि, पर्याप्त जनशक्ति र सिँचाइको ठूलो स्रोत हुँदाहँुदै समयमा पानी नआउँदा किसानले समयमा खेती गर्न नसक्ने भएका हुन् । सरकारले आर्थिक समृद्धिका लागि कृषिलाई प्राथमिकतामा राखेको भए पनि समयमा गण्डक नहरमा भारतीय पक्षले पानी नछोड्दा किसानलाई मानो रोपेर मुरी फलाउन समस्या भएको किसानको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal