जुनारको कीरा नियन्त्रणका लागि ‘प्रोटिन हाइड्रोलाइसेट’ अभाव

नबीनबाबु अधिकारी । सिन्धुली, २० पुस : जुनारको राजधानीका रूपमा चिनिने सिन्धुलीको जुनारमा केही वर्षदेखि कीराको सङ्क्रमणले नोक्सानी पु¥याउँदै आएको छ ।

‘ब्याक्टोसेरा मिन्याक्स’ नामक झिँगाले जुनारको फल कुहाउने र औँसा पार्ने हुनाले हरेक वर्ष जुनार खेतीमा ठूलो परिमाणमा क्षति पु¥याउँदै आएको छ । रोग निदान गर्न सिन्धुलीका जुनार उत्पादन पकेट क्षेत्रलाई अहिले नेपाल सरकारले जुनार सुपरजोन अर्थात् प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ पनि स्थापना गरिएको छ ।

जुनार नेपालकै एक मौलिक फल हो, तर यसलाई टिकाउन भने ठूलो चुनौती रहेको छ । तर सुपरजोन स्थापनापछि प्राविधिक पक्षबाट कीराको व्यवस्थापनका लागि क्षेत्रगत निरीक्षण कार्यक्रम गरिएको सुपरजोनका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले जानकारी दिनुभयो । प्राविधिक पक्षबाट कीराको झिँगा अवस्थामा निस्कने समयको पहिचान गरिएको र यसका लागि ९०० देखि एक हजार ४५० मिटरको उचाइको बगैँचामा कीराको अध्ययन भइरहेको वरिष्ठ कृषि अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

बगैँचाको जमीनमा जाली तथा झुल राखी ‘प्रोटिन हाइड्रोलाइसेट’को पासोद्वारा अनुगमन गर्ने उहाँले बताउनुभयो । कीरा नियन्त्रणका लागि ‘स्प्रे’कर्तालाई अभिमुखीकरण तथा प्रशिक्षण र प्राविधिक तालिम दिई अनुगमन भइरहेको उहाँले जानकारी दिनुभयो । “अहिले कीराको नियन्त्रणका लागि प्राविधिक पक्षबाट काम भए पनि व्यवस्थापकीय पक्षबाट भने काम नहँुदा समस्या हुने हो कि भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो । व्यवस्थापकीय पक्षले फल्ने जुनार, निबुवा, कगतीको बोट सङ्ख्या, क्षेत्रफल, स्थानीय तह, वडा कार्यालय तथा सहकारी समूह परिचालन, आवश्यक बजेटको व्यवस्थापन, समयमा नै प्रोटिन हाइड्रोलाइसेटको जोहो र स्प्रेकर्ताको व्यवस्थापन गर्नुपर्ने मुख्य काम रहेको उहाँको भनाइ छ ।

आवश्यक प्रोटिन हाइड्रोलाइसेट घोल तीन बोटका दरले ५० मिलिलिटरप्रति स्प्रे गर्नुपर्ने हुन्छ । एक रोपनीमा २० वटासम्म जुनार हुने हुँदा प्रतिरोपनी सात ठाउँमा स्प्रे गर्नुपर्ने हुन्छ, त्यसैले एक रोपनीमा ११६६.६२ देखि १३९९.४४ मिलिलिटर प्रोटिन हाइड्रोलाइसेट आवश्यक पर्ने कृषि प्राविधिक बताउँछन् । एक रोपनी क्षेत्रफलको जुनारको बगँैचाका लागि दुई हजार ४०० देखि दुई हजार ८०० रुपैयाँसम्म पर्न जान्छ ।

प्रोटिन हाइड्रोलाइसेट जुनारमा कीराको अन्त्यका लागि अचुक उपाय हो । “चैत महीनासम्म तीन बोटमध्ये एक बोटको पातको भित्री भागमा यसलाई स्प्रेको माध्यमबाट छर्ने र कीराले आएर प्रोटिन खाँदा विषादीका माध्यमले मर्ने हुँदा यो अत्यन्तै प्रभावकारी छ, स्थानीय सरकार, प्रदेश सरकारसँग पनि आर्थिक सहयोग मागेर प्रोटिन हाइड्रोलाइसेट किन्न आवश्यक छ”, कृषि अधिकृत अधिकारीले भन्नुभयो ।

गत वर्ष तीनकन्याको ८०० रोपनी क्षेत्रफलमा किसानको रु १० लाख र जुनार सुपरजोनको रु १० लाखमा प्रोटिन हाइड्रोलाइसेट प्रयोग गरिएको थियो । त्यहाँ विगतमा कीराले ५५ प्रतिशतसम्म क्षति गरेकामा अहिले १० प्रतिशतभन्दा कमै क्षति भएको छ । आठ सय रोपनीमा ५०० मेट्रिकटन जुनार फल्ने गरेको भए पनि कीराका कारण किसानले पुरै जुनार बिक्री गर्न पाएका थिएनन्, कीराले २७५ मेट्रिकटन जुनारमा नेक्सानी पु¥याउँदै आएको थियो । तर यो वर्ष ७५ मेट्रिकटन मात्र जुनार क्षति भएको छ । “दुई सय मेट्रिकटन जुनार जोगाउन सफल भएका छाँै”, उहाँले भन्नुभयो, “किसानले बोटबाटै एक करोड २० लाख थप आम्दानी गरेका छन् । रु १० लाख लगानी गर्दा यति आम्दानी भयो त्यसैले प्रोटिन हाइड्रोलाइसेट माघ महीनाभित्र व्यवस्थापन गरी सक्नुपर्दछ, यो चीनबाट मात्रै आयात गर्न सकिन्छ ।”

सुपरजोन लागू भएका क्षेत्रमा प्रोटिन हाइड्रोलाइसेट प्रयोग गर्न साढे दुई करोडदेखि तीन करोड रुपैयाँ भए पुग्ने र जुनार फल्ने नजिकका भूभागमा पनि प्रयोग गरिँदा रु चार करोडसम्म लाग्ने वरिष्ठ कृषि अधिकृत अधिकारीले बताउनुभयो । अहिले गोलञ्जोर गाउँपालिका–४ तीनकन्यामा किसानलाई प्रोटिन हाइड्रोलाइसेट व्यवस्थापन गर्न लागिपरेको वडाध्यक्ष बेगबहादुर मागरले बताउनुभयो ।

अघिल्लो वर्ष माझ कुभिण्डे, माथिल्लो कुभिण्डे, तमौरे, रानीखोला, किरातेलगायत क्षेत्रमा प्रोटिन हाइड्रोलाइसेट छरेपछि ९० प्रतिशतसम्म जुनार झर्ने गरेकामा अहिले २० प्रतिशत मात्र झरेको उहाँले बताउनुभयो । कीरा व्यवस्थापनका लागि सुपरजोनले प्रोटिन हाइड्रोलाइसेट किन्न ५० प्रतिशत रकम बेहोर्ने र २५ प्रतिशत वडा तथा गाउँपालिका र २५ प्रतिशत किसानले बेहोर्ने गरी समयमा नै प्रोटिन हाइड्रोलाइसेटको जोहो गर्न आफू लागिपरेको उहाँको भनाइ रहेको छ ।

यस वर्षदेखि किसानमा प्रोटिन हाइड्रोलाइसेट छर्नुपर्दछ भन्ने बुझाइ भएकाले आगामी वर्ष जुनार क्षति अत्यन्तै न्यून गर्ने गरी आफू लागिपरेको उहाँले बताउनुभयो ।

फल कुहाउन औँसा पार्ने झिँगा

सुन्तला जात फलफूलको फल कुहाउने औँसा पार्ने झिँगा ब्याक्टोसेरा मिन्याक्स ‘चाइनिज सिट्रस फ्लाई’ हो । यो कीराको उद्गमस्थल चीनबाट भूटान, सिक्किम हुँदै पूर्वी पहाडी भूभाग हँुदै नेपालमा प्रवेश गरेको हो । टाढासम्म झिँगाको उड्न सक्ने क्षमता र औँसा लागेका फलफूलको सजिलो ओसारपसारले यो कीरा अन्यन्त्र फैलन सजिलो भएको छ । यस झिँगा कीराको सुव्यवस्थापन अभाव कायमै रहे भविष्यमा यस कीराले जुनार उत्पादनमा ठूलो सङ्कट निम्त्याउने आङ्कलन गरिएको छ ।

फल कुहाउने अन्य झिँगाको तुलनामा यस कीराका विभिन्न रूप जस्तै झिँगा, औँसा, प्युपाहरू ठूला आकारमा हुने गर्दछ । औँसा लागेका फलहरू सद्दे फलको तुलनामा हलुका हुन्छ । बिग्रेको फल काटेर हेर्दा भित्र सेता औँसाहरू देखिन्छन् । सुन्तला जातका फलफूल कुहाउने औँसा पार्ने झिँगा ब्याक्टोसेरा मिन्याक्सले एक वर्षमा एक मात्र जीवनी पूरा गर्दछ । कीराको जीवनचक्रको चल अवस्था प्युपा जमीनमा रहने भएकाले सङ्क्रमित फललाई बेवास्ता गरी वरपर त्यसै माटोमा फाल्न हँुदैन, झिँगा निस्किएर प्रोटिनयुक्त खानेकुरा खाएपछि मात्र वयस्क बन्छ र फुल पार्दछ । यो कीराले विगतमा नेपालको पूर्वी पहाडी भेगमा जुनार फलमा नोक्सानी गरेको थियो भने हाल तीन÷चार वर्षदेखि सिन्धुली र आसपासका जिल्लामा यसको प्रभावले जुनारमा क्षति भइरहेको छ ।

सिन्धुलीको जुनार विदेश निर्यातका लागि सम्भावना बोकेको उत्पादन हो । सिन्धुली जिल्लामा जुनारको विकासका लागि विगतदेखि नै किसान, कृषक समूह र सहकारीलगायत सरोकारवाला निकाय लागिपरेका छन् । हाल नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जुनार सुपरजोन कार्यक्रम लागू गरेको छ । साविक तीनकन्या, रतनचुरा, बाशेश्वर, जलकन्या, भुवनेश्वरी, मझुवा, बितिजोर व्यावसायिक जुनार खेती भएका मुख्य स्थानहरू हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.