कृषि क्षेत्र रोजगारमुखी र व्यावसायिक बनाउन चुनौती छ : राष्ट्रपति भण्डारी
दमक, १८ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रलाई रोजगारमुखी तथा व्यावसायिक उद्योगका रुपमा विकास गर्न देशको मुख्य चुनौती भएको औँल्याउनुभएको छ ।
झापाको गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाद्वारा प्रवद्र्धित नमूना सहकारी खेती एवं साना किसान विकास अभियानका गतिविधिको अवलोकन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको ठूलो हिस्सा मानिएको कृषि क्षेत्र अझै निर्वाहमुखीमा सीमित रहनु चिन्ताजनक भएकाले कृषि क्षेत्रलाई आधुनिकीरण गरेर व्यावसायीकरण गर्न ध्यान दिनुपर्ने औँल्याउनुभयो ।
गरीबी निवारणमा सहकारीलाई उपयोगी बनाउन सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सहकारी अभियान देशकै नमूना भएको बताउँदै उहाँले भन्नुभयो, “सहकारीमार्फत मुलुकको समृद्धि यात्रालाई टेवा दिन सबै क्षेत्र जुट्नुपर्छ ।” उहाँले महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सङ्गठित महिलाको सहकारी अभियानका गतिविधि सबैका लागि उदाहरणीय भएको उहाँको भनाइ थियो ।
त्यस अवसरमा गौरादह नगरपालिकाका तर्फबाट राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिएको थियो । नगर प्रमुख रोहितकुमार शाहले अभिनन्दनपत्र हस्तान्तरण गर्नुभएको थियो ।
सोही कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कृषिलाई व्यावसायिक गरी औद्योगिकीकरण गरिए मात्र कृषिले आर्थिक रुपान्तरणमा फड्को मार्ने बताउँदै कृषि औद्योगिकीकरण गर्न प्रदेश सरकारले जोड दिएको बताउँदै जानकारी दिनुभयो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कृषिको रुपान्तरण र आधुनिकीकरणविना आर्थिक समृद्धि पूरा नहुने बताउनुभयो । कार्यक्रममा संस्थाद्वारा प्रवद्र्धित हल्दिबारी साना किसान सहकारी संस्था र मोरङ साना किसान सहकारीद्वारा प्रवद्र्धनात्मक केरौन साना किसान सहकारी संस्थाको प्रमाणपत्रसमेत हस्तान्तरण गरिनाका साथै संस्थामा आबद्ध कृषि वैज्ञानिक रामशिष साहलाई सम्मान गरिएको संस्थाका अध्यक्ष मीना ढकालले बताउनुभयो ।
‘कृषिमा आधुनिकीकरण आवश्यकता छ’
राष्ट्रपति भण्डारीले कृषिमा व्यापार घाटा हुनु राम्रो नभएको भन्दै कृषि पेशामा आधुनिकीकरणको आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले कृषिप्रधान देशको ख्याति कायम राख्न र उत्पादकत्वलाई बढावा दिन कृषिमा सबल नेतृत्व आवश्यक रहेको बताउँदै अब स्थानीय सरकारले कृषि र उद्योगधन्दाको नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो ।
झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको चन्द्रडाँगी कृषि विकास फार्म आज अवलोकन गर्दै राष्ट्रपति भण्डारीले कृषिप्रधान देशमा नै कृषिजन्य वस्तुमाथिको परनिर्भरता रहनु दुखद् भएको बताउनुभयो । अहिले कृषि र उद्योगधन्दा सञ्चालनमा सङ्घ र प्रदेश सरकारबीच हानथाप भइरहेको भन्दै उहाँले अधिकार र कार्य विभाजन गर्दा सोचविचार गरेर मात्रै गर्न सरकारलाई सुझाव दिनुभयो ।
चौरासी बिघा अर्थात् ५२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त फार्मले २५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका बीउ उत्पादन गरी कृषकलाई वितरण गर्दै आएको छ । फार्मले वार्षिक ८० टन धानको बीउ, १० टन मकै, १० टन गहुँ र चार टन जै घाँसको बीउ उत्पादन गर्दै आएको छ । फार्मले कृषि अनुसन्धान केन्द्र (नार्क) ले सिफारिस गरेको मन्सुली, राधा ११, राधा १२, आरपी १०१७, हर्दीनाथ, लालका बासमती, चैते २, तरहरा १ लगायत जातका धानको बीउ उत्पादन गर्ने गरेको छ ।
नेपाली सेनाको हेलिकोप्टरमा आउनुभएका राष्ट्रपति भण्डारीले यसअघि आजै गौरादहस्थित महारानीझोडा साना किसान सहकारी संस्थाले प्रवद्र्धन गरेको नमूना एकीकृत खेतीको समेत अवलोकन गर्नुभएको थियो ।
