राष्ट्रपतिबाट नमूना कृषि परियोजना अवलोकन

सुरेन्द्र भण्डारी । भद्रपुर, १८ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले आज झापाको गौरादहस्थित नमूना कृषि परियोजनाको अवलोकन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवद्र्धित एक सय बिघा जग्गामा सञ्चालित नमूना कृषि परियोजनाको अवलोकन गर्नुभएको हो ।

परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको छ । राष्ट्रपति भण्डारीले परियोजनाको हेलिकप्टरबाट हवाइ अवलोकन गर्नुभएको हो ।

परियोजना स्थलमा राष्ट्रपति भण्डारीलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, गौरादह नगरपालिकाका नगर प्रमुख रोहितकुमार साह, साना किसान बैंकका महाप्रबन्धक कृष्णप्रसाद लामिछाने लगायतले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले आजै झापाको शिवसताक्षी नगरपालिका–४ स्थित चन्द्रडाँगी कृषि फार्मको समेत अवलोकन गर्ने कार्यक्रम छ ।

कृषि फार्म चौरासी बिघा क्षेत्रफलमा फैलिएको छ । फार्मलाई कृषि विश्वविद्यालय बनाउने पहल भइरहेका बेला राष्ट्रपति भण्डारी अवलोकन गर्न आउने खबरले स्थानीयवासी उत्साहित बनेको कृषि फार्म सञ्चालक समितिका पूर्व अध्यक्ष ढुण्डीराज गुरागाईं बताउनुहुन्छ ।

कृषि विकास फार्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने

झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कृषि विकास फार्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका धान, मकै र गहुँको मूल बिउ उत्पादन गरी नयाँ जातको बिउ कृषकलाई उपलब्ध गराउँदै आएको सो फार्मलाई थप व्यवस्थित गरिने भएको हो ।

नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले फार्मबाट कृषकले जुनसुकै जातका बिउबिजन तथा माछाका भुरा उपलब्ध गराउन नयाँ कार्यक्रम शुरु गरिने जानकारी दिनुभयो । जसका लागि नगरपालिकाले केन्द्र सरकार र प्रदेश सरकारसँग बजेट माग गरिसकेको छ नगरप्रमुख शेर्माले भन्नुभयो ।

चौरासी बिघा अर्थात ५२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त फार्मको २५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका बिउ उत्पादन गरी कृषकलाई वितरण गर्ने गरेको फार्मका प्रमुख धनबहादुर थापा मगरले बताउनुभयो ।

उहाँका अनुसार फार्ममा अहिले तीन हेक्टर क्षेत्रफलमा माछा पोखरी रहेको छ । बाह्र हेक्टर क्षेत्रफलमा कार्यालय भवन, बाटो, कुलो, आवासगृह निर्माण गरिएको छ भने पाँच हेक्टर क्षेत्रफलमा सुकुमबासी बसोवास गर्दै आएका छन् ।

त्यस्तै छ हेक्टर क्षेत्रफल सताक्षी खोलाले कटान गरेको कार्यालय प्रमुख मगरले बताउनुभयो । अहिले फार्मको सात हेक्टर क्षेत्रफलमा गहुँ, तीन तीन हेक्टर क्षेत्रफलमा तोरी र मुसुरो दालको बीउ, आठ हेक्टरमा चैतेधान लगाइएको कार्यालय प्रमख मगरले बताउनुभयो । उहाँका अनुसार २५ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ ।

नेपाल सरकारले विसं २०५२ मा स्थानीय कृषकलाई आवश्यक पर्ने विभिन्न जातका कृषि उपजको बिउ सहजरूपमा उपलब्ध गराउन र कृषि अनुसन्धान केन्द्र बनाउन यो क्षेत्रको निर्धारण गरेको थियो । सोही अनुसार अहिले पनि सो फार्मले स्थानीय जाताका बिउको उत्पादन र संरक्षण गर्दै आएको नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिनुभयो ।

विसं २०३२ मा कन्काई सिँचाइ योजनाअन्तर्गत स्थापना भएको कृषि विकास फार्मलाई २०४८ सालमा सिँचाइ योजना विघटन भएपछि चार वर्ष कृषि मन्त्रालयले आफ्नो स्वामित्वमा सञ्चालन गरेको थियो ।

विसं २०५२ मा मन्त्रालयले चन्द्रडाँगी बिउबिजन तथा दूग्ध विकास समिति बनाएर समुदायमा हस्तान्तरण गरेसँगै सरकारी लगानी बन्द भएको थियो ।

एशियाली विकास बैंकको सहयोगमा कोरियाली ठेकेदार कम्पनीले फार्मका दुई दर्जन भन्दा बढी भवन निर्माण गरेको थियो । तत्कालीन (नेकपा)माओवादीले जनयुद्धका क्रममा २०६० साल कात्तिक ४ गते सो फार्ममा आगजानी गरेपछि झण्डै ७८ लाख बराबरको भौतिक संरचनामा क्षति पुगेको थियो । क्षतिको विवरणसहितको लागत अनुमान कृषि मन्त्रालयमा पठाए पनि एक दशक बितिसक्दासमेत भवनको पुनःनिर्माण हुनसकेको छैन ।

अहिले पनि केन्द्रका २५ वटामध्ये अधिकांश भवन मर्मत सम्भारको अभावमा कामै नलाग्ने भएका छन् । मल, बिउ, माछाका भुरा उत्पादन गरेर सङ्घ संस्थालाई दिने, पशु नश्ल सुधार गर्ने र प्राविधिक सल्लाह दिने काम गर्दै आएको कार्यालय प्रमुख मगरले बताउनुभयो ।

फार्मले वार्षिक ८० टन धानको बिउ, १० टन मकै, १० टन गहुँ र चार टन जै घाँसको बिउ उत्पादन गर्ने गरेको बताइन्छ । फार्मले कृषि अनुसन्धान केन्द्र (नार्क) ले सिफारिस गरेको मन्सुली, राधा ११, राधा १२, आरपी १०१७, हर्दीनाथ, लालका बासमती, चैते २, तरहरा १ लगायत जातका धानको बिउ उत्पादन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.