जागिर छाडेर गाईपालन

कञ्चनपुर, १७ पुस : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रमेश धानुकले सञ्चालनमा ल्याएको फार्ममा पालिएका गाई दुहुन आधुनिक मेशिन ल्याउनुभएको छ ।

जागीर छाडेर रु ३५ लाख लगानी गरी उन्नतजातको फार्म सञ्चालन गर्नुभएका धानुकले रु चार लाख मूल्य पर्ने ‘मिल्किङ मेशिन’ ल्याउनुभएको हो । जिल्लामै पहिलोपटक ल्याइएको मेशिनबाट एकै पटक चार वटा गाईको दूध दुहुन सकिन्छ ।

गाई दुहुन मात्रै दुई कामदार आवश्यक पर्दछ । उहाँले भन्नुभयो, “मेशिन ल्याएपछि एकै छिनमा गाई दुहुन सकिन्छ ।” गाईको दूध दुहेपछि बजार लैजान ढिलाइ भए भण्डारण गर्न ‘चिलिङभ्याट’ मेशिनसमेत उहाँले राख्नुभएको छ । आधुनिक तरिकाले गाईपालनमा लागेका धानुकको फार्ममा अहिले १० वटा जर्सी र होलेस्टेन जातका गाई छन् । उन्नतजातका गाई भने भारतबाट खरीद गरेर ल्याइएको हो ।

नेपाल चेम्बर अफ कमर्शमा वित्त प्रशासन अधिकृतको जागीर छाडेर गाईपालनमा लागेको धाुनकले भन्नुभयो, “जागीर गरे गनेको पैसा मात्र हुन्छ, स्वरोजगार भई मिहेनत गरेअनुरुपको आम्दानी गर्न सकिने भएकाले गाईफार्मलाई रोजेको हु ।” व्यावसायिक बनेर उद्यमशील हुने र अरुलाई पनि रोजगारी दिन सकिने भएकाले गाईफार्म सञ्चालन गरेको उहाँले बताउनुभयो । गाईको चारो काटने, खुवाउने, दूध दुहुने र गोबर सोहर्ने कार्यमा उहाँ बिहानैदेखि साँझसम्म खट्नुहुन्छ ।

गाई फार्म राखिएको जग्गा भने उहाँको स्वामित्वको होइन । वर्षको रु एक लाख १४ हजार तिर्ने गरी तीन बिघा जग्गा भाडामा लिनुभएको छ । सो जग्गामा फार्मका संरचनासँगै घाँस खेतीसमेत गर्नुभएको छ । फार्ममा पालिएका गाईले हाल दैनिक ४० लिटर दूध दिँदै आएका छन् । उहाँले भन्नुभयो, “दुई महीनाभित्रै छ वटा गाई ब्याउने भएकाले दूध उत्पादन बढेर १५० लिटर पुग्ने छ ।” अझै २० वटा दुधालु गाई थप्ने योजना उहाँको छ ।

“दूध जति उत्पादन गरे पनि बजारको समस्या छैन सहजै स्थानीय बजारमा खपत हुन्छ”, उहाँले भन्नुभयो । दूध बिक्रीका लागि दुग्ध विकास संस्थानसँग समेत सहकार्य भएकाले बिक्रीको चिन्ता नरहेको उहाँले बताउनुभयो ।

फार्म खोलेर दुग्ध उत्पादनमा लागेका व्यवसायीलाई सरकारले प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने हुन्छ उहाँले भन्नुभयो, “व्यवसायीलाई दुग्धजन्य पदार्थ उत्पादन गर्ने उद्योगसँगै गाईपालनमा लगानी प्रोत्साहित गर्नुपर्छ ।” विदेशिनुभन्दा स्वदेशमै थोरै पूँजीमा भए पनि व्यवसाय गर्नका लागि युवाले अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । “व्यवसाय गरिए अरुलाई पनि रोजगार दिन सकिन्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.