२१ गैँडा प्राकृतिक कारणले मरे, चार हात्तीका छावा जन्मिए

नारायण अधिकारी । चितवन, १५ पुस : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा चालू आर्थिक वर्षको हालसम्म २१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति नै गठन गरेको छ ।

यस आर्थिक वर्षमा प्राकृतिक कारणले मरेकामध्ये नौ वटा २५ वर्षभन्दा तलका छन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार प्राकृतिक कारणले मरेकामध्ये निकुञ्जभित्रका २० वटा र जिल्ला वन कार्यालयअन्तर्गत एउटा रहेको छ । निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले–भाले जुधेर पाँच, ढिस्कोबाट लडेर एउटा, बच्चा पाउन नसकेर एउटा, दलदलमा फँसेर दुई र बूढो भएर कालगतिबाट ११ वटा रहेका छन् । जिल्ला वनअन्तर्गतको पञ्चकन्या सामुदायिक वनमा जुधेर एउटा गैँडा मरेको छ ।

कालगतिले बाहेक निकुञ्जमा मरेका गैँडा १५ देखि २५ वर्षभित्रका रहेको घिमिरेले बताउनुभयो । गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले सङ्ख्या बढ्दै गएपछि प्राकृतिक कारणले मर्नेको सङ्ख्या पनि बढ्दै गएको बताउनुभयो । एउटा गैँडाको शवपरीक्षण गर्दा मुटु र कलेजोमा समस्या देखिएको भए पनि अन्यमा कुनै समस्या नदेखिएको उहाँले बताउनुभयो । यद्यपि प्राकृतिक कारणले मर्ने सङ्ख्या बढिरहेकाले यसको खोजी गर्ने काम पनि भइरहेको उहाँले बताउनुभयो । अघिल्लो वर्षको बाढीले गैँडाको समूहलाई तितर बितर बनाएपछि प्राकृतिक कारणले बढी गैँडा मरेको ढकाल बताउनुहुन्छ । गत वर्ष प्राकृतिक कारणले २५ गैँडा मरेका थिए ।

निकुञ्जको तथ्याङ्कअनुसार सन् २०१४ मा आठ, २०१५ मा १५, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । यसअघि चोरी–शिकारीबाट सबैभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ वटा गैँडा मारिएका थिए । २०७३ साल चैत २५ गतेपछि चोरी–शिकारीबाट भने गैँडा मर्न पाएका छैनन् । चोरी–शिकारीबाट गैँडा नमरे पनि प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढेपछि चिन्ता व्यक्त गरिएको छ । झण्डै दुई वर्षयता चोरी–शिकारीबाट भने गैँडा मारिएका छैनन् । निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा धेरै गैँडा चोरी–शिकारीबाट मारिएका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना हुँदैछ ।

चार महीनामा चार छावा

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालीम केन्द्रमा चार महीनामा चार छावा जन्मिएका छन् । गत वर्ष निकुञ्जका हात्तीले छावा जन्माएका थिएनन् । हात्तीको प्रजननलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ ।

खोरसोरस्थित उक्त केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार कर्णालीकलीबाट शनिबार चौथो भाले छावा छावा जन्मिएको हो । यसअघि असोज २३ गते पूजाकलीबाट पोथी छावा, कात्तिक १६ गते गणेशकलीबाट भाले छावा र मङ्सिर ३ गते तमरकलीबाट भाले छावा जन्मिाएका थिए । अझै चार गर्भिणी हात्तीले यसै वर्ष बच्चा जन्माउने चौधरीले जानकारी दिनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पछिल्ला वर्षमा प्रजनन राम्रो रहेको बताउनुभयो । व्यवस्थापनमा सुधार, आहारमा सुधार, जङ्गली भालेको आगमन, स्वास्थ्योपचारको सुविधा, प्रजनन स्वास्थ्यमा सुधारलगायत कारणले प्रजनन राम्रो भएको उहाँले बताउनुभयो । छावा जन्मिएसँगै व्यवस्थापनको चुनौती पनि थपिएको उहाँको भनाइ थियो । प्रजनन् केन्द्रमा पोथी हात्ती बढेसँगै जङ्गली भाले हात्ती आउने क्रम बढ्छ । अधिकांश छावा जङ्गली भाले हात्तीको प्रजननबाट जन्मिएका हुन् ।

हाल निकुञ्जमा ५७ हात्ती छन् । गर्भिणी भएपछि २२ देखि २४ महीनामा हात्तीले बच्चा जन्माउँछ । कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट ल्याइएका पाँच हात्ती पनि चितवन राष्ट्रिय निकुञ्जमा छन् । निकुञ्जको हात्ती प्रजनन एवं तालीम केन्द्र, सौराहा र कसराको हात्तीसार एवं पोष्टमा हात्ती राखिँदै आइएको छ । विसं २०४२ मा भारत सरकारले दिएको १६ वटा हात्ती ल्याएर शुरु गरिएको प्रजनन केन्द्रमा हालसम्म २८ वटा हात्तीका बच्चा जन्मिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.