चिडियाखाना २३ औँ बर्षमा, संरक्षणमा धेरै काम गर्न सकिने
काठमाडौँ, १४ पुस : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ललितपुरस्थित सदर चिडियाखानाको संरक्षणमा अझ धेरै काम गर्नसक्ने क्षमता रहेको बताउनुभएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापनमा सञ्चालित उक्त चिडियाखाना २३ वर्ष पुगेको उपलक्ष्यमा आयोजित वार्षिकोत्सव समारोहमा उहाँले संरक्षण क्षेत्रमा सदर चिडियाखानाले गरेको योगदानको प्रशंसा गर्दै अझै क्षमता बढाउन सरकारको सहयोग रहने बताउनुभयो ।
मन्त्री बस्नेतले सानो क्षेत्रमा पनि धेरै वन्यजन्तु संरक्षण गर्न सकेको उल्लेख गर्दै यस्तै गतिविधिका कारण नेपाल संरक्षण क्षेत्रमा अग्रणी बनेको धारणा व्यक्त गर्नुभयो ।
मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले चिडियाखानाको व्यवस्थापनमा मन्त्रालयबाट आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो । सरकारले सातै प्रदेशमा प्राणी उद्यान बनाउने योजना अघि सारेको जानकारी दिँदै उहाँले यसलाई स्रोत केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
फ्रेन्डस् अफ जु शिक्षक समितिका अध्यक्ष भक्तिप्रसाद घिमिरेले संरक्षण शिक्षा र जनचेतनामा चिडियाखानाले गरेको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम निर्देशक सरिता ज्ञवालीले चिडियाखानाको स्थापनादेखि हालसम्मको गतिविधिका बारेमा जानकारी गराउनुभयो ।
चिडियाखानाका कार्यक्रम व्यवस्थापक डा चिरञ्जीवी पोखरेलले छ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउँदै लगिने जानकारी दिनुभयो ।
समारोहमा तेइसौँ वार्षिकोत्सवका अवसरमा आयोजित फुटबल, लघुकथा वाचन प्रतियोगिता, डोरी तान्ने प्रतियोगितालगायत विभिन्न खेलाका विजेतालाई पुरस्कार र प्रमाणपत्र वितरण गरियो ।
चिडियाखानामा १२५ प्रजातिका एक हजार १०० जन्तु, चराचुरुङ्गी, घस्रने जनवर, माछालगायत राखिएको छ ।
