चिडियाखानामा जनावरका लागि नयाँ भान्साघर

सञ्चिता घिमिरे । ललितपुर, २४ साउन : जावलाखेलस्थित सदर चिडियाखानामा ८३७ जनावरका लागि नयाँ भान्साघर बनाइएको छ । राणाकालीन संरचना भत्काएर आधुनिक र फराकिलो भान्साघर बनाइएको उक्त चिडियाखानाले जनाएको हो ।

भान्साघर ठूलो हुँदा पकाउन र सरसफाइ गर्न सहज भएको छ । पहिले सानो भान्सामा कोचिएर पकाउन पर्दा कठिन हुन्थ्यो अहिले नयाँ भान्साघर बनेपछि पकाउनेसँगै खाना भाग लगाएर दिन पनि सहज भएको असिस्टेन्ट क्युरेटर गणेश कोइराला बताउनुहुन्छ ।

“ चिडियाखानामा अध्ययन/अनुसन्धानका लागि धेरै विद्यार्थी आउने गरेका छन् । ” उहाँ भन्नुहुन्छ, “साँघुरो भान्साका कारण पहिले उनीहरूलाई देखाउन र सिकाउन सहज थिएन । आधुनिक खालको भान्सा भएकाले सरसफाइ गर्न पनि सहज भएको छ ।”

चिडियाखानामा मुख्य र सहायक गरेर दुई किसिमका भान्साघर छन् । मुख्य भान्सामा नै सबै जनावरका लागि खानेकुरा पकाइने गरिएको छ । मुख्य भान्सामा पकाइएका खानेकुरा कुन बर्गका जनावरका लागि कति र कुन खोरका लागि कति भन्ने छुटयाएर सहायक भान्सामा लगिन्छ । असिस्टेन्ट क्युरेटर कोइराला भन्नुहुन्छ, “सहायक भान्साबाट नै जनावरलाई आवश्यक मात्रामा खानेकुरा र फलफूल दिइन्छ ।”

एक दशक पहिलेदेखि चिडियाखानामा पुराना संरचना भत्काएर नयाँ निर्माणका क्रममा भान्साघर पनि निर्माण गरिएको हो । राणाकालमा बनेका पुराना खोर सबै हटिसकेका छन् । चिडियाखानामा अहिले पहिले भालु बस्दै आएको एउटा खोर मात्र बनाउन बाँकी छ । उहाँ भन्नुहुन्छ, “त्यो पनि हामीले पहिले यस्तो खोर थियो भन्ने यहाँ आउने आगन्तुकलाई देखाउनका लागि राखेका हौँ ।” पुनःनिर्माणभन्दा अघि चिडियाखानामा झण्डै ९० वर्ष अघिका संरचना थिए ।

चिडियाखानाको मुख्य भान्सासँगै जनावरका खोर, कार्यालयलगायतका भवन सबै सुधारका क्रममा रहेको व्यवस्थापक डा चिरञ्जीवी खरेलल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “साठी प्रतिशत पुराना संरचना पुनःनिर्माण भइसकेका छन्। जीर्ण भइसकेका र समयानुकूल नभएका खोर हटाएर हामीले आधुनिक खोर बनाइरहेका छौँ ।”

चिडियाखानामा सूचना प्रविधिलाई डिजिटल बनाउने तयारी भइरहेको छ । आगन्तुकले चिडियाखाना छिर्नासाथ भित्रका बारेमा जानकारी पाउन् भन्नका लागि टिकट काउन्टर नजिकै डिस्प्ले राख्न लागिएको छ । सो डिस्प्ले आगामी वर्षदेखि सञ्चालनमा ल्याइने गरी योजना अघि बढेको चर्चा गर्दै व्यवस्थापक डा खरेलल भन्नुहुन्छ, “भित्र छिर्नासाथ आगन्तुकले कुन जनावर हेर्ने हो, त्यसका बारेमा र चिडियाखानाका बारेमा विस्तृत जानकारी पाउन सक्छन् ।” नक्साका आधारमा आगन्तुक आफूले हेर्न चाहेको जनावरको खोरमा पुग्न सक्नेछन् । सूचना कक्ष र मोबाइल एप्सका लागि पनि गृहकार्य अघि बढेको उहाँ बताउनुहुन्छ ।

पहिले फोहरले ढाकिएका गोही अब सफा बनाउन स्वचालित उपकरणले पानीले गोही सफा गर्ने काम भइरहेको छ ।

विसं १९८९ मा शुरु भएको चिडियाखानाको व्यवस्थापन २२ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले गरिरहेको छ । नेपाल सरकार र कोष बीच ३० वर्षका लागि संरक्षण गर्ने सम्झौता भएको थियो । चिडियाखानामा वार्षिक झण्डै ११ लाख मानिस अवलोकन गर्न आउँछन् । एक सय चौबिस प्रजातिका ८३७ जनावर यहाँ छन् । यहाँ स्तनधारी, घस्रने, माछा, चरालगायतका प्रजातिका जनावर छन् ।

नेपालको एक मात्रै यो चिडियाखाना विस्तारको योजनासमेत अघि बढेको छ । सरकारले सूर्यविनायकस्थित जंगलमा प्राणी उद्यान केन्द्र सञ्चालनको तयारी गरिरहेको छ । राणा प्रधानमन्त्री जुद्धशमशेरले व्यक्तिगत मनोरञ्जनका लागि स्थापना गरेको चिडियाखाना नै सदर चिडियाखाना भएर सर्वसाधारणका लागि समेत खुल्ला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.