काठमाडौँ, ६ पुस : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यले पशुपक्षीको दाना उत्पादन गर्ने उद्योगको तत्काल अनुगमन गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।
सो सम्बन्धी कार्यदलको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्य राधा ज्ञवालीले पशुपक्षीको दानामा मित्रुजीवनाषक औषधि (एन्टिबायोटिक) को प्रयोग भएको गुनासो आएकाले अनुगमन गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको हो ।
कृषि नियमावली २०५१ ले दानाको गुणस्तर मापन गर्ने जिम्मेवारी खाद्य तथा गुण नियन्त्रण विभागलाई सुम्पिएको छ । पशुपक्षी विभागका निर्देशक डा विमलकुमार निर्मलले एन्टिबायोटिक प्रयोग भएका दाना खाएका पशुपक्षीले दिने दूध, मासु र अण्डा खादा मानव शरीरमा प्रतिकूल असर पर्ने बताउनुहुन्छ । “त्यसले मानिसको रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति ह्रास हुनका साथै रोग निको पार्न तोकिएको मापदण्डभन्दा बढीको एन्टिबायोटिक प्रयोग गर्नुपर्छ,” उहाँ भन्नुहुन्छ ।
विभागका अनुसार नेपालमा विभिन्न थरीका झण्डै १६ अर्बभन्दा बढीको औषधि आयात हुन्छ । दाना उद्योगले एक वर्षमा तीन लाख ९१ हजार मेट्रिक टन मकै र तीन लाख ८६ हजार मेट्रिक टन गहुँको चोक्कर र चामलको कनिका आयात गर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा दैनिक चार हजार मेट्रिक टन दाना खपत हुन्छ । यहाँ दाना बनाउने उद्योगको सङ्ख्या १०५ रहेको छ ।
समितिका सदस्य घनश्याम खतिवडाले दाना ऐन संशोधन गर्नुपर्ने आवश्यकता महसुस गर्दे पशुपक्षीको दानाको गुणस्तर नियमन गर्ने जिम्मेवारी पशुसेवा विभागलाई दिनुपर्ने भए सोहीअनुसार परामर्श र छलफल गर्नुपर्ने बताउनुभयो ।
नेपाल पशु चिकित्सा परिषद्ले–समितिसमक्ष औषधि ऐन, भेटेनरी औषधिको गुणस्तर नियमन गर्ने जिम्मेवारी भेटेनरी डाक्टरलाई, पशु, पशुजन्य पदार्थ र पशुपक्षी दाना, खोप, औषधिको गुणस्तर नियमन दाना ऐन, पशुपक्षी दाना गुणस्तर नियमनको जिम्मेवारी पशुसेवा विभाग र भेटेनरी औषधिको गुणस्तर नियमन गर्ने जिम्मेवारी भेटेनरी डाक्टरलाई उपलब्ध गराउनुपर्ने माग गरेको छ ।
साथै चिकित्सा शिक्षा दिने शिक्षण संस्थालाई न्यूनतम मापदण्ड पूरा गरेर मात्र भेटेनरी डाक्टरको कार्यक्रम गर्नुपर्ने, भेटेनरी सेवाको क्षमता विकास गर्न यसको सेवालाई उच्च प्राथमिकतामा राखी अन्तर्राष्ट्रिय मापदण्डबमोजिम पशुपालकको गोठदेखि केन्द्रसम्मको तह भएको सङ्गठनात्मक संरचनामा सुदृढीकरण गर्न माग राखेको छ ।