पोखरा आसपासमा चरा पर्यटन
वासुदेव पौडेल । पोखरा, ३ पुस : हिमाल, ताल र प्राकृतिक सौन्दर्यले मात्र होइन पछिल्लो समय पोखरा र आसपासको क्षेत्रमा पाइने चराचुरुङ्गीले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
“ ताल वरपर र आसपासका क्षेत्रमा चरा हेर्ने पर्यटक पनि आउने गरेका छन् जसले पोखराको पर्यटनलाई बढाएको छ,” विगत २६ वर्षयता चरा गाइडका रुपमा काम गर्दै आउनुभएका हरि केसी भन्नुहुन्छ । हरिया वनजङ्गलका साथै तालतलैयाका कारण पोखरा र आसपासमा विभिन्न प्रजातिका चरा पाइने उहाँले जानकारी दिनुभयो । नेपालमा आउने विदेशी पर्यटकमध्ये लगभग तीन प्रतिशत चरा हेर्नकै लागि आउने गरेको बताउँदै केसीले तीमध्ये अधिकांश पर्यटक पोखरा आउने गरेको जानकारी दिनुभयो ।
विदेशी मुलुकमा चरा अवलोकनले व्यावसायिक पर्यटनको रुप लिइसकेको छ । नेपालमा भने यसको विकास क्रमिक रुपमा अघि बढ्दै छ । पछिल्ला वर्षमा चराको सङ्ख्या घट्दै गएको बताइएको छ । चरा गाइड केसीले भन्नुभयो, “पहिला पर्यटकलाई चरा देखाउँदै हिँड्दा दिनमा नै दुई सय ३५ प्रजातिसम्म म आफैले देखाउने गरेको थिएँ, अहिले भने लगभग एक सय २५ प्रजाति मात्रै देखाउन सकिन्छ ।”
बढ्दै गएको प्रदूषण, रुख कटानी एवं वातावरणमा आइरहेको परिवर्तनले विभिन्न प्रजाति हराउँदै गएको अनुमान छ । फेवातालको किनारमा खोलाले बगाएर ल्याएका प्लास्टिकजन्य फोहरको डङ्गुरले वरपर पाइने चराचुरुङ्गीलाई असर गर्ने गरेको छ । बढ्दो प्रदूषणसँगै जाडो छल्न फेवाताल किनारमा साइबेरीयादेखि आउने चराका प्रजातिको सङ्ख्या पनि वर्षेनी घट्दै गएको केसीले जानकारी दिनुभयो ।
पहिले फेवातालमा २९ प्रजातिका हाँस पाउने गरिएकोमा अहिले उक्त सङ्ख्या घट्दै गएको छ । पोखराको रानीवन, फिष्टेल बगैचा, फेवातालको सिमसार, सराङ्कोट, नौडाँडा, छिनेडाँडा, कमलपोखरी, लेखनाथका बेगनास, रुपा, खास्टे, मैदी, दीपाङलगायतका ताल तथा स्थानमा धेरै प्रजातिका चरा पाइन्छन् ।
पक्षी संरक्षण समाज कास्कीका सचिव हेमन्त ढकालका अनुसार पोखरा आसपासमा पानीमा रहने चराका ४६३ प्रजाति पाइन्छन् । जाडोको समयमा अन्य स्थानबाट १५० प्रजातिका चरा आउँछन् भने गर्मीमा २४ प्रजातिका चरा आउँछन् । फेवातालमा मात्रै ४५ प्रजातिका पानी चरा पाइने ढकालको भनाइ छ ।
चरा अवलोकनका लागि दुई साताअघि पोखरा आउनुभएका ८१ वर्षीय अमेरिकी प्रोफेसर डग चेसम्यानले चराका लागि स्वच्छ एवं शान्त वातावरण आवश्यक हुने बताउनुभयो । फेवाताल किनारामा श्रीमतीसहित भेटिनुभएका उहाँले चराको अवलोकनसाथै पोखराबाट देखिने हिम शृङ्खला, ताल र आसापासको प्राकृतिक सौन्दर्यताले निकै आनन्दित बनाएको सुनाउनुभयो । प्रकृतिको अनुपम सुन्दरतालाई जोगाउन नसकेकोमा भने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
पानी, वनजङ्गल आदिका कारण पोखरा आसपासको क्षेत्र चरा पर्यटनमा पनि उत्तिकै महत्वपूर्णस्थल रहेको पक्षी संरक्षण समाज कास्की सदस्य कृष्णमणि बरालले बताउनुभयो । उहाँका अनुसार विभिन्न प्रजातिका चरा पाइने यस क्षेत्रमा चराको संरक्षण गर्न सके मात्र पनि यसको अवलोकनका लागि आउने पर्यटकको बसाइ थप लम्ब्याउन सकिन्छ ।
पोखरा नजिकै तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दुरीको मिलेनियम ट्रेकका अधिकांश भूभाग घना वनजङ्गलयुक्त रहेको र ती जङ्गलमा धेरै प्रजातिका चरा पाइन्छ । मिलेनियम ट्रेक पदयात्रासहित चरा पर्यटनको विकासमा पनि सम्भावनायुक्तस्थल रहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताउनुभयो ।
“मिलेनियम ट्रेक अन्तर्गत स्याङ्जाको सादी खोलाबाट गहते मनाकानासम्म झण्डै ५८ किमि दुरीमा घनाजङ्गल एक लहरमा जोडिएको छ,” उहाँले भन्नुभयो, “पोखरा आउने पर्यटकलाई यस क्षेत्रमा पदयात्रा गराउँदै यहाँबाट देखिने हिम शृृङ्खला सहितका रमणीय दृश्य अनि चराचुरुङ्गी पनि अवलोकन गराउन सकिन्छ ।”
समुद्री सतहबाट एक हजारदेखि एक हजार ५०० मिटरको उचाइमा नेपालमा मात्रै पाइने काँडे भ्याकुर पोखरा क्षेत्रमा देख्न सकिने विगत १५ वर्षयता चरा गाइडका रुपमा काम गर्दै आउनुभएकी सुनिता गुरुङ(सानु)ले बताउनुभयो । उहाँका अनुसार काँडे भ्याकुरसहित अन्य विभिन्न प्रजातिका चरा अवलोकन गर्न पोखरा आसपासका वनजङ्गलका साथै नजिकैको मिलेनियम ट्रेक महत्वपूर्ण गन्तव्य बन्न सक्ने देखिएको छ ।