‘समृद्धिको आधार, कृषिमा पुर्वाधार’ : मुख्यमन्त्री पोखरेल

लुम्बिनी, १८ मङ्सिर : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको समृद्धिका आधार कृषि, पर्यटन, उद्योग र व्यापार भएको बताउनुभएको छ ।

भैरहवामा आजदेखि शुरु भएको प्रदेशस्तरीय प्रशंसनीय खोज सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘समृद्ध प्रदेश, खुशी जनता’ भन्ने मूल अभिप्रायका साथ हामी अगाडि बढिरहेका छौँ, हामीले मूलतः कृषि, पर्यटन, उद्योग र व्यापारमा जोड दिएर प्रदेशलाई समुन्नत बनाउने लक्ष्य लिएका छौँ ।”

मुख्यमन्त्री पोखरेलले कृषिको आधुनिकीकरण, बजारीकरण र व्यापारीकरण जरुरी रहेको उल्लेख गर्दै बेरोजगार मेहनती युवालाई कृषि उत्पादनमा जोड्न जग्गा भाडासमेत तिरिदिनेगरी प्रदेश सरकारले स्वरोजगार बनाउने कार्यक्रम अगाडि सारेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश ५ मा अहिले २९ प्रतिशत जनता निरपेक्ष गरीबीको रेखामुनि छन्, आगामी पाँच वर्षभित्र यो प्रतिशत १० मा झार्न हामीले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत प्रदेशका ३५ पालिकामा विभिन्न गरीबी निवारणका कार्यक्रम सञ्चालन गर्दैछौँ ।”

तीन दिनसम्म चल्ने प्रशंसनीय खोज सम्मेलनको उद्घाटन समारोहलाई डेभिड कोपीराइडर सेन्टर, अमेरिकाका निर्देशक प्राध्यापक लिन्डसी गुडविनले विश्वभरि प्रशंनीय खोज अभियान चलाइएको बताउनुभयो । सम्मेलनमा अमेरिकी प्राध्यापक लिन्डसी गुडविन प्रमुख सहजकर्ताका रुपमा रहनुहुनेछ ।

यसैगरी पूर्वमुख्य सचिव दामोदर गौतम र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । सो क्रममा डा सरोज धितालले सहजीकरण गर्ने कार्यशालामा नेकपाका नेता डा विजय पौडेल, काङ्ग्रेस नेता डा गोविन्दराज पोखरेल र राजपाका नेता सर्वेन्द्रनाथ शुक्ला मुख्य वक्ताका रुपमा रहनुभएको छ ।

परिकल्पना नेपाल सकारात्मक अभियानमा क्रियाशील अभियानकर्मीको स्वयंसेवी संस्था हो । बुद्धको जन्मथलो लुम्बिनीको प्रवेशद्वारबाट शुरुआत हुने अभियानले देशका सबै नागरिकमा सकारात्मक चिन्तन, सोच, आचरण र शैलीको विकास गर्नमा भूमिका खेल्ने सम्मेलन आयोजक संस्थाका अध्यक्ष रमेशकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.