कर्मचारीको लापर्बाहीका कारण गहुँको बीउमा किरा
कञ्चनपुर, १ मङ्सिर : कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको कृषि विकास फार्मले भण्डारण गरेको गहुँको मुल बीउमा किरा लागेपछि सफा गर्न थालिएको छ ।
किसानलाई गहुँको बीउ अभाव भएका बेला फार्मका कर्मचारीको लापर्बाहीका कारण भण्डारण गरिएको गहुँमा किरा लागेको हो । भण्डारण गर्दा अपनाउनु पर्ने सावधानी नअपनाउदा गहुँमा किरा लागेको बताइएको छ । भण्डारण गरिएको १५० क्विन्टल गहुँमध्ये विजय जातको ५० क्विन्टल बढी गहुँमा किरा लागेको फार्मका वरिष्ठ बागवानी विकास अधिकृत गोविन्दराज जोशीले जानकारी दिनुभयो ।
“गहुँ काटेपछि खेतमै भिज्यो,” अधिकृत जोशीले भन्नुभयो, “राम्ररी सुक्न पाएन, त्यसै कारणले किरा लागेको हुनसक्छ ।” भदौमा कार्यालय र कर्मचारी समायोजन गरिएका कारणसमेत भण्डारणगृहको रेखदेख हुन नपाउँदा गहुँमा समस्या देखिएको उहाँको तर्क छ । बिषादी हाल्दासमेत किरा नियन्त्रण नभएपछि गहुँलाई ग्रेडिङ मेशिनमा राखेर सफा गरिन थालिएको छ ।
गहुँमा किरा लागे पनि नबिग्रिएको अधिकृत जोशीले बताउनुभयो । भण्डारण गरिएको गहुँको उमार शक्ति ९० प्रतिशत रहेको फार्मका कर्मचारीको दाबी छ । फार्मको स्वामित्वमा रहेको १३ हेक्टर जग्गामा ३५० क्विन्टल बढी गहुँको मुल बीउ उत्पादन हुने गरेको छ ।
दुई दशकपछि फार्म कार्यलय पुनःस्थापना
दुई दशकअघि बन्द भएको कृषि विकास फार्म कार्यालय पुनः सञ्चालनमा आएको छ । विसं २०५५ अघि बन्द रहेको कार्यालय गत भदौदेखि सञ्चालनमा आएको हो । फार्म कार्यालय यसअघि क्षेत्रीय बीउबिजन प्रयोगशालाले हेर्दै आएको थियो ।
फार्म कार्यालय पुनः सञ्चालनमा आएपछि फार्मको रेखदेख गर्ने, बीउ उत्पादन गर्ने, नयाँ प्रविधिको विकास गर्ने, स्थानीय बाली संरक्षण गर्ने, कृषि जैविक विविधता संरक्षणको कार्य अगाडि बढाउने र तरकारीका बिरुवा उत्पादन गरी किसानलाई उपलब्ध गराउने काम अघि बढाइने छ ।
किसानलाई सहजरूपमा कृषि उपकरण र औजार उपलब्ध गराउनका लागि कष्टमहायर सेन्टर सञ्चालन गर्ने योजनासमेत अघि सारिएको वरिष्ठ बागवानी विकास अधिकृत गोविन्दराज जोशीले बताउनुभयो ।
एक वर्षमै २३ करोडको कारोवार
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आव २०७४/७५ मा रु २२ करोड ९० लाख २० हजार ४४ बराबरको कारोवार गरेको छ । कारोवारबाट सहकारीले सोही अवधिमा रु २७ लाख २७ हजार १४० नाफा आर्जन गरेको छ ।
आव २०७३/७४ मा सहकारीले रु १६ करोड २२ लाख ३२ हजार ३८६ बराबरको कारोवार गरेकामा रु २१ लाख ५ हजार ९३ नाफा आर्जन गरेको थियो । आव २०७३/७४ को तुलनामा आव २०७४/७५मा सहकारीले रु छ करोड ६७ लाख ८७ हजार ६५८ बढीको कारोवार गरी गत आवभन्दा रु छ लाख २२ हजार ४७ बढी नाफा आर्जन गरेको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताउनुभयो ।
उहाँका अनुसार सहकारीले आव २०७४÷७५ सहकारीले रु ११ करोड २७ लाख १४ हजार २९८ रकम बचत गरेको छ । सहकारीले सदस्यको आयस्तरमा वृद्धि गर्नका लागि स्वरोजगारमूलक कार्यमा रु १९ करोड ४७ लाख ७२ हजार ७२६ रकम ऋण लगानी गरेको छ । जुन गत आवको तुलनामा ३८ प्रतिशतले बढी रहेको छ । सहकारीले रु आठ करोड ४८ लाख ५७ हजार १३२ रकम सापटीका रुपमा लिएको थियो ।
सहकारीका आठ हजार ४३२ शेयर सदस्यको शेयर पूँजी रु एक करोड ७१ लाख ३७ हजार १०० रहेको छ । सहकारीले चालू आवमा अनुमानित रु ४७ करोडको कारोवार गर्ने जनाएको छ । नेपाल सरकार, युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग ऋण सम्झौता गरी सहकारीले २२ बेरोजगार युवालाई स्वरोजगार बनाएको कोषाध्यक्ष खगेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
सहकारीले लघुवित्त कार्यक्रमसमेत सञ्चालन गरी ग्रामीण क्षेत्रका बासिन्दाको आयस्तर वृद्धि गर्न कार्यक्रम सञ्चालन गरेको छ । सहकारीले चालू आवमा शेयर सदस्य ११ हजार पु¥याउने, शेयर पूँजीमा वृद्धि गरी रु दुई करोड पु¥याउने र सम्पत्तिमा रु १३ करोडले वृद्धि गरी ३५ करोड पु¥याउने लक्ष्य लिएको छ ।
