चिया समस्याबारे अन्तक्र्रिया
पशुपतिनगर, इलाम, १६ कात्तिक : चिया क्षेत्रको समस्या र समाधानका बारेमा इलामको चिया उद्योगी र प्रदेश नम्बर १ सरकारका मुख्य सचिवबीच आज अन्तक्र्रिया सम्पन्न भएको छ ।
प्रदेश नम्बर १ का मुख्यसचिव केदार न्यौपाने र सूर्योदय टि एशोसिएशनमा आबद्ध ३० चिया उद्योगीसँग चियाको समस्या र समाधानका बारेमा अन्तक्र्रिया सम्पन्न भएको हो । मुख्यसचिवसँगै इलाम आएका भूमि व्यवस्था मन्त्रालयका सचिव हस्तबहादुर विष्ट, गैरनेपाली आवासीय सङ्घका महासचिव बद्री केसी र इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सेनासँगै अन्तक्र्रिया भएको थियो ।
सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा भएको मुख्यसचिवको टोलीसँगको अन्तक्र्रियामा इलामका चिया उद्योगीले चिया क्षेत्रको बजारीकरण, गुणस्तर मापदण्ड निर्माण र अर्गानिक चिया उत्पादनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
उद्योग बन्द गर्ने सूचनापछि आक्रोशित
दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले उद्योग बन्द गर्ने सूचना टाँस गरेपछि इलामको रोङ गाउँपालिकाका किसान आक्रोशित भएका छन् ।
रोङ १ र २ का विभिन्न स्थानमा दूध सङ्कलन केन्द्र स्थापना गरेर किसानको दूध सङ्कलन गर्दै आए पनि पछिल्लो समय बन्द गर्ने भन्दै बारम्बार सूचना टाँस गरेपछि किसान आक्रोशित भएका हुन् ।
एक वर्षअघिबाट रोङ १ र २ को शान्तिपुर, सिरिसे लगायत विभिन्न स्थानमा दूध सङ्कलन केन्द्र स्थापना गरेर प्रतिलिटर रु ३५/४० मा दूध किन्दै आएको सेतोट्यामीले आगामी मङ्सिर १ गतेबाट सङ्कलन केन्द्र बन्द गर्ने सूचना टाँसेपछि गाईपालक किसान आक्रोशित भएका हुन् ।
स्थानीय किसान इन्द्र अधिकारीले भन्नुभयो, “रोङ १ र २ बाट करीब दैनिक ८०० लिटर दूध सेतोट्यामीले किन्दै आएको थियो । अहिले विभिन्न बहाना देखाएर दूध किन्दिन भन्दै सूचना टाँस गरेको अब हामी किसान अब के गर्ने अधिकारीले भन्नुभयो ।” यसअघि आइतबारेस्थित दुग्ध चिस्यिान केन्द्रलाई दूध बेच्दै आएका शान्तिपुरका गाईपालक किसानले गाउँमै राम्रो मूल्य दिने सेतोट्यामी दुग्ध सङ्कलन केन्द्र आएपछि किसानले दुग्ध विकास संस्थानलाई दूध बेच्न छाडेका थिए ।
डिडिसीलाई दूध दिन छाडियो एक वर्षपछि सेतोट्यामीले विचल्ली बनाउने भयो यसरी किसानलाई झुक्याउने उद्योगलाई किन कारवाही नगर्ने भन्दै स्थानीय किसान आक्रोशित भएका छन् ।
यता सेतोट्यामीका प्रोपाइटर सुमन श्रेष्ठले आफूलाई घाटा लाग्ने भएकाले बन्द गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक वर्ष भयो बाटोका कारण धेरै मूल्य पर्न गयो हामी अब बन्द छौँ ।” दैनिक ८०० लिटर दूध हुन्छ उहाँले भन्नुभयो, “गाउँमै रु ३५–४० मूल्य दिएर दूध किन्न सक्दिन । हामी सेतोट्यामी मङ्सिर १ गतेबाट बन्द गर्छौं ।”
