हात्तीको झुण्डद्वारा धानबाली नोक्सान
कञ्चनपुर, ३१ असोज : कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिमा गएराति दुई दर्जनभन्दा बढीको सङ्ख्यामा आएको हात्तीको झुण्डले छ जना किसानको एक बिघाभन्दा बढी जग्गाको काटेर थन्क्याएको धान खाएर नोक्सान गरेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट किसानका खेतमा छिरेको हात्तीको झुण्डले थ्रेसिङ गर्न ठिक्क पारेर राखिएको धान खाएर नोक्सान गरेको हो ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार स्थानीय किसान मनिलाल जोशी, जयबहादुर साउद, डम्बरबहादुर साउद, प्रजापति जोशी, गौरव भण्डारी, दिले बिष्ट र नैन सिंह पालको धानबाली हात्तीको झुण्डले खाएको छ ।
किसानको दुई कट्ठादेखि पाँच कट्ठासम्मको धान खाएर हात्तीले नोक्सान गरेको छ इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो, “आँगनमै राखेको धानबाली हात्तीको झुण्डले खान थालेपछि किसान मर्कामा परेका छन् ।” साँझ नपर्दै हात्तीको झुण्ड खेतमा छिर्ने गरेको र धान खाएर अघाएपछि मात्रै निकुञ्जतर्फ लाग्ने गरेको छ ।
तीन सातादेखि भारतको दुधुवा नेशनल पार्क हँुदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छिरेको हात्तीको झुण्डले यहाँका बासिन्दालाई निकै सास्ती दिन थालेका छन् ।
“भगाउन गएपछि पूरै झुण्ड आक्रमण गर्न आउँछ” स्थानीय किसान मनिलाल जोशीले भन्नुभयो, “आगो र पटाका पड्काएर पनि तर्सन छाडेको छ । धान बाली सकिएपछि घरभित्र भण्डारण गरेको अन्नसमेत खाने सम्भावना बढेको छ ।
मानवीय क्षतिसमेत हुन सक्ने सम्भावना बढेर गएको हुँदा हात्ती नियन्त्रणका लागि सम्बन्धीत निकायले पहल गर्नुपर्ने उहाँको माग छ । हात्तीको झुण्ड बस्ती छिर्न थालेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न थालेका छन् । धानबाली क्षति भएको क्षेत्रको शुक्लाफाँटा नगरपालिकाका नगरप्रम्ुख दिलबहादुर ऐरले अनुगमनसमेत गरेका छन ।
–––