मन्त्रिपरिषद् पुनर्गठन : तीन उपप्रधानमन्त्री र १२ मन्त्रीले लिए शपथ

काठमाडौँ, २१ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन् ।

पुनर्गठित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बनेका छन् । उनीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

त्यस्तै बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायत, कृष्णगोपाल श्रेष्ठ शिक्षा र लीलानाथ श्रेष्ठ कानून मन्त्रीका रुपमा यथावत रहनेछन् । शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जसपाबाट महतोबाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन् ।

यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री भएका छन् ।

यस्तै चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्य मन्त्री बनेका छन् ।

उपेन्द्र यादवको साथ छोडेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङले सरकारमा जाने मौका पाएका हुन् ।

नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति विद्या देवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैसँग राख्ने भएका छन् ।

मन्त्रिपरिषद्को कार्यविभाजन :

  • प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
  • विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
  • राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
  • रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
  • शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
  • कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा
  • बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
  • लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
  • शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
  • अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
  • विमल श्रीवास्तव : श्रम तथा रोजगार
  • उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
  • लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
  • चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
  • एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
  • चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
  • रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

को को बाहिरिए ?

मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे विदा भएका छन् ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि विदा भएका छन् ।

स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.