युवा गायक कसपालको ‘मायाको चेक’ सार्वजनिक
भक्तपुर, १८ असोज : युवा गायक कपिल कसपालको गीति अडियो भिडियो ‘मायाको चेक’ आज सार्वजनिक गरिएको छ ।
मायाको चेक गीत युनिटले आज रफत सञ्चार क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो गीति अडियो भिडियोको सार्वजनिक गरेको हो ।
गायक कपिल कसपालको स्वर, शब्द र सङ्गीत रहेको उक्त गीतमा पछिल्लो समय चर्चामा रहनुभएकी सन्ध्या बुढा (काउली बुढी) कोसमेत स्वर छ । गीतमा नायकका रुपमा नयन डिसी रहेका छन् भने नायिकाका रुपमा सृष्टि खड्का रहेको मायाको चेक गीतका निर्माता तथा निर्देशक कसपालले जानकारी दिनुभयो ।
रागरागिनी इन्टरटेन्टमेन्ट प्रालीको ब्यानरमा रु दुई लाखको लागतमा निर्माण भएको सो गीतले मनोरञ्जनात्मकरुपमा जीवनलाई लैजानुपर्ने सन्देश दिएको छ ।
सो अवसरमा गायिका काउली बुढीले आफ्नै युट्युब च्यानल काउली बुढीबाट पनि गीत सार्वजनिक गरिएको जानकारी दिनुभयो । विभिन्न सञ्चार माध्यमबाट समेत यो गीत हेर्न सकिनेछ । काउली बुढीले मायाको चेक गीतले युवाको मन जित्नसक्ने दाबी गर्नुभयो । गीतले जीवनमा मज्जा लिएर जीउन उत्प्रेरणा मिल्ने पनि उहाँले बताउनुभयो ।
यो गीत डान्सिङ बिटमा निर्माण भएकाले सबै उमेर समूहको रोजाइ हुने कसपालले विश्वास व्यक्त गर्नुभयो । विवेक साउन्ड स्टुडियो भक्तपुरमा रेकर्ड गरिएको यो गीत रेकडिङ र मिक्सिङ विवेक शाक्यले गर्नुभएको हो भने हेम लामाले एरेञ्ज गर्नुभएको छ । गीतको नृत्य संयोजन भने बुगिबुगीका नृत्य निर्देशक प्रशान्त तामाङले गर्नुभएको छ ।
