बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते

झिमरुक, ४ कात्तिक : प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ ।

जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको हो । तीन जना यात्रु सवार रहेको बस मोड्ने क्रममा ब्रेक नलागेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक दाङ बन्जाडेका ४० वर्षीय तारा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले बताउनुभयो ।

सो दुर्घटनामा तीन यात्रु घाइते भएका छन् । बङ्गलाचुली गाउँपालिका–३ की ३० वर्षीया वसन्ता विक, माण्डवी १ तिराम बस्ने वर्ष ४५ को लक्ष्मी खत्री गम्भीर घाइते हुनुभएको छ भने माण्डवी गाउँपालिका–१ तिरामका ६६ वर्षीय गोकर्ण अधिकारी सामान्य घाइते भएको सूचना अधिकारी ढकालले बताउनुभयो । बस सडकदेखि २०० मिटर तल खसेको छ । घाइतेलाई उपचारका लागि दाङ पठाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.