मानवाधिकारका घटना न्यूनीकरणमा एकताबद्ध हुनुपर्नेमा जोड
काठमाडौँ, १५ असोज : मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण गर्नका लागि राज्यका सबै मानवाधिकारका रक्षक एकताबद्ध भएर हुनुपर्नेमा सरोकार भएकाहरुले जोड दिएका छन् ।
मानव अधिकार आयोग प्रदेश नं ३ कार्यालयले आयोजना गरेको ‘मानव अधिकार कार्यान्वयनको अवस्था र चुनौती’ विषयको अन्तक्र्रियामा पछिल्लो समयमा मानवाधिकार उल्लङ्घनका घटना बढ्दै गएको हुँदा न्यूनीकरणका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।
मानवअधिकारकर्मी चरण प्रसार्इंले कुनै पनि खालको दवाव र प्रभावमा नपरी कानूनको शासन मुलुकमा कायम गराउन सके मात्र मानवाधिकारको प्रत्याभूति नागरिकमा गराउन सकिने बताउनुभयो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्तकुमार लामाले नागरिकको सुरक्षाका लागि प्रहरी प्रशासन निरन्तर खटिरहेको र जुनसुकै समयमा पनि नागरिकलाई सुरक्षा दिन तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आयोगका प्रदेश नं ३ का निर्देशक यज्ञराज अधिकारीले मानवाधिकारको संरक्षणका लागि नेपाल प्रहरी, सम्पूर्ण मानवाधिकारकर्मीले सहकार्य गरेर मानवको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीले पछिल्लो समयमा मानवाधिकार उल्लङ्घनका जघन्य अपराध बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै सुरक्षा निकाय, मानवधिकारकर्मी, नागरिक समाजलगायत सबैले आआफ्ना क्षेत्रबाट मानवाधिकार संरक्षणमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
