पिंजडामा वालापन (लघु कथा)
बीके ‘सेवक’ । जीवनमा एउटा कुराले सधै पिरोलिरहन्छ। सायद आफूलाई जुन कुराले बढी पिरोल्छ त्यसैले सबै भन्दा धेरै पिरोल्दो रहेछ। आफू वालापनमा रहदा पारिवारिक अवस्था, सामाजिक परिवेस र समष्टिगत चेतनास्तरले गर्दा वालापनको भरपुर उपयोग हुन सकेन। त्यसैले त साथिभाईहरु बिच कहिलेकाही बाल्यकालको स्मरण आदान प्रदान गर्दा आफू खुसी कुनै रमाइलो गरेको वाल विज्याई वा वाल मनोरंजनका केही कुरा स्मरणमा भेटिदैनन्; भेटिन्छन त केवल विहान सबेरै आखा मिच्दै घास काट्न गएको, खोरिया गोठमा जादा जंगलमा डराएर दौडिएको, स्कुल जादा पटुवाले चप्पल बाधेर लगाएको, स्कुल विदा हुदा बाटो खन्न हिडेको जस्ता पीडादायी स्मरणहरु । त्यसैले पनि होला वालवालिकाको वालापन प्रति म अति संवेदनशील भएको।
हुन त म काम विशेषले धेरै समय बाहिर हुन्छु तर कहिलेकाही घर आउदा पल्लो घरमा देखिने दृष्यले मलाई भतभती पोल्छ, ज्यान गल्छ र ठूलो पीडा वोध हुन्छ। करिव १३ बर्ष कि होलिन, ती वालिकाले एक दिन “ खानको लागि दुख त गर्नै पर्यो नि” भन्ने शव्दहरु मेरो कानमा परे देखि ती वालिकाको अवोध अनुहार र निश्चल आखा मेरो अगाडी नाची रहन्छ। यस्तो लाग्छ म माथि भएको यो नै सब भन्दा ठूलो प्रहार हो जसले मलाई जीवन भर पोलिरहनेछ। यस्तो लाग्छ ती अवोध वालिकाका कस्ता कस्ता रहर होलान, दौतरीहरु संग लुकामारी चुन्नी गट्टा खेल्ने, बाउको मोवाइल तानेर गीत लगाई नाच्ने, आमाको लिपिस्टिक दली जानीनजानी गुन्यु बेर्ने, चीनो फापर कागुनो जे छ आमालाई फुर्काएर खाने, साथिहरुसंग हिउमा चिप्लेटी खेल्ने, भाईबैनिसंग नून खुर्सानीसंग हिउ खाने आदि। तर उ तेयो वालापन बन्धक राखेर मात्र पेट भर्न वधुवा मजदुर जस्ते भएकि छ त्यो चौघेरामा।
मेरी श्रीमतिले त उद्वार गरी हाम्रै घरमा ल्याउने जमर्को पनि गरेकि रहिछन तर पर्याप्त जानकारी नभई त्यसो गर्न पनि भएन। आखिर नचिनेको वालवालिका यसै राख्नु पनि गैह्रकानुनी नै ठहर्छ। तसर्थ त्यो प्रयासले सार्थकता पाउन सकेको रहेनछ।

हाम्रो घरको बरण्डाबाट सजिलै चियाउन सकिने टिनले बारेको भान्सा घर र त्यहाबाट आउने तीखो आवाज, यस्तो लाग्थ्यो मान्छे कुन हदसम्म क्रुर हुदो रहेछ। त्यहाबाट आउने बाणी र देखिने व्यवहारले ती महिलाको क्रुरताको सहजै अनुमान गर्न सकिन्छ। हुन त महिलालाई यसै पनि करुणा र मायाकि खानी भन्ने गरिन्छ। तर ती वालिकाको वालापन लुटिएको देख्दा यस्तो अपवाद पनि हुदो रहेछ जस्तो लाग्छ। तीनले मात्र आफ्नो वालापन सम्झिदिए कस्तो हुन्थ्यो! भन्ने लाग्छ ।
कुनै न कुनै माथि हैकम चलाउनु नै पर्ने पनि एक किसिमको मनोबृत्ती नै हो । जव त्यस्तो हैकम चलाउन आफु मुनि कोही पार्न सकिएन भने त्यसको शिकार वालवालिका हुने गरेका धेरै घटनाहरुले देखाएका पनि छन। यसमा व्यक्ति हुर्किदाको वातावरण, संस्कार र चेतना स्तर कै विशेष भूमिका हुन्छ। यो वास्तवमा विभिन्न आधारमा समाजलाई विभाजन गरी हैकम चलाउने सामन्ती संस्कारको अवचेतन मस्तिष्कमा परेको प्रभावको अर्धचेतनाकै परिणाम हो भन्ने लाग्दछ जुन यति जकडिएको हुन्छ कि मानवमा रहेको मानविय गुणलाई नै बिष्थापित गर्दछ। यो हाम्रो समाजको जकडिएको तहगत सामन्ती संरचना र विभेदकारी हुर्काई संस्कार कै उपज हो भन्ने कुरामा विवाद नहोला। कतिपयको अवचेतन मस्तिष्कमा बसेका यस्ता हानिकारक मात्र हैन अपराधजन्य अभ्यासको उत्कृष्टताले समाजमा अनपेक्षित घटनाहरु हुने गर्दछन।
तर आज त्यहाको माहौल फरक छ। म मेरो घरको वरण्डाबाट हेर्दा केही महिला स्यंसेवीहरुले त्यो घर घेरेका थिए, एउटा भ्यान संगै। उता १०४ नं को प्रहरी भ्यानको नजिकै केही प्रहरीहरु ती महिलालाई के के भनिरहेका थिए। आज ती वालिका अलि प्रफुल्ल मुद्रामा थिइन पिंजडाबाट छुटेको पंक्षी जस्तै । आखिर पिंजडा सुन कै भए पनि थुनिनेका लागि त त्यो बन्धन नै हो। उसको अनुहारमा एक किसिमको चमक देखिन्थ्यो । त्यो दृष्यले मेरो आखा त्यसै रसाइरहेका थिए । त्यतिकैमा मेरी श्रीमति आइन र सुम्सुमाउदै मलाई ढाढस दिन थालिन। उनिले कोभिड-१९ संक्रमणका कारणले भएको बन्दाबन्दीमा टोलका घरघरमा हुने हिंसा र बालश्रम विरुध्द टोलका महिलाहरु संगठित गरी अभियान नै चलाएकि रहिछन। त्यही संदर्भमा टोल समिति कै निर्णयमा वाल हेल्पलाइनमा खबर गरे पछि आज उद्वारका लागि स्यंसेविहरु प्रहरी सहित आएका रहेछन। हामीले हेर्दाहेर्दै प्रहरीले ती महिलालाई गाडी चडाएर लगे र एकछिन पछि वालिकालाई पनि स्यंसेवीहरुले लिएर गए। जादाजादै ती वालिकाले हामी तिर फर्किएर हात हल्लाइन। एउटा खुसी र आनन्दको अनुभुती भयो। र हामी दुबैले आज उप्रान्त वालवालिकाको वालापन संरक्षण अभियानमा लाग्ने प्रण गर्यौ।
