पत्रकारितालाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन जोड
भक्तपुर, ११ असोज : पत्रकारितालाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउनुपर्नेमा पत्रकार एवं सञ्चारकर्मीहरुले जोड दिनुभएको छ ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल केन्द्रीय कमिटीले स्थानीय नगरकोटमा आयोजना गरेको ‘सञ्चार र लोकतन्त्र’ विषयमा आयोजना गरेको अन्तक्र्रियाका सहभागीले सञ्चार क्षेत्र कमजोर हुँदा लोकतन्त्र पनि कमजोर बन्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले लोकतन्त्र स्थापनामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको कुरालाई कसैले बिर्सन नहुनेमा जोड दिनुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमलाई कमजोर बनाउन नहुने र यसलाई प्रविधिमैत्री बनाउन राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले विज्ञान र प्रविधिको उपलब्धिलाई सञ्चारको सही प्रयोगमा लगाउनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवम् नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले सञ्चार क्षेत्रभित्रका कमजोरीलाई गहन ढङ्गबाट समीक्षा गर्दै यसलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउनुपर्ने बताउनुभयो । उहाँले हालै जारी भएको देवानी र फौजदारी संहितामा सञ्चार क्षेत्रको भूमिकालाई कमजोर बनाउने कार्य भएको विषयमा पनि समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचनाको हकको प्रयोगले मात्र नागरिक र समाजले जान्न, बुझ्न खोजेका समाचार लेख्न सकिने बताउनुभयो ।
अन्र्तक्रियामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल र उपाध्यक्ष विश्वमणि सुवेदी, प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापा, पत्रकार ऋतुराज सुवेदीलगायतले सञ्चार क्षेत्र बलियो, मर्यादित र व्यावसायिक भए मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुने बताउनुभयो ।
