उपत्यका भित्रने पूर्वी–नाका साँगामा यात्रुको स्वाब सङ्कलन

बिपी राजमार्ग हुँदै तराईको पूर्वी जिल्लाहरुबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोकको साँगामा सोमबार सर्वसाधारणको स्वाब सङकलन गर्दै स्वास्थ्यकर्मी । तस्बिरः पेमा लामा

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, १२ साउन : लकडाउनको अन्त्यपछि मध्यपहाडी क्षेत्रबाट विभिन्न राजमार्ग हुँदै काठमाडौँ उपत्यका प्रवेशको पूर्वी–नाका काभ्रेपलाञ्चोकको साँगामा यात्रुको स्वाब सङ्कलन थालिएको छ । विशेषगरी पूर्वी तराई क्षेत्रबाट बीपी राजमार्ग लगायत अन्य मार्ग हुँदै काठमाडौँ उपत्यका प्रवेश गर्ने सवारी साधनका यात्रुको स्वाब सङ्कलन गर्न थालिएको हो ।

कारोना सङ्क्रमण थप फैलन नदिने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञसहितको टोलीले बनेपा नगरपालिकास्थित साँगामा यात्रुको स्वाब सङ्कलन गर्न थालेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका सदस्य–सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । उहाँका अनुसार टोलीले आइतबार अपराह्नबाट तराईका जिल्लाबाट आएका यात्रुको ‘स्याम्पिलिङ’का रुपमा स्वाब सङ्कलन गर्न थालिएको हो ।

टोलीलाई बनेपा नगरपालिका स्वास्थ्य शाखाले सहयोग गरेको झाले बताउनुभयो । “नाकामा स्वाब सङ्कलन तथा परीक्षणले उपत्यकामा कारोना सङ्क्रमण प्रवेश भए नभएको पत्ता लाग्नेछ” झाले भन्नुभयो । उहाँका अनुसार लकडाउनको अन्त्यपछि कारोनाको सङ्क्रमण दर पत्ता लगाई आएको विवरणले सरकारलाई थप रणनीति बनाउन मद्दत पुग्नेछ । स्वाब सङ्कलनअन्तर्गत यस नाकाबाट उपत्यका भित्रने सबै जिल्लाका यात्रु समेटिनेछ ।

बिपी राजमार्ग हुँदै तराईको पूर्वी जिल्लाहरुबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोकको साँगामा सोमबार सर्वसाधारणको स्वाब सङकलन गर्दै स्वास्थ्यकर्मी । तस्बिरः पेमा लामा

टोलीले आइतबार साँगाबाट उपत्यका प्रवेश गर्न लागेका ६२ जना यात्रुको ‘नोजल स्वाब’ सङ्कलन गरेको नगर स्वास्थ्य प्रमुख सत्यश्वर मकैले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी तराईको सङ्क्रमण फैलिएका जिल्लाबाट आएका यात्रुको पहिचान गरी स्वाब सङ्कलन कार्य भइरहेको हो । “स्वाब सङ्कलन गरिएका नागरिकको व्यक्तिगत विवरण÷पहिचान तथा सम्पर्क नम्बर लिएर पठाइने गरिएको छ, रिपोर्टमा सङ्क्रमण पुष्टि भए तत्काल सम्पर्कमा ल्याई उपचारमा लगिनेछ” प्रमुख मकैले भन्नुभयो ।

मकैका अनुसार स्वाब सङ्कलन गरिएका व्यक्तिको २४ घण्टामा रिपोर्ट आउने व्यवस्था मिलाइएको छ । आइतबार स्वाब सङ्कलन गरिएका व्यक्तिको आज साँझसम्म वा भोलि बिहानसम्म रिपोर्ट आइपुग्ने मकैले बताउनुभयो । आजदेखि दैनिक दुई सिफ्टमा स्वाब सङ्कलन भइरहेको जनाइएको छ । साँगा नाकाबाट करिब चार हजार यात्रुको स्वाब सङ्कलन गरिने योजना बनाइएको छ । टोलीका लागि बनेपा स्वास्थ्य शाखाले टेन्ट व्यवस्थापन गरेको छ भने दैनिक २–३ स्वास्थ्यकर्मी खटाएको छ ।

टोलीले नाकामा प्रत्यक्ष रुपमा खट्ने सुरक्षाकर्मी, कर्मचारीको पनि स्वाब सङ्कलन गरिने जनाएको छ । केन्द्रले काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकाहरू साँगासहित नागढुङ्गा र फर्पिङबाट समेत गरी १० हजार यात्रुको पोलिमरेज चेन्ज रियाक्सन (पिसीआर) परीक्षण गर्ने योजना बनाएको छ । यात्रुको स्वाब सङ्कलन कार्य आउने बिहीबारसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.