मानवअधिकार सञ्चार प्रतिष्ठानमा शर्मा
काठमाडौँ, ७ असोज : मानवअधिकार सञ्चार प्रतिष्ठानको १८ औँ साधारणसभाले मीना शर्माको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचत गरेको छ ।
कार्यसमितिका उपाध्यक्षमा रविना श्रेष्ठ, महासचिवमा रुपा शर्मा, सचिवमा रीता सापकोटा र कोषाध्यक्षमा अनिता विष्ट निर्वाचित हुनुभएको प्रतिष्ठानले जनाएको छ ।
सदस्यमा शारदा कोइराला, कर्ण नेपाली, रोशनी अधिकारी र देविका तिमिल्सिना हुनुहुन्छ । प्रत्येक तीन वर्षमा नयाँ कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था रहेको संगठनको निर्वाचनमण्डलमा पत्रकार टङ्क पन्त, तीर्थ कोइराला र राधा बुढाथोकी हुनुहुन्थ्यो ।
साधारणसभाले अघिल्लो कार्यसमितिका महासचिव रविना श्रेष्ठले पेश गरेको प्रतिवेदन र कोषाध्यक्ष अनिता विष्टको प्रतिवेदनलाई पारित गरेको छ । नवनिर्वाचित महासचिव रुपाले मुलुकका विभिन्न स्थानमा गरीबी, बेरोजगारी, अशिक्षालगायत कारणले मानवाधिकारबारे बुझ्न नसकेकाहरुलाई बुझाउने र मानव अङ्ग बेचबिखनका लागि कतिपय नागरिक ओसारपसारमा पर्ने गरेकाले त्यसको न्यूनीकरणका लागि आफूले भूमिका निर्वाह गर्ने बताउनुभयो ।
पत्रकार र मानवअधिकारकर्मीको सहकार्यमा प्रतिष्ठानले मानवअधिकार, सामाजिक न्याय, सञ्चार अनुगमन र शान्तिका लागि १८ वर्षदेखि काम गर्दैआएको छ ।
