कोरोनाले महामारीको रुप लिँदैं, एकैदिन १२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ सय १ पुग्यो

काठमाडौं, १४ जेठ : नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना पुष्टि भएको छ । लकडाउनको ६५ दिनमा आज बुधबार हालसम्मकै सर्वाधिक धेरै संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।

नेपालमा बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा  कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । कर्णाली प्रदेशको सुर्खेतका थप १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै बुधबार एकैदिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ११४ जनामा कोरोनाको संक्रमण पुष्टि गरेका थिए । स्वास्थ्य मन्त्रालयले थप १५ जना संक्रमितको बारेमा जानकारी दिन बाँकी भएपनि कर्णाली प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले पुष्टि गरिसकेका छन् ।

भारतबाट केहि दिनअघि आइ क्वारेन्टाइनमा बसेकाहरूबाट स्वाब संकलन गरेर परीक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएको खड्काले जानकारी दिए । उनीहरुमध्ये १३ जना सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका र २ जना चौकुने गाउँपालिकाका रहेको उनले बताए ।

उनीहरू १५ जनाकै स्वाव प्रदेश अस्पताल सुर्खेतमै जाँच गरिएको खड्काले बताए । योसँगै सुर्खेतमा कूल ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

यसअघि बुधबारको नियमित प्रेस ब्रिफिङमा देवकोटाले दिएको जानकारीअनुसार धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै सप्तरीका हुन् ।

यसैगरी कोसी प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै झापाका हुन् ।

यसैगरी हेटौडा स्थित प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ । जसमा  मकवानपुरका १ र रौतहटका ७  जना  रहेका छन् ।

यसैगरी पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी दाङको राप्तीमा गरिएको परीक्षणमा १८ जनामा पुष्टि भएको छ । जसमा रुकुम पूर्वका ३ जना र दाङका १५ जना रहेका छन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा पनि १६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै बाँकेका हुन् ।

यसैबीच आजै राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा सिरहाका १ जना, सिरहा घर भइ सप्तरी बस्दै आएका १ जना,  बाराका ७ जना, रौतहट घर भइ बारामा रहेका १ जना र  रौतहटका २८ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमित ९०१ जना मध्ये ८०५ जना पुरुष र ९६ जना महिला रहेका छन् ।

नेपालमा संक्रमित संख्या ९०१ पुगेको छ । कोरोना निको हुनेको संख्या हाल १८३ पुगेको छ भने कोरोना संक्रमणबाट प्रदेश २ को बाराका ७० वर्षका पुरुष, बागमती प्रदेशको सिन्धुपाल्चोकी २९ वर्षकी महिला र प्रदेश ५ को बाँकेका २५ र गुल्मीमा ४१ वर्षका पुरुष गरी हालसम्म चार जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.