विश्व युवा दिवस, युवा पलायन र रोक्ने उपायहरु
विश्व युवा दिवस, युवा पलायन र रोक्ने उपायहरु
डा. दिलनाथ दंगाल । २८ साउन, काठमाडौं । हरेक बर्ष अगस्त १२ को दिन मनाईने यो युवा दिवस आज विश्व भर मनाईदैछ । यसै सन्दर्भमा युवालाई विश्व सूचना र आधुनिक प्रविधिसंग जोडौं भन्ने नाराका साथ नेपालमा पनि मनाईदैछ । यो दिवसको अवसर पारेर फेरी एक पटक नेपालमा युवालाई रोजगारी र अवसरसंग जोड्ने कुरा उठेको छ । तर, हरेक वर्ष आजको दिन यो कुरा उठ्छ अनी फेरी अर्को वर्षको यसै दिनको पर्खाईमा रहन्छ । त्यो समय सम्ममा लाखौ युवाहरु रोजगारको खोजिमा विदेश पलायन भई सकेका हुन्छन् । सन् २००१ अगस्ट १२ तारिखबाट संयुक्त राष्ट्रसंघको आयोजनामा विश्वमा युवा दिवस मनाउन थालेको पनि आज २३ वर्ष पूरा भएको छ भने नेपालमा पनि सन् २००४ वरिपरिबाट सरकारी तथा गैरसरकारी तवरमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने क्रम सुरु भएको देखिन्छ । त्यसैगरी २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय नै स्थापना गरेर युवाका बारेमा कार्यक्रम गर्न थालिए पनि आज सम्म आई पुग्दा हामी कहाँ भने यो दिवस नारामा मात्र सीमित रहेको जस्तो देखिन्छ । सरकारका नीति र व्यवहारहरु हेर्दा पनि युवालाई देशमानै रोजगारी दिने भन्दा पनि विदेश पठाएर रेमिट्यान्स भित्राउनमा नै तल्लीन भएको देखिन्छ । म आफैले केहि समय अगाडीबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई नजिकबाट नियाल्दा र बिभिन्न द्वितीय तथ्यांकलाई केलाउदा श्रमकालागि बाहिर जाने युवाहरुको संख्या प्रति दिन २२०० देखि २६०० सम्म र अध्ययनकालागि प्रति महिना दश हजारका दरले देश छोडेर बाहिरिएको देखिन्छ(जो ९० प्रतिशत देशमा फर्किन चाहदैन) भने खुला सीमाना हुदै विदेश जानेको संख्या पनि यसमा जोडिन आउँछ । यो बाहिर जानेको तथ्यांकलाई हेर्ने हो भने आज सम्मका परिवर्तन र महान क्रान्ति सबै बेकार लाग्छ । विभिन्न खाले परिवर्तन र क्रान्तिको नाममा हाम्रो नेतृत्वले हाम्रा युवाहरुलाई विदेश पलायन हुने वातावरण तयार पार्न बाहेक केहि गरेनन् भन्ने पनि यसबाट स्पष्ट हुन्छ । यसरी देश विकासका बाहक युवाहरुलाई लामो समय सम्म देश बाहिर पठाएर विप्रेषणमा रमाउने हाम्रो राज्य सत्ता वा राजनीतिक प्रणालीको यो भन्दा ठूलो असफलता, अदुरदर्शिता र गैह्रजिम्मेवारी अरु के हुन सक्छ?
युवाहरु किन विदेश जान चाहन्छन् ?
युवा हाम्रो देश, समाज र परिवारको समृद्धिको आधार हो । विश्वका धेरै देशहरुको समृद्धिको आधारलाई हेर्ने हो भने युवाजनशक्तिको सदुपयोग मार्फत समृद्धि तर्फ अघि बढेका उदाहरणहरु प्रसस्त पाइन्छन् । यस्तो समृद्धिको मेरुदण्ड मानिने युवाहरु प्रत्येक दिन ठूलो संख्यामा विदेश जानु हाम्रालागि दुःखद हो । आफ्नै देशमा बसेर सेवा गर्ने मन हुँदाहुँदै पनि शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारी, यातायात, शान्ती-सुरक्षा, नयाँ आविष्कार, स्वास्थ्य वातावरण र अन्य सम्भावनाको खोजिमा युवाहरु विदेशिएको देखिन्छ ।
अहिले विशेष गरेर नेपालबाट दुई किसिमका युवाजनशक्तिहरु विदेश गएका देखिन्छन् । पहिलो किसिमका श्रम स्विकृती लिएर काम गर्नकालागि र दोस्रो खालका अध्ययन भिसामा । दोस्रोको तुलनामा पहिलो किसिमका युवाहरु बढी संख्यामा विदेश जाने गरेको पाइन्छ । यिनिहरु देशमा भनेजस्तो आम्दानी हुने काम सजिलै नपाएको कारणले, छिमेकीले विदेशबाट धेरै कमाएर ल्याएको देखेर,नेपालको कमाई बचत हुदैन भन्ने लागेर,सानो तीनो उद्योग खोल्न लाग्यो भने ऋण प्राप्त गर्न नसकेर वा उद्योग खोल्ने प्रकृयागत झन्झट सहन नसकेर, उत्पादित वस्तुको बजारीकरणको समस्या भएर र सबै कामहरुको समान स्तरको इज्जत नभएर आदी कारणहरुले विदेशिने गरेको पाईन्छ । यस्ता खालका श्रमिकहरु मलेशिया र खाडी राष्ट्रमा बढी जाने गरेको पाईन्छ । उनिहरुले ठूलो संख्यामा नेपालमा रेमिट्यान्स पठाउने गरेका छन् । यो संगै यी खालका श्रमिकहरुले बर्षेनी १२०० देखि १४००को संख्यामा ज्यान पनि गुमाउनु परेको तीतो यथार्थ हाम्रो समाजमा रहेको छ भने अंग भंग हुनेको संख्या त झन् त्यो भन्दा ठूलो छ । वर्तमान अवस्थामा नेपालले विश्वका १११ ओटा भन्दा बढी देशसँग वैदेशिक रोजगारीमा हाम्रो श्रम शक्ति पठाउने सम्झौता गरी वैदेशिक रोजगारी खुला गरेको र यसलाई निरन्तरता दिएबाट यो क्रम तत्काल घट्ने देखिदैन ।
दोस्रो प्रकारका विदेश जाने युवाहरुमा विद्यार्थीहरु छन् जो अध्ययन भिसामा विशेष गरेर अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा आदी देशहरुमा जाने गर्छन् । यिनिहरु देशमा प्राप्त शिक्षा भन्दा उच्च स्तरको शिक्षा लिनका लागि भनेर बाहिर जान्छन् । यसमा पनि धेरै संख्या चाहि कामको ग्यारेन्टी भएपछि मात्र ती देशहरुमा जाने गरेको पाईन्छ । यो प्रकारको भिसा लागे पछि सबै जसोको घरमा धेरै खर्च गरेर पार्टी हुन्छ, आमा बाबु, आफन्त, छिमेकी सबै दंग हुन्छन् । एक किसिमको गर्भको महसुस हुन्छ परिवारलाई । कहिलेकाहिँ त जोरीपारीसँग फुर्ति लगाउने विषय पनि बन्न जान्छ यो भिसा । त्यतीले मात्र नपुगेर कतिले त हाम्रो छोरी/छोराले त अमेरिकामा नै वा अस्ट्रेलियामा नै वा उतै बिहे गर्यो नि भनेर छिमेकमा धाक लगाएको पनि देख्न र सुन्न पाईन्छ । तर घरमा वरको सिन्को पर नसारेका हाम्रा छोराछोरीहरुले त्यहाँ पुगेर पढाई भन्दा पहिला कामको जोहो गर्न तर्फ लागेको र काम पाए पछि पनि के काम गर्छन् भन्ने भन्न नचाहेबाट लाखौं खर्च गरेर गएको त्यहाँको जिवन पनि खासै सहज नभएको पुष्टि हुन्छ ।
देशमा राम्रै हुने खानेका छोरी-छोरा र उच्च ओहदाकोे जागिर खानेका नानीबाबुहरुलाई विदेशमोहले यतिसम्म तानेको छ कि त्यहाँ हाम्रा नानीबाबुहरुले अमृत नै प्राप्त गर्छन् वा मोक्षको बाटो नै ती देशहरु हुन् जस्तो लाग्छ । तर यसमा हाम्रो विडम्वना चाहिँ के भने हामीले जन्मायो, पढायो, बढायो अनी जब परिवार, समाज र देशलाई उत्पादन दिने समय आउछ अनी उनीहरु विदेशमा उत्पादन दिन जान्छन् । विदेशीहरुले हाम्रा नानीबाबुहरुको सीप, क्षमता, समय, ऊर्जा र ज्ञानलाई प्रयोग गरेर सम्पन्न हुन्छन् हामी जहाँको त्यही रहन्छौं ।
हाम्रो युवाले देशमा बेरोजगारी, भ्रष्ट्राचार, कुशाशन, शान्तीसुरक्षा र कानुनी राजको अभाव देख्छ भने विदेशमा प्रशस्त रोजगारी र पारिश्रमिक, सुखी जीवन, सुविधा सम्पन्न जिवनशैली, गुणस्तरीय स्वास्थ र शिक्षा जस्ता सुविधा देख्छ यसले पनि युवा-युवतीहरूलाई विदेशले आकर्षित गरेको देखिन्छ । तर बच्चालाई विदेश पठाउन लाखौं खर्च गर्ने अभिभावकले आफ्नै देशमा त्यही रकम लगानी गरेर जिवन सहज हुन्छ भन्ने सिकाउन सकेन भने समाज र राज्यले पनि यता तिर ध्यान दिन चाहेन तसर्थ पनि युवा विदेश पलायन भइरहेको छ ।
हाम्रा देशका युवाहरु आफ्नो, परिवारको र देशको उज्ज्वल भविष्य निर्माणका लागि विश्वविद्यालय र क्याम्पसहरुमा उच्च शिक्षा अध्ययनकालागि आएका त हुन्छन् तर राजनीतिक दलहरूले ती युवाहरुलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्नाले ती युवाको सपनामाथि तुषारापात हुने गरेको छ । अनुत्पादक रुपमा राजनीतिमा लागेर जव उनीहरुको उमेर ढल्किन थाल्छ अनी देशमा केहि नहुने देखेपछि भविष्यको सपना खोज्दै ती युवा जनशक्तिहरु शिक्षा, रोजगारी र विभिन्न खाले अवसरका लागि विदेशिन बाध्य हुन्छन् । नेपालमा यो क्रम दिन प्रतिदिन बढ्दो छ । यदि यो क्रम नरोकिने हो भने छिट्टै नै देश युवा जनशक्ति विहीन बन्नेछ साथै देशमा वृद्धवृद्धाहरु र ती विदेश गएका युवाहरुका साना साना केटाकेटीहरु मात्र रहने छन् र हाम्रो समृद्धिको सपना अधुरै रहने छ ।
राजनीतिक दलहरुले हरेक पटक देशमा हुने राजनीतिक परिवर्तनहरुमा युवाहरुलाई प्रयोग गर्ने तर परिवर्तन पछि युवाकालागि केहि दिन नसकेपछि उनीहरु निराश भएर आवश्यक अवसरको खोजी र घरपरिवारको आवश्यकता पूरा गर्न लाखौँको संख्यामा देश छोडेर विदेश गएका छन् । यी तमाम समस्याहरुका बीचमा पनि युवा परिचालनसँग सम्वन्धीत केही नीति, नियम र योजनाहरु भएका भए पनि राजनीतिक दलहरुको भागभन्डाले क्षमतावानलाई भन्दा पनि हरेक दलले आफ्ना कार्यकर्तालाई अवसर दिने प्रवृत्तिले एकातिर सक्षम र क्षमतावान युवाको आकांक्षा पनि पूरा भएन भने अर्को तिर देशले विकासकालागि क्षमतावान जनशक्ति पनि प्राप्त गर्न सकेन र यस्ता अयोग्य भजनमण्डलीहरुबाट देश निर्माणको अपेक्षा राख्न पनि सकिदैन । यी भजनमण्डलीहरुको सिन्डीकेटको जरो यति सम्म फिजिएको हुन्छ की देशमा रहेका सक्षम र क्षमतावान जनशक्तिलाई हरेक अवसरहरुबाट बञ्चित गराएर निराश बनाई विदेश पलायन हुन बाध्य बनाउछन् । सरकारमा वस्ने र नीति निर्माताहरुले यो विषयमा समयमा नै नसोच्ने हो भने अवको दश वर्ष क्याम्पस पढ्ने एउटा पनि युवा देशमा रहने छैनन्, प्रहरी र सेनामा जागिर खाने युवा रहदैन, पढाउने शिक्षक र कर्मचारी पनि रहने छैनन् । रहन्छन त केवल कतै जान नसक्ने र कतै पनि पहुँच नभएका केहि दुखी जनता, नेताहरुका परिवारका सुन तस्कर, माफिया, भ्रस्टाचारीहरु मात्र । अहिले पनि वाउले राजनीती गर्ने, श्रीमति र छोरा छोरी तस्करी र भ्रस्ट्राचार गर्ने अनी चम्चे कार्यकर्ताहरु सामाजिक सञ्जालमा यीनिहरुलाई बचाउने यहिनै चलेको छ नेपालमा । त्यही कारणले गर्दा क्षमता भएको मानिस आफ्नो क्षमताको कदर जहाँ हुन्छ त्यही जाने हो, विदेशले उसको क्षमता चिन्छ तसर्थ विदेशीले लगेर उसलाई प्रयोग गर्छ । यो पनि युवा र क्षमतावान जनशक्ति पलायनको बलियो कारण बनेको छ ।
त्यसो त अथाहा प्राकृतिक सम्भावनाहरु भएको देशमा आफु सत्ता र शक्तिमा भएको बेलामा सत्ता र शक्तिको दुरुपयोग गरेर काण्डमाथी काण्ड मञ्चाई जनता प्रति अन्याय, अत्याचार गर्ने, भ्रस्टाचार गर्ने जनतालाई शोषण गर्ने, देशको स्रोत र साधनको दुरुपयोग गर्ने र विदेशीहरुकालागि सधै कम्फोटेवल बनिरहनेहरु नै सबै भन्दा ठूलो, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रवादी भएको देख्दा सचेत नागरिक सबै भन्दा धेरै राजनीतिकदलहरु प्रति निरास भएका छन् । युवाहरुको विदेश पलायन बढ्दो छ र त्यहाँ गएकाहरु पनि नेपाल फर्कन चाहेका छैनन् । आत्म निर्भर अर्थतन्त्रका लागि यो बढो खतरनाक हुन सक्छ तसर्थ यसवारेमा समयमा नै सोचौं ।
२०६२/०६३ साल यता हाम्रो देशका राजनीतिक नेताहरुले देशका युवालाई पुरा नहुने सपना बाँड्नमा नै समय खर्च गरे तर आफुहरु चाँहि कमाउ धन्दामा व्यस्त भए । उनीहरुले वेलावेलामा गर्ने भाषणमा लोकतन्त्र, गणतन्त्र र शुशासनको बयान गर्ने तर व्यवहारमा भने आफुले सत्ता नपाउनासाथ लोकतन्त्र र गणतन्त्र खतरामा परेको देख्ने तथा सत्तामा पुग्नासाथ शक्तिको दुरुपयोग गरेर कानुन र विधिको शासनको उपहास गर्ने तथा राजनीतिक पुर्वाग्रह साध्न फरक विचार राख्नेलाई अपराधी करार गर्ने प्रवृत्ति बढ्दै जाँदा युवा वर्गमा निराशा थपिदै गएको छ जुन युवाहरु विदेश पलायनको प्रमुख कारण बनेको छ ।
युवा जनशक्ति पलायन कसरी रोक्ने ?
नेपालमा जनसंख्या तथ्यांकहरूमा (१६ देखि ४० वर्षको उमेर) ४० प्रतिशतभन्दा बढी युवा जनशक्ति रहेको देखिन्छ । यो अवस्थामा युवा जनशक्तिसँग सम्वन्धीत आवश्यक नीति निर्माण गर्ने र त्यसको प्रभावकारी कार्यान्वयन गरी अधिकतम जनसांख्यिक लाभ लिनसक्ने हो भने देशमा प्रशस्त मात्रमा रहेको यस्तो युवा जनशक्ति आर्थिक दृष्टिकोणले सकारात्मक र देश विकासका लागि ठूलो अवसर हुनेछ । देशले हाम्रोे युवा जनशक्तिसँग राजनीति, अर्थतन्त्र, समाज, संस्कृति र विकासमा हातेमालो गर्न सिक्नु पर्छ तर यसमा राज्य चुकेको देखिन्छ ।
तसर्थ देशमा उपलब्ध जनशक्तिलाई ब्यवस्थापन गरेर हाम्रो अपार प्राकृतिक स्रोत र साधनहरुको उपयोग गर्ने हो भने हाम्रो समृद्धिको ढोका खुल्नेछ । यसकालागि हाम्रा आवश्यक जनशक्तिका बारेमा पनि अध्ययन हुनुपर्छ । हाम्रो देशमा कति कपाल काट्ने मान्छे आवश्यक पर्छ, कति धारापानी र विजुलीको काम गर्ने मानिस चाहिने हो, कति घर बनाउने मान्छे, कति खेतबारीमा काम गर्ने मान्छे, कति इञ्जिनियर चाहिने, कति प्राध्यापन गर्ने मान्छे चाहिने हो, कति कम्प्यूटर चलाउने मान्छे चाहिने हो? योजना बनाउनुपर्छ साथै युवाहरुले देशमा आत्मसम्मान र इज्जत खोजेका छन्, कानुनी झन्झट विना व्यावसाय गर्ने अवसर र उनीहरुले उत्पादन गरेका वस्तुहरुको बजारको सुनिश्चितता खोजेका छन्, सबै खाले काममा समान इज्जत खोजेका छन् । यसबारेमा पनि राज्यको ध्यान जानु पर्छ ।
त्यसैगरी युवाहरुलाई देशभित्रै आकर्षित गर्ने रणनीति बनाउनेतर्फ पनि राज्यले सोच्नुपर्छ । यसकालागि देशभित्र आन्तरिक उत्पादन बढाई देशमै रोजगारीको सिर्जना गर्नुपर्छ, सरकारी सेवामा धेरै भन्दा धेरै क्षमतावान नेपाली युवालाई अवसर दिने रणनीति बनाउनु पर्छ साथै लोकसेवाको वर्तमान परीक्षा प्रणालीमा पनि परिवर्तन गर्नु पर्ने भए सो अनुसार पनि राज्यले सोच्नुका साथै युवाहरुलाई स्वरोजगार तिर लैजाने योजना पनि बनाउन तिर लाग्नु पर्छ । यसकालागि सरकारले आवश्यक ऋण उपलब्ध गराउने व्यवस्था पनि गर्नु पर्छ । देशमा धेरै रोजगार दिन सक्ने कृषि, पर्यटन, उद्योग जस्ता क्षेत्रहरुमा सरकारले धेरै युवा जनशक्तिलाई रोजगार दिन सक्ने कार्यक्रमको विकास गर्न सक्नुपर्छ र हाइड्रोपावर तथा विभिन्न खाले सार्वजनिक संस्थानहरु जस्ता क्षेत्रहरुमा युवाहरुलाई निश्चित सेयर दिने नीति अपनाउन सकियो भने पनि धेरै युवाहरुलाई देश भित्र नै राख्न सकिन्छ । यसै बिचमा बर्षेनी एकलाख वीसहजार युवा शिक्षा लिने नाममा विदेश पलायन भएका छन् । यिनिहरुलाई रोक्न युवाहरुलाई आकर्षित गर्ने शिक्षा प्रणालीको विकास गर्नु पर्छ । पछिल्लो समयमा अध्ययनकालागि विदेश जाने युवाहरुले हाम्रो परीक्षा प्रणाली, अध्ययनकालागि लाग्ने समय आदी जस्ता कुराहरुलाई देखाएर विदेश गएको बताएका छन । वास्तवमा के हो त कारण पहिल्याई निराकरणको बाटो चाँडो भन्दा चाँडो खोजेर युवाहरुलाई देशमा वस्ने वातावरण तयार पार्नु पर्छ । यसरी शिक्षा लिने नाममा विदेश पलायन भएर विदेशी नागरिकता धारीहरुले भौतिक सुविधा प्राप्त गरेपनि तिनिहरु सधै त्यहाँ दोस्रो दर्जाको नागरिक नै भएर बस्नु परेको पिडा भोगाइ सम्झेर पनि देश बस्न लायक बन्नासाथ उनीहरु पनि नेपाल फर्किने अवस्था रहन्छ । विश्वका धेरै देशहरुको अनुभवले यहि बताउछ । यो विषय पनि पेचिलो बन्दै गएको छ नेपालमा । राज्यले धेरै खालका सामाजिक सुरक्षा भत्ता उपलब्ध गराई रहेको सन्दर्भमा देशको भविष्य बोकेका र देश विकासमा लाग्ने युवाहरुकालागि पनि केहि आकर्षणका कार्यक्रमहरु ल्याउन सक्नु पर्छ ।अहिलेको नेपालको युवा जनशक्तिलाई हेर्ने हो भने यसको उत्पादन कतै आवश्यकता भन्दा बढी भएको देखिन्छ भने कतै माग नै धान्न नसकेको स्पस्ट हुन्छ । तसर्थ पनि देशमा सिपयुक्त जनशक्ति बजारको माग र पूर्तिका बीचमा सन्तुलन कायम हुने गरी उत्पादन गर्ने र त्यसलाई वस्तु तथा सेवाको उत्पादन कार्यमा लगाउने हो भने नेपाललाई चाँडो आत्मनिर्भर बनाउन सकिन्छ ।
हामीले चाँडै नै कुन कुन क्षेत्रमा सीपयुक्त जनशक्ति देशको आवश्यकता अनुसार छ र कुन कुन क्षेत्रमा त्यस्तो प्रकारको जनशक्तिको कमी छ र त्यसलाई कुन माध्ययमबाट चाँडो पूर्ति गर्न सकिन्छ भन्ने योजना बनाएर अगाडी बढ्नु पर्छ । अहिले हामी कहाँ धेरै क्षेत्रहरुमा त्यस्तो जनशक्तिको अभावमा वा हामीले समान्य तालिम दिएर पनि तयार पार्न सक्ने जनशक्तिलाई पनि तयार नपार्दा ती क्षेत्रहरुमा विदेशी श्रमिकहरुले काम गर्दा ठूलो धनराशी बाहिर गएको तथ्यांकले देखाउछ । तर यसकालागि युवा जनशक्ति सम्वन्धी राष्ट्रिय नीति तथा योजनाको आवश्यकता पर्दछ । हाम्रा विश्वविद्यालयहरुमा रहेका विद्यावारिधि उपाधि प्राप्त र विभिन्न अनुसन्धानमा लागेका विभिन्न क्षेत्रका विज्ञहरूलाई देशको आवश्यकताका अनुसार खोज गर्न प्रोत्साहन गर्नुका साथै यस्ता अनुसन्धानबाट प्राप्त नतिजाहरुलाई सरकारका सबै सम्बन्धित क्षेत्रले बाध्यात्मक उपयोग गर्ने परम्पराको विकास गर्नु जरुरी देखिन्छ । यसले एकातिर देश विकासमा सहयोग पुग्छ भने अर्कोतिर राज्यले क्षमतावान जनशक्तिको प्रयोग गर्न थाल्यो भनेर यस्ता जनशक्तिको विदेश पलायन रोकिन थाल्छ ।
(डा. दंगाल त्रिविमा प्राध्यापनरत अर्थशास्त्री हुन्)