शाहीको गीति एल्बम ‘परदेशी’ विमोचन
काठमाडौँ, ५ असोज : नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाहीको गीति एल्बम ‘परदेशी’ विमोचन भएको छ ।
नेपालका लाखौँ युवा रोजगारीका लागि विदेश गएको र उनीहरुका परिवारले भोग्नुपरेको समस्यालाई दर्शाएर तयार पारिएको उक्त गीति एल्बम आज विमोचन गरिएको हो ।
सो अवसरमा गीतकार सङ्घ नेपालका अध्यक्ष चुरामणि देवकोटाले गीति एल्बमले वर्तमान समयमा मुलुकले भोगेको समस्याका बारेमा उजागर गरेको बताउँदै गीतले आम नेपालीलाई सन्देश दिन खोजेको छ भन्नुभयो ।
सङ्गीतकार महेश खड्काले पछिल्लो समय सङ्गीत क्षेत्र बदलिँदो अवस्थामा रहेको उल्लेख गर्दै ‘परदेशी’ले मुलुकको यर्थाथ घटनालाई समेटेको बताउनुभयो ।
बिपी अध्ययन प्रतिष्ठान नेपालका अध्यक्ष धर्मेन्द्र नेम्वाङले मनले बोल्न नसकेका कुराहरु गीत र कलामार्फत प्रस्तुत गर्न सकिने बताउनुभयो । गीतका लेखक शाहीले १० वर्षअगाडि नै उक्त गीतलाई रचना गरेको बताउनुभयो ।
सो गीत टीका प्रसाईंको स्वरमा सजिएको छ भने रेखा पौडेलको सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन छ । किरण क्रियशनले एल्बमलाई बजारमा ल्याएको हो ।
