बागलुङकी ६५ वर्षीया वृद्धाले कोभिड-१९ लाई जित्नुभयो, खुसी हुँदै घर गइन्
गलकोट, ६ वैशाख: नेपालको छैटौं कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोनामुक्त भएकी बागलुङकी ६५ वर्षीय वृद्धा अस्पतालबाट डिस्चार्ज भएकी छिन् । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत उनको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको केही घण्टापछि उनी डिस्चार्ज भएकी हुन् । डिस्चार्जपछि उनी खुसी हुँदै घर गएकी छिन् ।
कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशन वार्डमा उपचाररत महिलाको यसभन्दा पहिले दुई पटक स्वाब परीक्षण गर्दा पोजेटिभ आए पनि तेस्रो र चौथौ पटक नेगेटिभ आएका कारण उहाँलाई कोरोना ठीक भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिनुभयो ।
“चौथो रिपोर्ट पनि नेगेटिभ आएको छ”, गुरौँले भन्नुभयो, “दुई पटकसम्म नेगेटिभ रिपोर्ट आउनु भनेको कोरोना निको हुनु हो ।” अस्पतालबाट डिस्चार्ज भएकी महिलालाई अझै केही समय घरकै क्वारेन्टाइनमा बस्नुपर्ने डाक्टरहरुले बताएका छन् । नेपालमा ती महिला कोरोना निको हुने तेस्रो सङ्क्रमित हुने बताइएको छ ।
बागलुङकी अर्की युवती भने धौलागिरि अस्पतालमा उपचाररत छन् ।
गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । आजै टेकु अस्पतालमा उपचाररत काठमाडौंकी १९ वर्षीया युवती पनि कोरोना मुक्त भएर घर फर्किएकी थिइन् ।
नेपालमा अहिलेसम्म देखिएका ३१ जना कोरोना संक्रमितमध्ये तीन जना निको भएर घर फर्किएका छन् ।
