दोस्रो संक्रमित युवती निको भएर घर फर्किइन्

काठमाडौं, ६ वैशाख : कोराना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत एक युवती कोरोना लाई जितेर २७ दिनपछि घर फर्किएकी छिन् ।

उनी कोरोना पुष्टि भएपछि चैत १० गतेदेखि टेकुमा उपचाररत थिइन् । फ्रान्सबाट आएकी ती १९ वर्षीय युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

उनी गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् ।  फ्रान्सदेखि  कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना सं‌क्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी मन्त्रालयले संक्रमितको परिवारलाई मापदण्डअनुसार क्वारेन्टाइनमा राखेर टेस्ट गरेपनि उनीहरुमा भने नेगेटिभ देखिएको थियो ।

आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।

यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी पनि  उपचारपछि घर फर्किएका थिए ।

अब टेकु अस्पतालमा दुई पुरुषको मात्र उपचार भइरहेको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमित ३० जनामध्ये २ जना निको भएर घर फर्किएका छन् ।

तस्वीर स्रोत: स्वास्थ्य मन्त्रालय ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.