काठमाडौंमा एकै परिवारका तीनलाई कोरोनाको आशंका
काठमाडौं, १ वैशाख: पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको ए बिल्डिङमा बस्ने एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ देखिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मा रहेको मुलपानी नगर अस्पतालमा बिदेशबाट आएकाहरू मध्य ३६ जनाको र्यापिड टेष्ट गरिएकोमा र्यापिड टेष्ट गर्दा एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।
उनीहरु २०७६ चैत्र ५ गते बेलायतबाट आएको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एकै परिवारका ८१ र ५२ वर्षका दुई महिला र ५८ वर्षको पुरुषमा ¥यापिड डायग्रोस्टिक टेष्ट गर्दा कोरोना भाइरसको आशङ्कामा तीनै जनालाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको हो । त्यो टेष्टमा पोजेटिभ आउँदैमा कोरोना भाइरस भएको पुष्टि हँुदैन । परीक्षणपछि मात्र थाहा हुन्छ ।
सो अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले ‘सिल्ड’ गरेको छ । महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार तीनजनालाई कोरोनाको आशङ्का देखिएपछि अरू व्यक्तिको सुरक्षाका लागि सो क्षेत्रमा आवागमन बन्द गरिएको छ । स्वास्थ मन्त्रालयका अनुसार नेपालमा हालसम्म १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये एकजना निको भएर घर गइसकेका छन् ।
