कृषि विकास आयोजना सम्पन्न

सुर्खेत, ३ असोज : कृषिका क्षेत्रमा काम गर्दै आएको उच्च मूल्य कृषि विकास वस्तु आयोजना सम्पन्न भएको छ ।

उक्त आयोजना सात वर्षदेखि कर्णाली प्रदेश र प्रदेश नं ७ मा सञ्चालनमा थियो । नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय तथा कृषि विकास लागि अन्तर्राष्ट्रिय कोष (इफ्याड)बीच सो आयोजना सञ्चालनका लागि २०६७ सालमा सम्झौता भएको हो । सो आयोजनाको लागत रु एक अर्ब ३२ करोड रहेको थियो । रु ६५ करोड ७१ लाख कृषि समूह सहकारी अनुदानतर्फ तथा रु ६६ करोड २८ लाख कार्यक्रम सञ्चालनमा खर्च भएको आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले जानकारी दिनुभयो ।

विसं २०६७ माघदेखि सुर्खेत–दैलेख–जुम्ला तथा छिन्चु–जाजरकोट सडकसँग जोडिएका सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, सल्यान, जाजरकोट र अछाममा कार्य प्रारम्भ गरेको सो आयोजना सम्पन्न भएको मङ्गलबार वीरेन्द्रनगरमा आयोजना गरेको औपचारिक कार्यक्रममा प्रमुख भारीले घोषणा गर्नुभयो । उक्त आयोजनाबाट तीन लाख ५४ हजार बासिन्दा लाभान्वित भएको उहाँले भनाइ छ ।

“आयोजनाअन्तर्गत महिला ६० र दलित, जनजाति २५ प्रतिशत सहभागी हुने लक्ष्य राखिएकोमा महिला ६४ र दलित, जनजाति ३१ प्रतिशत सहभागी भएका छन्,” प्रमुख भारीले भन्नुभयो, “५० हजार लक्ष्य रहेकोमा ५९ हजार ३३५ घरपरिवारले यसबाट लाभ उठाएका छन् ।” खास गरी तरकारीबाट यहाँका नागरिकले बढी लाभ लिएको उहाँको भनाइ छ ।

सो आयोजनाले स्याउ, बेसार, टिमुर, अदुवा, खसीबोका र तरकारीखेतीमा काम गरेको थियो । आयोजनाअन्तर्गत जुम्लामा रु सात करोड ८८ लाख ११ हजार, अछाममा रु दुई करोड २३ लाख ४३ हजार, दैलखमा रु सात करोड ५६ लाख ६१ हजार, जाजरकोटमा रु छ करोड १७ लाख ४५ हजार, कालीकोटमा रु सात करोड ३१ लाख ४१ हजार, सल्यानमा रु चार करोड ११ लाख ५५ हजार तथा सुर्खेतमा रु ३० करोड ६५ लाख ४५ हजार खर्च भएको भारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.