कोभिड–१९ रोकथाम गर्न उच्च सतर्कता छ : प्रदेश ५ सरकार

राँझा, ११ चैत : प्रदेश नं ५ सरकारका प्रवक्ता वैजनाथ चौधरीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले उच्च सतर्कता अपनाएको बताउनुभएको छ । बाँकेको खजुरास्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पताललाई आईसोलेशनका रुपमा स्थापना प्रक्रियाका लागि आयोजित बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले कोभिड–१९ को सङ्क्रमण हुन नदिन प्रदेश सरकार सँगसँगै प्रदेशवासी सबै जिम्मेवार रुपमा अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रदेश नं ५ सरकारले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, दाङको बेलझुण्डी आयुर्वेद अस्पताल, रुपन्देहीको भैरहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा स्थापना गर्ने निर्णय गरेको र त्यसको कार्यान्वयन गर्न सरकार लागिपरेको उहाँको भनाइ थियो ।

प्रदेश नं ५ सरकारले आइसोलेशन अस्पतालका रुपमा स्थापना गरेका अस्पताललाई रु दुई करोडका दरले रकम दिने निर्णय गरिसकेको मन्त्री चौधरीले जानकारी दिनुभयो । सुशील कोइराला अस्पताललाई आइसोलेशन अस्पताल बनाउने प्रक्रियाका लागि मन्त्री चौधरीको संयोजकत्वमा आज बसेको बैठकले आइसोलेशन अस्पतालको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने गरी विभिन्न निर्णय गरेको छ ।

बैठकले खजुरास्थित क्यान्सर अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा व्यवस्था मिलाउने गरी भेरी अस्पतालका प्रमुख डा प्रकाशबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय उपसमितिसमेत गठन गरेको छ भने कोरोना भाइरस नियन्त्रणका लागि बाँके जिल्लामा रहेका सरकारी, निजी तथा मेडिकल कलेज, नेपाली सेना र प्रहरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका साथै थप आवश्यकका लागि करार सेवामा लिन छोटो प्रक्रिया अपनाई खटनपटन गर्न प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा आठ सदस्यीय उपसमितिसमेत गठन गरेको छ ।

चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र अन्य कर्मचारीको खाना, बसोबास, यातायातलगायत अन्य भइपरी आउने व्यवस्थापनका लागि खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको छ ।

क्यान्सर अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा स्थापना गरिएपछि अस्पतालमा जाँच सेवालगायत दैनिक लिनुपर्ने क्यान्सरसम्बन्धी बिरामीलाई मिलिटरी हस्पिटल नेपालगञ्जलाई अनुरोध गरी सेवा सञ्चालन गर्ने निर्णय गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.