डेरी उद्योगमा आगलागी हुँदा ७० लाख बढीको क्षति

मङ्गलबारे, १ चैत्र : इलामको देउमाई नगरपालिका–४ स्थित मङ्गलबारे बजार नजिकै एक डेरी उद्योगमा आगलागी हुँदा रु ७० लाख माथिको क्षति भएको छ । मङ्गलबारे बजारको तल्लो बुधबारेमा रहेको गजुरमुखी दर्शन डेरी उद्योगमा आगलागी हुँदा सो क्षति भएको हो । आगलागीबाट दुध पेल्ने मेसिन, घ्यु, छुर्पी लगायतका सामान जलेर नष्ट हुँदा क्षति भएको वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो । आगलागी दिउँसो ३ः०० बजेदेखि शुरु भएको थियो ।

स्थानीय अशेष बुढाथोकीले सञ्चालन गर्नु भएको सो डेरी उद्योगमा आगलागी नियन्त्रण भइसकेको छ । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको स्थानीय प्रकाश खनालले बताउनुभयो । नगरपालिकामा दमकल नहुँदा इलाम नगरपालिकाको दमकल पठाइएको थियो । स्थानीय तहले दमकल खरिद गर्नुपर्ने स्थानीय खनालको माग छ । टाढाको दमकल लैजानुभन्दा नजिकै दमकल भई दिएको भए क्षति कम हुन सक्ने उहाँको भनाइ छ ।

उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । साथै प्रारम्भिक चरणको अनुमानबाट सो क्षति भएको बताइए पनि उद्योगका प्रोप्राइटर जिल्लाबाहिर रहेकाले एकीन विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.