दश सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा १५ घाइते
भक्तपुर, २३ फागुन : सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित सडकमा सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१–००३प ४६४७ काठमाडौँ वल्र्ड स्कूलको भ्यानका कारण एकै पटक १० वटा सवारीसाधन एकापसमा ठोक्किँदा १५ जना घाइते भएका छन् ।
भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पछाडि आउँदै गरेको बा.१६च.४३६१ नंको टाटा मोबाइल गाडीले ठक्कर दिई दुर्घटना हुँदा सो टाटा पछाडि आउँदै गरेको बा.४१प. ४४०९ नंको मोटरसाइकल, बा.३ख. ३३४९ नंको बस, प्रदेश ३बा. २८३६ नंको कार बा.७०प. ४४४५ नंको मोटरसाइकल, प्रदेश नं ३–०२–००७प. ९६६४ नंको स्कुटर, प्रदेश नं ३–०१–००३क. ४६४४ नंको भ्यान, प्रदेश नं ३–०१–००३क ४६४१ नंको भ्यान, प्रदेश नं ३–०२–०१०प ३७६३ नंको मोटरसाइकलसमेत गरी १० वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
घाइतेहरुको भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा अस्पतालमा उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।
मिनी ट्रक दुर्घटनामा चालक र सहचालकको मृत्यु
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सामा मिनी ट्रक दुर्घटना हुँदा गाडीका चालक र सहचालक दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार आज बेलुका मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सा भन्ने स्थानमा ठुल्दिबेँसीबगरबाट रामपुर ज्यादीतर्फ बालुवा लिई जाँदै गरेको बा.३.ख. ७१२१ नंको मिनी ट्रक दुर्घटना भएको हो ।
मिनी ट्रक सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा चालक मण्डनदेउपुर नगरपालिका–१२ बस्ने अन्दाजी २१ वर्षीय रोशन ठकुरी र सोही ठाउँका सहचालक अन्दाजी १६ वर्षीय दिलीप ठकुरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । मृतक दुवैको शवपरीक्षणका लागि बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
