पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

कणाली राजमार्गअन्तर्गत नाग्म गमगडी सडक खण्डको बुलबुले झाडनाउला खण्डमा जमेको हिउँ पन्छाउँदै सडक डिभिजनन कार्यालय जुम्लाको स्काभेटर । मुगु जिल्लालाई राष्टिय सडक सञ्जालमा जोडने यो सडक अवरुद्ध हुँदा व्यापारी, स्थानीयवासीले सास्ती भोग्दै आएका छन भने विकास निमार्णले गति लिन सकेका छैनन । तस्वीर: नृपेन्द्र बहादुर मल्ल

काठमाडौँ, ८ फागुन : पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यून चापीय प्रणालीको प्रभावले देशभरि बदली रही पहाडी भूभागका एक–दुई स्थान र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । मौसमविद्का अनुसार उक्त वायुको प्रभावले देशका धेरैजसो स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उपत्यकामा आज केही समय घाम लागे पनि मध्याह्नबाट बदली भई वर्षा हुने बताइएको छ ।

उपत्यकामै पनि कुनै ठाउँमा वर्षा हुने कुनै ठाउँमा नहुने बताइएको छ । पश्चिमी वायुको प्रभाव शनिबारबाट विस्तारै कम हुँदै गए पनि तुवाँलो भने यथावत रहने छ । तुवाँलो ह्टनका लागि भारी वर्षा हुनुपर्छ र हावाको गति पनि बढ्नुपर्छ । “तत्काललाई भारी वर्षाको सम्भावना भने छैन”, मौसमविद् कँडेलले भन्नुभयो ।

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्वी भूभागका केही स्थानमा हल्का वर्षा र पश्चिमी तथा मध्यम क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थान र पश्चिमी पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नौ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २० दशमलव दुई डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव एक डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.