परराष्ट्र नीति राष्ट्रिय स्वार्थ प्रवद्र्धनमा केन्द्रित हुनु पर्ने

काठमाडौँ, ४ फागुन : उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एव अमेरिकाका लागि पूर्वनेपाली राजदूत शङ्कर शर्मालाई सम्मान गर्नुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७२औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित विशेष समारोहमा उपराष्ट्रपतिले उहाँलाई सम्मान गर्नुभएको हो ।
नेपालको आर्थिक, सामाजिक एवं कूटनीतिक उन्नयनका लागि श्री शर्माले गर्नुभएको योगदानको कदर गर्दै परिषद्ले उहाँलाई सम्मान गरेको हो । सोही समारोहमा उपराष्ट्रपति र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परिषद्को वार्षिक प्रकाशनको संयुक्तरूपमा विमोचन गर्नुभयो ।
कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालको परराष्ट्र नीति, छिमेकी देशहरुसँगको सम्बन्ध, शान्ति, विकास र राष्ट्रिय सुरक्षा, मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्टिय स्वार्थ र नेपाली जनताको हित प्रवद्र्धन, आर्थिक समृद्धिमा केन्द्रित रहेर सरकारले काम गरिरहेको बताउनुभयो ।
राष्ट्रिय हितका कार्य मुलुकको परराष्ट्र नीतिका मुख्य उद्देश्य भएका स्पष्ट गर्दै उहाँले नेपालको संविधानअनुसार राष्ट्रले स्वतन्त्र परराष्ट्र नीति अङ्गीकार गरेको, संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका मूल्यमान्यताको परिपालना गरेर परराष्ट्र सम्बन्ध सञ्चालन भइरहेको बताउनुभयो ।
“समयको कसीमा प्रमाणित यी निर्देशक सिद्धान्त हाम्रो बाह्य सम्बन्ध सञ्चालनका आधार हुन्, अन्तर्राष्ट्रिय चासोका विषयमा हाम्रो स्वतन्त्र अभिमत रहन्छ, गुणका आधारमा कुनै पनि मामिलामा हामी अभिमत जाहेर गर्छांै, विश्व शान्तिमा योगदान गर्ने र संसारका सबै देशसँग मित्रता कायम गर्ने हाम्रो चाहना हो”, परराष्ट्रमन्त्रीले भन्नुभयो ।
न्याय, सार्वभौमिक समानता र पारस्परिक सम्मानका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने नेपालको मान्यता दोहो¥याउँदै उहाँले खुला, प्रगतिशील र लोकतान्त्रिक राष्ट्र नेपालको छवि बाह्य जगत्मा उजिल्याउने राष्ट्रिय नीति सुनाउनुभयो ।
नेपालले भारत र चीनसँग मैत्रीपूर्ण एवं सहयोगात्मक सम्बन्ध कायम गर्दै आएको, राजनीतिक, आर्थिक, सांस्कृतिक, व्यापार वाणिज्य, लगानी तथा जनताजनता बीचको सम्बन्धमा उल्लेख्य बढोत्तरी भएको, नियमितरूपमा हुने उच्चस्तरीय भ्रमणले सहयोगको भावना अभिवृद्धिका साथै आपसी सम्बन्धलाई अझ प्रगाढ पारेको मन्त्री ज्ञवालीले बताउनुभयो ।
दुवै छिमेकी देशका जायज चासोप्रति नेपाल संवेदनशील रहेको र नेपाली भूमि उनीहरुका विरुद्ध उपयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले छिमेकीबाट पनि नेपालले त्यस्तै समझदारीको अपेक्षा गरेको बताउनुभयो ।
भारत र चीनबाट भएका उच्चस्तरका भ्रमण र नेपालबाट पनि ती देशमा शीर्ष राजनीतिक तहमा भएका भ्रमणले ती मुलुकसँगको नेपालको सम्बन्ध सुदृढ भएको बताउँदै उहाँले कालापानीसम्बन्धी मुद्दा निरुपण गर्न भारतसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिनुभयो । “कूटनीतिक माध्यमबाट उक्त समस्या हल गर्न बैठक गरिने र दुवै पक्षलाई उपयुक्त हुने मिति शीघ्र निर्धारण हुने हाम्रो अपेक्षा छ”, उहाँले भन्नुभयो ।
चीन र भारतसँगका नेपालका बहुआयमिक सम्बन्धको परिचर्चा पनि मन्त्री ज्ञवालीले गर्नाका साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अध्यक्षका हैसितले नेपालले अवरुद्ध सार्क प्रक्रियालाई गति दिन भरमग्दुर प्रयास गरेको, आर्थिक सहयोग, सम्पर्क सञ्जाल विस्तार र समृद्धि हासिल गर्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)मा नेपालले सक्रियतापूर्वक काम गरिरहेको, एशियन कोअपरेशन डाइलग र शाङ्घाई कोअपरेशन अर्गनाइजेशनमा पनि नेपालले आफ्नो भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
कार्यक्रममा परिषद्का अध्यक्ष हेमन्त खरेल, सचिव भुवन पाठक र उपाध्यक्ष उमेशबहादुर मल्लले परिषद्का गतिविधि, देशको परराष्ट्र नीति निर्माणमा परिषद्ले गरेका योगदान, कूटनीतिक फाँटमा गरेका अध्ययनअनुसन्धानबारे जानकारी दिनुभएको थियो ।
