“बुद्ध शान्ति पदक प्रथम” भिक्षु नावातामेलाई प्रदान

भरत केसी । बुटवल, ३ फागुन : प्रदेश नं ५ सरकारले गत असोज ३ गते प्रदेशका विभिन्न ११ विधामा ३५ जनालाई प्रदेश पदक दिने घोषणा ग¥यो । सबैभन्दा महत्वपूर्ण पदक पाउने एक जना विदेशी नागरिक घोषित भए । जापानी नागरिक युताका नामातामेलाई प्रदेश सरकारले स्थापना गरेको प्रथम पदक बुद्ध शान्ति पदक प्रथम प्रदान गर्ने सरकारले घोषणा गरेको थियो ।
प्रदेश स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित विशेष समारोहमा अन्य पदकसँगै बुद्ध शान्ति पदक प्रथमबाट नामातामेलाई (मरणोपरान्त) उहाँका धर्म भाई भिक्षु तसुमा सातोलाई प्रदान गरियो । यो घोषणासँगै नावातामे को हुन् भन्ने धेरैलाई जिज्ञासा थियो । प्रदेश सरकारले स्थापना दिवसका अवसरमा प्रदान गरेको बुद्ध शान्ति पदक प्रथमबाट विभूषित स्वर्गीय युताका नामातामे सन् १९५२ अगस्ट ७ मा जापानको इवालागीमा जन्मनुभएको हो । नावातामे सन् १९९३ मा लुम्बिनीमा शान्ति स्तूप बनाउने र यही बस्ने गरी नेपाल आउनुभयो ।
सन् १९९३ नोभेम्बर ३० मा शान्ति स्तूपको शिलान्यास भएको थियो । शान्तिस्तूप निर्माण गर्न सक्रिय ४५ वर्षीय नावातामेको सन् १९९७ जुलाई ३ को राति सुतिरहेका बेला लुम्बिनीमा हत्या भयो । भिक्षु नामातामेले निर्माण थालेको लुम्बिनी शान्ति स्तूप अहिले पनि सबैका लागि आर्कषक स्तूप भएको छ ।
लुम्बिनीको पर्यटन प्रवद्र्धन तथा सुन्दरताका लागि शान्तिस्तूपा महत्वपूर्ण मानिन्छ । मायादेवी मन्दिर र शान्तिस्तुपाको सिधा रहेकाले पनि यसको सुन्दरता अझै बढेको मानिन्छ । मायादेवी मन्दिरबाट शान्तिस्तूपालाई केन्द्रमा राखेर हेर्दा सुन्दर हिमाल देख्न सकिन्छ ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई माया गरेर शान्ति स्तूप निर्माण गर्न सक्रिय रहँदै गर्दा आपराधिक समूहबाट जीवन समाप्त पारिनुभएका नामातामेलाई प्रदेश सरकारले दोस्रो स्थापना दिवसका अवसरमा बुद्ध शान्ति पदक प्रथमबाट विभूषित गरेको छ । मरणोप्रान्त बुद्धशान्ति पदकबाट विभूषित नामातामेको पदक उहाँका उत्तराधिकारीका रुपमा शान्ति स्तूपमा रहनुभएका धर्म भाइ भिक्षु सातोले हत्याको २३ वर्षपछि नामातामेलाई गरेको सम्मानले बौद्ध समुदायलाई मात्रै नभई विश्व शान्ति अभियानमा लागेका सबैप्रति सम्मान भएको महसुस भएको बताउनुभयो ।
