पाँचसय विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति 

काठमाडौँ, ३ फागुन : पाकिस्तानी राजदूतावासद्वारा देशका विभिन्न उच्च माध्यमिक विद्यालयमा दशजोड दुई अध्ययन गरीरहेका ५०० विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स्’ प्रदान गरिएको छ ।

सन् २०१३ देखि यहाँस्थित पाकिस्तानी राजदूतावासले जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गर्दै आएको पाकिस्तानी राजदूत छात्रवृत्ति आज राजधानीमा आयोजित एक कार्यक्रममा जेहेन्दार छात्रछात्रलाई जनही रु. १० हजार वितरण गरिएको छ ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शैक्षिक विकासमा पाकिस्तानले निरन्तर सहयोग गर्दै आएकामा त्यसको सराहना गर्नुभयो । नेपाल र पाकिस्तानबीच सरकारीस्तरमा सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उहाँले दुई देशबीचको जनस्तरको सम्बन्धलाई छात्रवृत्तिलगायत यस्ता कार्यक्रमले अझ प्रगाढ तुल्याउने बताउनुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले नेपालको विकासका संवाहक युवा वर्ग भएका र तिनलाई शैक्षिक रुपमा सबल बनाउन आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै छात्रवृत्तिको सङ्ख्या बढाउने जानकारी दिनुभयो ।

नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष हिमालय शम्शेर जवराले नेपालका युवा तथा विद्यार्थीलाई थोरै भएपनि छात्रवृत्ति उपलब्ध गराएर पाकिस्तानले नेपालसँगको सम्बन्धलाई अझ नजिक ल्याएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.