‘पोखरेली जेठोबूढो’ प्रवद्र्धन गर्न कृषकलाई सहयोग
चिप्लेढुङ्गा, २७ माघ : पोखराको पहिचानका रूपमा रहेको बास्नादार धान प्रवद्र्धन गर्ने नीतिअनुरूप पोखरा महानगरपालिकाले धान उत्पादक किसानलाई सहयोग गरेको छ । महानगरले प्रतिरोपनी ५० केजी उत्पादन गर्ने किसानलाई प्रतिरोपनी ९० रुपैयाँका दरले आर्थिक सहयोग गरेको हो ।
महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्थानीय किसानलाई सहयोग गर्दा खेतीयोग्य जग्गाको सदुपयोग हुने र स्थानीय बालीको प्रवद्र्धन हुने बताउनुभयो । उहाँले आगामी दिनमा स्थानीय सरकारले किसानको उत्पादनको बजार ‘ग्यारेन्टी’ लिने र गुणस्तरका आधारमा ब्रान्डिङ गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्न सकिनेमा जोड दिनुभयो ।
कार्यक्रममा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बास्नादार धानको उत्पादनमा आधारित सहयोग कार्यक्रमबाट किसानलाई सहयोग गरिएको बताउनुभयो । उहाँले गत असोज २९ गतेदेखि कात्तिक २८ गतेसम्म निवेदन लिइएको र निवेदनका आधारमा बाली कटानी प्रतिवेदन तथा उत्पादनका आधारमा तथा सम्बन्धित वडाको सिफारिसमा किसानलाई सहयोग गरिएको बताउनुभयो ।
उहाँले पोखराभित्र ११ हजार २०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको जानकारी दिनुभयो । मुख्य फाँटमा ‘पोखरेली जेठोबूढो’ रोप्ने गरिएकामा केही वर्षदेखि वर्णशङ्कर धान पनि भित्रिएकाले बास्नादार धानको संरक्षण गर्न महानगर लागिपरेको उहाँको भनाइ थियो ।
वर्णशङ्कर धानको बीउमा परनिर्भर बन्नुपर्ने, बाला नलाग्ने, रोग किरा बढी लाग्ने, रासायनिक मल विषादीको प्रयोग बढी हुने कारणले थोरै क्षेत्रफलमा खेती गर्न उपयुक्त नभएकाले स्थानीय धान मीठो भएकोे, अत्यधिक माग, दिगो उत्पादन हुने र यहाँको हावापानी सुहाउँदो भएकाले यो जातको धानको प्रवद्र्धन गर्न आवश्यक भएकाले प्रवद्र्धन नीति ल्याएको उहाँले बताउनुभयो ।
महानगरका विभिन्न वडाका समूह, सहकारी तथा फार्म गरी जम्मा ९९ वटा निवेदन परेको र एक हजार ८२९ रोपनी क्षेत्रफलमा प्रतिरोपनी ५० केजी उत्पादन गर्ने किसानका लागि रु ९० का दरले आर्थिक सहयोग उपलब्ध गराइएको उहाँले बताउनुभयो । उत्पादकत्व वृद्धिको आधारमा थपिँदै जाने गरी कूल पाँच लाख ६० हजार ४३० रुपैयाँ वितरण गरिएको थियो ।
कार्यक्रममा किसान धर्म पौडेल र टेकनाथ बरालले कृषियोग्य भूमि छुट्याउनुपर्ने, गुणस्तरीय बीउको सुनिश्चितता हुनुपर्ने, बजारको ग्यारेन्टी, हाल आएर बास्ना कम आउँदै गएका बारेमा सरोकारवालाले सोच्नुपर्ने, माटो सुधार, प्राविधिकको व्यवस्था विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा लिबर्डका कार्यक्रम अधिकृत इन्द्र पौडेलले पोखराको फेवा, बिरुवा, अर्बा, अर्घौ, खास्टे, सिसुवालगायतका फाँटमा ३३८ जातका जेठोबूढो सङ्कलन गरी तिनै जातबाट छनोट गरी पोखरेली जेठोबूढो धान २०६३ सालमा नेपाल सरकारबाट पोखरा आसपासका क्षेत्रमा सिफारिस गरिएको जानकारी दिनुभयो । कार्यक्रममा कृषि ज्ञान केन्द्रका अधिकृत विष्णुराज ओझाले पकेट ब्लकमार्फत यो धान व्यावसायीकरण गर्न सकिने बताउनुभयो ।
