भोगाई : रातो रगतको कालो कथा

महेश्वर श्रेष्ठ

महेश्वर श्रेष्ठ । तिन हप्ता अघि नै मेरो मुटुको अपरेशन २०६९ असार २६ गरिने तय भए पछि म र मेरो परिवारलाई बिभिन्न किसिमका गरी झण्डै २० पाइन्ट रगत कसरी संकलन गर्ने भन्ने समस्याले पिरोल्न थाल्यो । शुरुमा इन्टरनेटमा सर्च गरी रक्तदाताहरुको विभिन्न संघसंस्थाहरु पत्ता लगाएं । शुरुमा तिनका पदाधिकारीहरुले फोनमा रेस्पोन्स गरे पनि बुझेर पछि खबर गर्छु भन्नेहरुले पछि कहिल्यै सम्पर्क त गरेनन् नै मैले धेरै पटक सम्पर्क राख्ने प्रयास गर्दा फोन नै उठाएनन् । यसबाट ती संस्था र पदाधिकारीहरु रक्तदान गरेको भनी हल्ला मात्र गर्ने तर कसैले रगत चाहियो भनेर गुहार मागे पुच्छर लुकाएर भाग्दा रहेछन् भनेर बुझियो । त्यस पछि मैले आफन्त नातेदार र नजिकका शुभचिन्तक एवं साथीहरुको रक्तदान र उनीहरुकै दौडधुप भनसुनबाट संकलित रगतबाट मेरो मुटुको अपरेशन सफलतासाथ सम्पन्न भयो । त्यसका लागि चिकित्सक नर्सहरु लगायत उहांहरु सबै प्रति यो पंक्तिकार हार्दिक आभारी रहने छ र उहांहरु बाहेकका अज्ञात रक्तदाताहरु प्रति जीवन भर ऋणि रहने छ ।

 

त्यस अघि खासै गंभीर चासो नलिने मैले त्यस पछि रक्तदानको महत्वलाई बुझेर आफै रक्तदान गर्न प्रेरित भएं । तर उमेर र रक्तचाप नमिलेको कारण रक्तदाता बन्न योग्य नभए पनि परिवारका केहि सदस्य, नातेदार र नजिकका साथीहरुलाई क्याजुअल रक्तदाता बन्न प्रेरित गर्न भने सफल भएं । यसै क्रममा एक जना भाईलाई रक्तदानको महत्व र आवश्यकता बारे बुझाउन प्रयास गर्दा उनले मलाई रक्तदानलाई गंभीर रुपमा नलिन र आफुलाई रगत चाहिएको बेला पहिले जस्तै आफन्त नातेदार र साथीभाईहरुको सहयोग लिनु नै उचित हुने सल्लाह दिंदै चिनेको र पहुंच पुगेको मान्छे नभएको निमुखाले आवश्यक परेको बेला रगत पाउन नसक्ने भए पछि किन रक्तदान गर्ने भनेर उल्टै मलाई प्रश्न तेर्स्याए र यो पनि थपे “दाई यहां रगतको व्यापार हुन्छ । रक्तदाताले सित्तै दान गरेको रगत पैसा तिरेर किन्न पर्नु नै व्यापार हो कि होइन ? पैसाको लागि यहां संकलन गरिएको निशुल्क रगत विदेश निर्यात हुन्छ, युद्धग्रस्त देशहरु ईराक, सिरिया, अफगानिस्तान पुग्छन् । त्यसैले त यहां संधै रगतको अभाव हुन्छ ।“

 

त्यस भाईको कुरा सुनेर म एक छिन अवाक र स्तब्ध रहें र रगत चाहिएको बेला भोगेका पुराना घटनाहरु सम्झन थालें । २०४७ सालमा मेरो श्रीमतीको ओभारियन सिस्टको अपरेशन गर्न दुई पाइन्ट रगत चाहिएको थियो । भृकुटीमण्डप स्थित नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित रक्त संचार केन्द्रबाट रगत नपाए पछि एउटा विद्यार्थी संगठनले उसैको खाताबाट दिने गरी गरेको सिफारिस पत्र बोकेर जांदा त्यही केन्द्रबाट चाहेको रगत पाउन सकें । २०५७ सालमा मेरो श्रीमतीको ब्रेष्ट क्यान्सरको अपरेशन गर्न बिपी कोइराला क्यान्सर अस्पताल भरतपुर पुगेको थिएं । त्यसको लागि दुई पाइन्ट रगत चाहिएको थियो । भरतपुर जिल्ला अस्पताल स्थित त्यहांको रेडक्रस सोसाइटीमा रगत माग्न जांदा रगतको थोपो नै छैन भनेर फर्काइदिए । हतास भएर भरतपुरमै घर भएको टाढाको ज्वाई पर्ने आफन्तलाई र टाडाको परिचित जिल्ला प्रहरी प्रमुखलाई समस्या बारे अवगत गराएं । प्रहरी प्रमुखको एक फोन कल र ज्वाईंको सक्रियताले आवश्यक रगत प्राप्त भयो र ठुलो टेन्सनबाट मुक्त भइयो ।

 

यी घटनाहरुबाट रगत लिने ठाउंमा चिनेको मान्छे नभएमा र पहुंचवाला व्यक्तिहरुको प्रभाव बिना रगतको आवश्यकता परेको बेला रगत पाउन मुस्किल हुन्छ भन्ने माथि उल्लेखित भाईको भनाईलाई राम्रैसित पुष्टि गर्दछ । यो कटु सत्य हो तर यो संसारमा अंधकार र नकारात्मक कुरा मात्र छैनन्, त्यहां उज्याला पक्षहरु र चम्किला ताराहरु पनि छन् भन्ने कुरा निम्न घटनाहरुले सुखद अनुभव गराइदएइका छन् । आत्मबल निकै बलियो भए पनि पटक पटक गंभीर रोगहरुको आक्रमण झेल्दै र समाना गर्दै आएकी मेरो श्रीमतीलाई २०७० सालमा आङ खस्ने रोगको उपचारार्थ फेरि पाठेघरको अपरेशन गर्नु पर्ने भयो । गोजीमा पैसा मात्र हुनु पर्छ हामी राजधानीवासीलाई हस्पिटल, डाक्टर नर्सको सेवा र चाहेको औषधि जुनसुकै बेला उपलब्ध छन् । तर रगत अभावको समस्या संधैको जस्तै त्यस बेला पनि ज्युंका तिउं कायम थियो । रगतको लागि आफन्त र साथीहरुसंग धेरै पटक सहयोग लिंदा लिंदा निकै लज्जित र दिक्क भइरहेको बेला एक जना साथीले प्रेम सागर कर्माचार्य नामको रक्तदाताको नाम र फोन नम्बर टिपाइदियो । रक्तदाता भनिएको व्यक्ति प्रेम सागर कर्माचार्यलाई सम्पर्क गरेर काम बन्ने हो कि होइन ? सम्पर्क भए पनि पहिले अरु रक्तदाता भनिनेहरुले गरे जस्तै उनले पनि पछिबाट फोन नै नउठाउने पो हो कि ? तर सम्पर्क नै नगरिकन कसरी काम बन्छ वा बन्दैन भनेर शंका गर्ने ? भन्ने मनमा अविश्वास र आशंकाको खिचडी पकाउंदै फोन गर्दा उनीसंग सम्पर्क भयो र उनले त्यति नै बेला “रगतको लागि चिन्ता लिनु पर्दैन । अपरेशन हुने दिन हस्पिटलको कागजात लिएर बिहान ६ बजे नेपाल रेडक्रस सोसाइटीको रक्त संचार केन्द्र भृकुटी मण्डपमा आउनु होला” भनेर फोन राखिदिए । यसरी सजिलै रगत पाउने आश्वासन पाए पनि विश्वास भने जाग्न सकेको थिएन । त्यसैले अरु नातेदार र साथीहरुलाई पनि रगत खोजेर ल्याउने काममा सहयोग गर्न स्टाण्डबाईमा राखें ।

 

२०७६ साल कार्तिक २० गते मेरो श्रीमतीको अपरेशन हुने दिन बिहान ६ बज्नु अघि झिसमिसेमै नेपाल रेडक्रस सोसाइटीको रक्त संचार केन्द्र भृकटी मण्डप पुगेर प्रेम सागर कर्माचार्यलाई मोबाईल फोनबाट सम्पर्क गर्ने क्रममा २-३ रिङ मात्र गएको थियो नजिकै होचो पर्खालमा बसिरहेको, झ्याप्प दार्‍ही पालेको, कालोकालो वर्णको एकजना अग्लो व्यक्तिले “तपाईले खोजेको प्रेम सागर कर्माचार्य म यहां छु” भनेर हांस्दै म उभिएको ठाउं तिर आएर हात मिलाए । उनी त म भन्दा अघि नै त्यहां पुगेर मलाई पर्खेर बसिरहेका रहेछन् । उनलाई देखेर र उनको सहयोगी एवं हंसिलो सेवाभावबाट म निकै प्रभावित भएं । उनले “अहिले रगत लगेर पहिले आफ्नो काम सक्याउनुस्, थप रगत चाहिए निसंकोच खबर गर्नुस् । हामी सम्पर्कमै रहौंला र भेटघाट पनि गर्दै गरौंला” भनेर आवश्यक रगत मेरो हातमा थमाएर आफ्नो बाटो लागे, म उनी प्रति आभार प्रकट गर्दै नेपाल मेडिकल कलेज जोरपाटी तर्फ हुइकिएं । वरिष्ठ सर्जन डा. विणारानी श्रीववास्तवको अनुभवी हातबाट मेरो श्रीमतीको सल्यक्रिया सफलतासाथ सम्पन्न भयो र अहिले उनी स्वस्थ भएर मेरो जीवनलाई साथ दिइरहेकी छिन् ।

 

त्यसको केहि महिना पछि प्रेम सागर कर्माचार्यजी मलाई भेट्न मेरो घर खोज्दै आउनु भयो । रगत जस्तो दुर्लभ वस्तु चाहिएको आपतको बेलामा सहयोग गर्ने उहांलाई माथि कोठामा बोलाएर विशेष सत्कार गर्न चाहेको थिएं तर उहांले निकै व्यस्त छु भन्दै आफ्नो संस्थाको एउटा कार्यक्रममा आउन भनी निमन्त्रणा-कार्ड थमाएर जानु भयो । निमन्त्रणा कार्ड भित्रको व्यहोरा पढे पछि थाहा भयो उहां आफै त्यस संस्था अर्थात “नेपाल स्वयंसेवी रक्तदाता समाज” को अध्यक्ष र नेपालमै सबभन्दा बढी रक्तदान गर्ने थोरै व्यक्ति मध्ये एक हुनुहुंदो रहेछ । उहांको त्यो सादगी र सहयोगी भावना अनि आफै काममा खट्ने, लागि पर्ने सक्रियतालाई मनमनै नमन गर्दै तोकिएको दिन काठमाडौं लाजिम्पाट स्थित होटेल शंकरमा आयोजित समाजको कार्यक्रममा उपस्थित हुन पुगें जहां विदेशका स्वयंसेवी रक्तदाता समाज र व्यक्तिहरुको पनि सहभागिता थियो ।

 

मैले उहां र उहांको संस्थालाई कुनै किसिमको भौतिक आर्थिक सहयोग गरेको छैन । एक पटक केहि रुपिया समाजलाई चन्दा दिन खोज्दा यसरी पीडित परिवारबाट पैसा लिन लाग्यौं भने हामी समाजसेवी होइन चन्दाको पछि लाग्ने नगदसेवी बन्छौं भनेर लिनै मान्नु भएन । तैपनि हामीमा के विशेषता छ खै कुन्नी उहांको संस्थाले काठमाडौंमा आयोजना गर्ने कुनै पनि कार्यक्रममा हामीलाई बोलाउन छुटाउनु हुन्न । त्यसले गर्दा उहां र उहांको संस्था प्रति मेरो सिंगो परिवारको अनुग्रह र उच्च श्रद्धाभाव रहंदै आएको छ ।

 

नेपाल स्वयंसेवी रक्तदाता समाजका कार्यक्रमहरुमा सहभागी हुन जांदा यस्ता कुरा पनि थाहा भयो कि (१) रक्तदाताले सित्तै दानमा दिएको रगत रक्त संचार केन्द्र संचालन गर्ने सरकार र रेडक्रस सोसाइटीले पैसा लिएर बेच्छन्, (२) आपतकालीन जगेडाको नाममा चिकित्सकहरुले आवश्यक भन्दा बढी रगत मगाउंछन्, त्यसले पनि रगतको अनुपयोग र अभाव सिर्जना गरिरहेको छ, (३) पैसा तिरेर ल्याएको रगत उपयोग नभई बिरामीले छोडेर गएको रगतलाई अस्पतालहरु फेरी पैसा लिएर अरुलाई बेच्छन्, (४) निमुखा सर्वसाधारणहरु रगत नपाएर छटपटाइरहे पनि रक्त संचार केन्द्रहरु र तिनका कर्मचारीहरुले भिआइपी र आफन्तको लागि भनेर रगतहरु लुकाएर राख्छन् र म्याद गुजारेर त्यतिकै खेर फाल्ने गर्छन् । नेपाल स्वयंसेवी रक्तदाता समाजले यस्ता अक्षम्य विकृति विसंगती विरुद्ध पनि सशक्त विरोधका आवाज उठाउंदै आइरहेको रहेछ भन्ने पनि थाहा भयो । हुन पनि जनताको स्वास्थ्यको सम्पूर्ण दायित्व राज्यले लिनु पर्ने वर्तमान युगमा त्यसको विपरित सित्तै पाएको रगतको व्यापार र घोटाला समेत गरिरहेको पाइनु नेपाली जनताको लागि ठूलो विडम्बना र दुर्भाग्यको कुरा हो ।

 

अन्न फलफूललाई कुहाएर सडाएर जांड रक्सी बनाउन दुरुपयोग गर्छन् भन्दैमा किसानले खाद्यान्न र फलफूल खेती गर्न छोड्ने कुरा आउंदैन । डाक्टरले उपचार गर्दा सज्जन हो कि अपराधी हो भनेर पहिचान गर्दैन । त्यसै गरी रकदाताले दान गरेको रगत पनि कस्तो व्यक्तिले उपयोग गर्छ भन्ने हेर्दैन र थाहा पाउन पनि सक्दैन । दुरुपयोग हुन्छ भनेर रक्तदान गर्न छोड्दैनन् । त्यसैले स्वयंसेवी रक्तदाताहरुले गर्ने मानव सेवा जीवन दायिनी मात्र होइन निशुल्क र निस्वार्थ पनि छ । उनीहरुले मानव जीवनलाई पुर्‍याइरहेको सेवाको जति प्रशंसा गरे पनि कमै हुन्छ । नेपाल स्वयंसेवी रक्तदाता समाज, यसका सम्पूर्ण पदाधीकारी एवं सदस्यहरु र यस समाजमा आवद्ध नभएका अन्य रक्तदाताहरु समेत यस पुनीत मानव सेवामा निरन्तर लागिरहन सकून्, युवाहरुलाई “रक्तदान महादान जीवन दान, रक्तदान गरी गरौं जीवन दान” भन्ने सन्देशले अभिप्रेरित गरिरहन सकोस् भन्ने कामना सहित सबैलाई १४औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको सुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रस्तुत विचारहरु लेखकका नीजि भोगाई हुन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.