पूर्व सांसद कार्कीको निधन
सुशीला रेग्मी (पाल्पा), १२ माघ : पाल्पाका पूर्व सांसद तथा नेपाली कांग्रेसका पूर्व सभापति गम्भीरजंग कार्कीको निधन भएको छ ।
मृगौला फेल भएपछि काठमाण्डौँमा डायलायसिस गराइरहनुभएका कार्कीको गएराती २ वजे ७६ वर्षको उमेरमा निधन भएको हो । आज दिउसो २ बजेदेखि ३ बजेसम्म पार्टीका शिर्ष नेताको उपस्थितिमा पशुपति आर्यघाटमा श्रद्वाञ्जली कार्यक्रम गरेर कार्कीको अन्त्येष्टि गरिने पाल्पा काठमाण्डौँ सम्पर्क समितिका सचिव अमृत अधिकारीले जानकारी दिनुभयो ।
पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मनुभएका कार्की लामो समय देखि मृगौला रोगबाट पिडित हुनुहुन्थ्यो । विसं २०४८ सालमा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने २०५१ देखि २०५६ सालसम्म काँग्रेस पाल्पाको जिल्ला सभापति रहेर काम गर्नुभयो । त्यस अघि उहाँ राष्ट्रिय पंचायत सदस्यमा पनि निर्वाचित हुनुभएको थियो ।
२०४६ सालको आन्दोलन अगाडी पंचायत सदस्य भएर पनि संसदमा प्रजातान्त्रिक आन्दोलनको पक्षमा आवाज उठाउने नेताको रुपमा उहाँ चर्चित व्यक्ति हुनुहुन्थ्यो । कार्कीको निधनले पार्टीमा अतुलनिय क्षति पुगेको कांग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरेले बताउनुभयो ।
