कृषिमा सुनौलो भविष्य बुन्दै रामपुरका पोखरेल दम्पत्ति, कृषिबाटै पाँच सन्तानलाई उचित शिक्षा

सुशीला रेग्मी । बेझाड, २६ पुस : समाजमा कृषिप्रतिको अनिच्छा बढ्दै गएका अवस्थामा यहाँका एक दम्पतीको कृषिप्रतिको लगाव भने अरुका लागि पनि अनुकरणीय बनेको छ । कृषिकै माध्यमबाट रामपुर नगरपालिका–६ तालपोखराका ६४ वर्षीय कृषक दुल्लभ पोखरेल र उहाँकी ५८ वर्षीया श्रीमती डिल्लीमाया पोखरेलले वर्तमान त सपार्नुभएको त नै भविष्यका लागि पनि सुनौला सपना सजाउनुभएको छ । छोराछोरी पढाउनका लागि अन्य कुनै रोजगारी, व्यवसाय, उद्योगधन्दा नै गर्नुपर्छ भन्ने पनि छैन भन्ने दरिलो प्रमाण बनेको यो दम्पती ।

पोखरेल दम्पती कृषि व्यवसायबाटै पाँच सन्तानलाई स्नातकोत्तर तहसम्मको शिक्षा पूरा गराउन सफल भएको छ । परिवारका पाँचै सन्तानले बुबाआमाले लगानी गरेअनुसार राम्रो शिक्षा आर्जन गरेकोमा उहाँका आफन्त, छिमेकी पनि दङ्ग छन् । पाँच जना सन्तानलाई चल सम्पत्ति नहुँदा हुर्काउन र पढाउन निकै कष्ट थियो । छोराछोरीको उचित भविष्यका लागि उहाँहरूले जीवनमा ठूलो सङ्घर्ष गर्नुभयो । आफूहरूको मेहनत र दुःखअनुसार नै छोराछोरीले लगनशील भएर पढेकोमा पोखरेल दम्पतीमा हर्ष छाएको छ ।

उहाँहरूले विसं २०५६ मा आयस्रोतका निम्ति काँक्रा खेतीबाट व्यवसाय शुरु गर्नुभएको हो । काँक्राबाट नसोचेको आम्दानी भएपछि व्यवसायलाई बर्सेनि थप गर्दै जानुभयो । आजभन्दा भोलि व्यवसायबाट मनग्य आम्दानी हुने र तरकारी बेचेर हातमा दाम पर्न थालेपछि उहाँहरूमा अझै हौसला बढ्यो । छोराछोरीको उज्ज्वल भविष्यका लागि रामपुरदेखि बाहिर शहर बजारमा पढाउन थाल्नुभयो । कृषिबाटै छोराछोरीको पढाइ खर्च पूरा गर्नुभयो । परिवारको पालनपोषण, पठनपाठन रामै चलेको छ नै उहाँहरू अरुका लागि पनि उदाहरणीय बन्नुभएको छ ।

कम्तीमा पाँच रोपनी र बढीमा दश रोपनीमा तरकारी खेती निरन्तर गर्नुहुन्छ । तरकारी खेतीसँगै बाख्रापालन, भैँसीपालन, केरा व्यवसाय पनि अँगाल्नुभएको छ । उहाँको घरमा अहिले १९ वटा बाख्रा, दुई वटा भैँसी छन् । केराखेतीबाट राम्रै आम्दानी हुने भएपछि एक रोपनीमा केरा लगाउनुभएको छ । सबै व्यवसायबाट वर्षमा करिब रु चार लाखसम्म आम्दानी गर्न सफल हुनुभएको छ । छोराछोरीले बुबाआमाले गरेको दुःख सम्झेर गरेको शैक्षिक सफलताले खुशी लागेको दुल्लभ पोखरेल बताउनुहुन्छ ।

“दुःख गरेर छोराछोरीका लागि कृषि पेशा गरी त्यसैबाट लगानी गरेअनुसार नै उनीहरुले राम्रो शिक्षा आर्जन गरे, जागीर पनि शुरु गरिसकेका छन्”, उहाँले भन्नुभयो, “अहिले यो देख्दा हिजोको दुःखका दिन आज बिर्सिएको छु ।” पाँच सन्तानमध्ये जेठी छोरी सिर्जना पराजुलीले नेपाली विषयमा स्नातकोत्तर तह सकेर जागीर गर्दै हुनुहुन्छ भने जेठो छोरा कुश्माखरले अङ्ग्रेजी विषयमा एमफिल सकाएर हाल पाल्पा सदरमुकाम तानसेनस्थित जनता माध्यमिक विद्यालय र तानसेन बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आउनुभएको छ ।

माइली छोरी सरिता गणित विषयमा स्नातकोत्तर तह उत्तीर्ण सकाएर अहिले तनहुँको भिमाद नगरपालिकास्थित धर्म माविमा प्रावि स्थायी दरबन्दीमा कार्यरत हुनुहुन्छ । कान्छो छोरा सुमन विज्ञान विषयमा स्नातकोत्तर तह सकाएर हाल काठमाडौँ केएमसी कलेजमा अध्यापन गर्नुहुन्छ । त्यस्तै कान्छी छोरी सविता व्यवस्थापन विषयमा स्नातकोत्तर तहको पढाइ सकाएर लोकसेवा आयोगको परीक्षा तयारी गरिरहनुभएको छ ।

समाजमा अचल सम्पत्ति प्रशस्त रहे पनि व्यवसाय गर्न चल सम्पत्ति नहुँदा आफन्त, छिमेकीले सकेसम्म व्यवसायमा लगानी गर्न सहयोग गर्दैनन् । कमाउने हुँदा सबैका हाइहाइ नहुँदा कोही न कोही भनेझैँ थियो, पोखरेल दम्पतीका विगतका दिन । अहिले समय फेरिएको छ, उहाँका हातमा दिनहुँ दाम परिरहेका छन्, यो देखेर टाढिएका आफन्त, छिमेकी सबै नजिकिने गरेका छन् ।

“घरपरिवार समाजमा पढ्नुपर्छ भन्ने सोच पनि थिएन, हामीले पढ्ने रहर भए पनि पढ्न पाइएन, त्यही सम्झेर आफूले दुःख गरेर छोराछोरीलाई शिक्षा दिएका हौँ”, विगत सम्झँदै डिल्लीमायाले भन्नुभयो, “धेरै जना छोराछोरी जन्मिए, कसरी पढाउने हुर्काउने भन्ने पीरले रातदिन सताउँथ्यो, तर तरकारी लगाउन शुरु गरेपछि अचम्मको उत्पादन हुन थाल्यो, त्यसैबाट छोराछोरीको इच्छाअनुसारको पढाइ खर्च धानियो ।”

बुबाआमाले कृषि व्यवसायबाट कमाएको रकमले शिक्षामा लगानी गरेर छोराछोरीका लागि दुःख गरेर भविष्य बनाइदिनुभएको उहाँका माइली छोरी सरिता बताउनुहुन्छ । “बुबाआमाले गरेको मेहनत, दुःख सम्झेर नै हामीले पनि पढाइमा निकै मेहनत गरेर पढ्यौँ, हामी सानै थियौँ”, उहाँले भन्नुभयो, “परिवारमा कमाएर दिने कोही थिएन, तरकारी लगाएर, बाख्रा बेचेर, दूध बेचेर पाँचै जना छोराछोरीलाई भेद्भाव नगरिकन सबैलाई राम्रो शिक्षा दिनुभयो ।”

बुबाआमाले शिक्षामा लगानी नगरेको भए अहिले बीचमै पढाइ छाडेर बाँच्नका लागि मजदूरी गर्नुपर्ने अवस्था आउने उहाँको भनाइ छ । छोराछोरीको प्रगति देखेर ढल्कँदो उमेर भए पनि कामधन्दा भने जवानी अवस्थाकै जोश जाँगर छ । आफूले सक्दासम्म कृषि व्यवसायलाई निरन्तरता दिने पोखरेल दम्पतीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.