नाम वाग्मती र राजधानी हेटौँडा राख्ने सर्वदलीय बैठकको निर्णय
रिपेश दाहाल । हेटौँडा, २६ पुस : नाम र राजधानीको सम्बन्धमा यहाँ बसेको सर्वदलीय बैठकले प्रदेश नं ३ लाई वाग्मती नामाकरण गर्ने र स्थायी राजधानी हेटौँडालाई कायम गराउने एउटा मात्र प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । साथै सो प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मत पारित गराउने निर्णय भएको छ ।
स्थायी राजधानी र नामका विषयमा सर्वसम्मत गराउने प्रयासस्वरुप मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा शुक्रबार अबेर सर्वदलीय बैठक बसेको थियो । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, विवेकशील नेपाली दल, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी, राप्रपा र राप्रपा संयुक्तका प्रदेशसभा सदस्यको उपस्थिति थियो ।
बैठकमा मुख्यमन्त्री पौडेलले महत्वपूर्ण विषयवस्तुमा यो वा त्यो दल भन्दा पनि सर्वदलीय सहमतिमा निर्णय गर्दा सकारात्मक सन्देश जाने र सकसमा रहेका अन्य प्रदेशले पनि प्रदेश नं ३ ले स्थापित गरेको नजिरबाट समस्या हल गर्न सक्ने बताउनुभयो । उहाँले सकेसम्म स्थायी राजधानीको एउटा मात्र नाम हेटौँडा र एउटा मात्र प्रदेशको नाम वाग्मतीलाई सबै दलले समर्थन गरेर जान अनुरोध गर्नुभएको थियो ।
प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले इतिहास लेखाउने बेलामा एक भएर जानुको विकल्प नरहेको बताउनुभयो । “राजनीति चुनावका बेला गर्ने हो, अहिले साझा मुद्दामा सबै दल एक छन् भन्ने सन्देश दिन एकढिक्का भएर निर्णय गर्नुपर्छ”, उहाँले भन्नुभयो । बैठकमा सहभागी हुनुअघि आफ्नो दलको संसदीय दलको बैठक बसेको र बैठकले प्रदेशसभामा प्रस्ताव हुने हेटौँडा र वाग्मतीको पक्षमा मत जाहेर गर्ने सर्वसम्मतिले निर्णय गरेको भन्दै नेता बानियाँले एकता प्रदर्शन गर्नुपर्ने बेलामा तलमाथि हुने देखिए ह्वीप लगाएरै भए पनि अगाडि बढ्ने बताउनुभयो ।
नेकपा संसदीय दलका उपनेता तथा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले व्यक्तिगत रुचि र चाहनाभन्दा पनि माथि उठेर एकता प्रदर्शन गर्नेबेला भएको बताउनुभयो । “हामीभित्र पनि विभिन्न धारणा थिए, अडान थिए तर छलफल र अन्तरक्रियाबाट एउटै धारणा बनाएका छौँ, अब सबै दलको धारणा एउटै भए जनतामा सकारात्मक सन्देश प्रवाह हुन्छ र राम्रो सन्देश जान्छ”, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईंले प्रदेशको राजधानी उपत्यकाभित्र वा आसपास हुनुहुँदैन भनेर आफ्नो दलले पहिल्यैदेखि भन्दै आएको बताउनुभयो । उहाँले नामसमेत कुनै जातजाति, धर्म र संस्कृतिलाई प्रतिनिधित्व गर्ने र विवाद निम्त्याउने खालको हुनुहुन्न भन्ने माग रहेकामा हाल अघि सारिएको स्थायी राजधानी हेटौँडा र नाम वाग्मती आफूहरुलाई स्वीकार्य हुने बताउनुभयो । राप्रपाका रीता माझीले प्रदेशसभामा ऐतिहासिक सहमति कायम हुनुपर्ने भन्दै नाम वाग्मती र सामरिक महत्वका हिसाबले हेटौँडा राजधानी उपयुक्त हुने बताउनुभयो । राप्रपा संयुक्तका रीना गुरुङले आफूहरु शुरुदेखि नै हेटौँडाको पक्षमा रहेको र राजधानीको नामसमेत साझा आएकाले सर्वसम्मति गराउने मुख्यमन्त्रीको चाहनामा साथ दिने बताउनुभयो ।
छलफलमा विवेकशील नेपाली दलका रमेश पौडेलले आफ्नो दलले कसैले पनि नउठाएका बेला प्रदेश नं ३ को नाम वाग्मती प्रदेश हुनुपर्छ भनेर आवाज उठाउने काम गरेको भन्दै नाममा आपत्ति नरहेको र राजधानीका सम्बन्धमा भने आजसम्म धारणा दिने बताउनुभयो । त्यस्तै विवेकशील साझाकी शोभा शाक्यले आफ्नो दलले नामाङ्कनको बारेमा विगतमै धारणा बनाइसकेकाले वाग्मतीमा समर्थन गर्ने जनाउनुभयो । राजधानीको सम्बन्धमा भने आज आधिकारिक धारणा दिने उहाँले बताउनुभयो ।
प्रदेशसभामा नेकपाका ८०, काँग्रेसका २२, विवेकशील नेपालीका तीन, नेपाल मजदुर किसान पार्टीका दुई, राप्रपाका एक, राप्रपा संयुक्तका एक र नयाँ शक्तिका एक गरी ११० सदस्य छन् ।
प्रदेशसभामा आज निर्णय हुँदै
प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् ।
आजै दिउँसो हुने प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाइनुपर्छ भन्ने प्रस्तावको पक्षमा नेकपा संसदीय दलका नेता तथा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहनुभएको छ । उक्त प्रस्तावलाई समर्थन गर्नुहुनेहरुमा प्रतिपक्ष दलका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाका रीता माझी र राप्रपा संयुक्तका रीना गुरुङ हुनुहुन्छ ।
यसैगरी काभ्रेपलाञ्चाक जिल्लालाई ३ नं प्रदेशको राजधानी हुनुपर्छ भन्ने विवेकशील साझा दलका नेता रमेश पौडेल प्रस्तावक रहनुभएको छ । समर्थकमा सोही दलका प्रदेशसभाका सदस्य विराज भट्ट श्रेष्ठ र शोभा शाक्य हुनुहुन्छ ।
सचिवालयमा प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै हेटौँडालाई राजधानी बनाउन साझा सहमतिका आधारमा प्रयास गरिएको र सबै दलसँग सहमतिका लागि वार्ता भइरहेको बताउनुभयो ।
यसैगरी प्रतिपक्ष नेपाली काँग्रेसका नेता बानियाँले ३ नं प्रदेशको राजधानी हेटौँडालाई राजधानी बनाउन सबैले व्यक्तिगत आग्रह–पूर्वाग्रह त्यागेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेशसभामा ११० जना सदस्य छन् भने हेटौँडालाई राजधानी बनाउनुपर्ने पक्षमा १०७ जना छन् ।
