सरोकारवालासँग समन्वय गर्न पूर्व श्रममन्त्री न्यौपानेको सुझाव
काठमाडौँ, २४ पुस : पूर्व श्रममन्त्रीहरुले सरोकारवालासँग समन्वय गरेर काम कारबाही गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई सझुाव दिएका छन् । श्रम मन्त्रालयमा आयोजित छलफलमा उनीहरुले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँदै आन्तरिक रोजगारी सिर्जनामा ध्यान दिन सुझाव दिए । सो अवसरसमा पूर्व श्रममन्त्री मुकुन्द न्यौपानेले मन्त्रालयले काम गर्ने तौरतरिका र सोच्ने तरिकामा रुपान्तरण आवश्यक रहेको बताउँदै कुनै पनि काम गर्नुभन्दा पहिला विज्ञ र सरोकारवालासँग राय लिएर अगाडि बढ्न सुझाव दिनुभयो ।
योजना र तयारी बिना मन्त्रीले सस्तो लोकप्रियताको निम्ति बोल्ने तर त्यसअनुरुप परिणाम दिन नसक्दा जनतामा वितृष्णा फैलिएकामा ध्यानकर्षण गराउँदै सरकारले बनाएको कार्ययोजना प्रभावकारी ढङ्गले लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्री सरिता गिरीले छिमेकी मुलुकको मानव संशाधनको प्रयोग र भौतिक विकासको सुक्ष्म अध्यधन गरी त्यसअनुसार अगाडि बढ्न आग्रह गर्नुभयो । अर्का पूर्वमन्त्री कमल चौलागाईंले अस्तव्यवस्त बनेको वैदेशिक रोजगारी क्षेत्रको गम्भीररुपमा अध्ययन सुधारका एजेण्डालाई अगाडि बढाउन सुझाव दिनुभयो । वैदेशिक रोजगारीका साथै आन्तरिक रोजगारी सिर्जना, कृषि, जल र पर्यटनका माध्यमबाट थप अवसर सिर्जना गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
सो अवसरमा मन्त्री यादवले पूर्व श्रममन्त्रीको अनुभव र सुझावका आधारमा आगामी रणनीति तय गरिने बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सफल पार्न सबैको सहयोग अपरिहार्य रहेको बताउँदै मन्त्री उहाँले वैदेशिक रोजगारका क्षेत्रमा देखापरेका विकृति र विसंगति अन्त्यका लागि आफू प्रयासरत रहेको जानकारी दिनुभयो ।
करिब डेढ महिनाअघि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका यादवले आज पूर्व श्रममन्त्रीसँग छलफल गर्नुभएको हो । उहाँले बिहीबारमात्रै आगामी तीन महिनाको कार्ययोजना सार्वजनिक गर्नुभएको थियो । अनुभव साटासाट, श्रम क्षेत्रमा देखिएका समस्याको निराकरण गर्ने विषयमा छलफल गर्न बैठक बोइलाए पनि तीन पूर्वमन्त्री मात्र सहभागी भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले २०४६ पछि श्रम मन्त्रालयको जिम्मेवारीमा रहेका १७ पूर्वमन्त्रीलाई छलफलमा बोलाएको थियो ।
