समाचारको प्रभाव : रामपुरको फोहोर व्यवस्थापन प्रक्रिया अगाडी बढाइने

रामपुर नगरपालिकामा समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन प्रक्रियाका लागि अन्तर्क्रियामा सहभागी हुँदै प्रमुख रमणबहादुर थापा, उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल तथा सूर्योदय लघुबित्त संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठ लगायत । तस्विर: सुशलिा रेग्मी

सुशीला रेग्मी । (पाल्पा), १७ पुस : रामपुर नगरपालिकामा समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन प्रक्रिया अगाडी बढाइने भएको छ ।

‘रामपुरको फोहोरमैला व्यवस्थापन हुन नसक्दा समस्या’ भन्ने समाचार गत पुस ५ गते https://mediamissionnepal.com लगायतका संचारमाध्यमबाट प्रकाशित भएपछि फोहोर व्यवस्थापनका लागि सरोकारवाला बीच छलफल तथा अन्तर्क्रिया गरिएको छ ।

समाचार प्रभावकै कारण फोहोर व्यवस्थापन क्षेत्रमा काम गर्दै आएको उद्यम चौतारी प्रालिले फोहोर व्यवस्थापन गर्ने उपायका बारेमा रामपुर नगरपालिका संग छलफल तथा अन्तर्क्रिया गरेको हो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुरमा फोहोरमैला व्यवस्थापन गर्न पटक पटक प्रयास गरेपनि नसकिएको बताउनुभएको छ ।

उहाँले नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि जग्गा खरिद गरेपनि स्थानीयको असमझदारीका कारण व्यवस्थापन गर्न समस्या परेको बताउँदै तत्काल नै प्रक्रिया अगाडी बढाउने बताउनुभएको छ ।

“फोहोर व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्रीको बन्दोबस्त नगरपालिकाले गर्नेछ, उद्यम चौतारी प्रालि संगको सहकार्यमा छिटो भन्दा छिटो व्यवस्थापनमा लागेर सफा र सुन्दर रामपुर नगर बनाउनेछौँ” नगर प्रमुख थापाले भन्नुभयो ।

रामपुरमा दिनहुँ निस्कने फोहोरजन्य पदार्थ प्रशोधन गरी आयआर्जन बढाउन सकिने भएपनि व्यवस्थापन हुन नसक्दा आम्दानी खेर गएको छ । घरभित्रबाट निस्कने फोहोरबाट कम्पोष्ट मल बनाएर बोटविरुवामा प्रयोग गर्न सकिन्छ ।

उद्यम चौतारी प्रालिका प्रबन्ध निर्देशक रिखिराम पौडेलले कार्यक्रमको सहजिकरण गर्दै फोहोरलाई प्रशोधन गरेर यसैबाट नगरपालिकाले प्रशस्त आम्दानी गर्न सक्ने बताउनुभएको छ ।

“फोहोरलाई व्यवस्थापन गर्न नसक्दा पैसा खेर गइरहेको छ, फोहोर पनि आयस्रोत हो भन्ने जनमानसमा ज्ञान छैन” उहाँले भन्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले व्यक्ति स्वयम्ले फोहोरजन्य पदार्थले मानव स्वास्थ्यमा पार्ने असरबारे हेक्का नगर्दा फोहोर व्यवस्थापनमा समस्या परेको बताउनुहुन्छ ।

प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले सकेसम्म दीर्घकालिन रुपमा निश्चित ठाउँमा फोहोर व्यवस्थापन गर्न सकियो भने राम्रो हुने बताउनुभएको छ ।

सूर्योदय क्लव तथा सूर्योदय लघुबित्त संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले फोहोरबाट प्राङ्गारीक मल उत्पादन गरी आयआर्जनको राम्रो माध्यम हुने भएपनि मानिसको वेवास्ता र चेतनाको अभावका कारण उचित व्यवस्थापन हुन नसकेको बताउनुभयो ।

श्रेष्ठले स्याङ्गजाको वालिङ्ग नगरपालिकाले फोहोर प्रशोधन गरेर प्रशस्त आम्दानी गरिरहेको र यसैबाट रोजगार गर्ने अवसर पनि मिलेको बताउनुभयो । जिल्लाकै भिरकोट नगरपालिका र पुतली बजार नगरपालिमा पनि उद्यम चौतारी प्रालिले सहकार्य गरेर फोहोर व्यवस्थापनको काम सुरु गरेको छ ।

रामपुरको मुख्य बजार बेझाड बजार हो । बेझाड बजारका अलवा, विजयपुर, किसानवारी, ईस्लामपुर क्षेमा निस्कने फोहोर नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा वातावरण प्रदुषण बढीरहेको छ ।

बेझाड बजार क्षेत्रमा निस्कने फोहोरमैला रामपुर नगरपालिकाको प्राङ्गणमा नै फाल्ने गरिएको छ । बेझाड बजार क्षेत्रबाट शनिवार बाहेक हरेक दिन टिपरमा सङ्कलन गरेर ल्याइएको फोहोरमैला नगरपालिकाको प्राङ्गणमा नै फालिने गरिएको छ । यसले यहाँ दुर्गन्ध बढाएको छ ।

रामपुरमा हुने ठूला ठूला महत्वपूर्ण कार्यक्रम यही गरिन्छ नै फोहोरमैला फालिएको ठाउँ नजिकै राधाकृष्ण मन्दिर, शिवालय मन्दिर रहेका छन् । बेझाड बजार क्षेत्रमा जनघनत्व बढी रहेकाले यहाँ दैनिक तीन टिपर जति फोहोरमैला निस्कने गर्छ ।

बेझाडको मुख्य बजार चोक, बाङ्गेपसल, सहकारी पथ, नहरअफिस, हुलाक पेट्रोलपम्प, बसपार्क, स्कुलरोड, रामपुर आवासिय बोर्डिङ्ग, भुपु बोर्डिङ्ग, होटल श्रीनगर सम्म घर घरमा पुगेर टिपरमार्फत सङ्कलन गरिएका फोहोरजन्य सामग्री नगरपालिका परिसरमा फाल्ने काम भइरहेको छ ।

मासिक एक घरधुरीबाट रु एक सय शुल्क लिएर फोहोर सङ्कलन गर्ने काम भइरहेको बेझाड बजार फोहोरमैला व्यवस्थापन समिति संयोजक तथा रामपुर नगरपालिका वडा नं ५ का सदस्य काशीनाथ रेग्मी बताउनुहुन्छ ।

यहाँ पाँच सय ५० घरधुरीको फोहोर सङ्कलन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । मासिक करिव रु ५० हजार जति आम्दानी हुने गरेको छ ।

फोहोरमैला सङ्कलनबाट उठेको रकम फोहोरमैला व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद, तीन जना कर्मचारीलाई तलवमा खर्च हुने गरेको उहाँले राससलाई जानकारी दिनुभयो ।

बजार क्षेत्र नजिकै मन्दिर परिषर, नगरपालिका परिषर नजिकै फोहोरमैला फ्याँक्ने कार्यले रामपुरको वातावरणमा प्रभाव पारेको बजारवासी दुर्गाप्रसाद पोखरेल बताउनुहुन्छ ।

फोहोरमैला फालिएको बाटो भएर नगरपालिका कार्यालय, मालपोत र नापी कार्यालयमा सेवा लिन जान बाध्य नागरिक मुख थुनेर हिड्नुपर्ने अवस्था रहेको बेझाड बजार व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठ बताउनुहुन्छ ।

नगरपालिका भित्र निस्कने फोहोरमैला व्यवस्थापनका लागि विस.२०७१ सालमा रामपुर नगरपालिका ४ को गाबुडाँडामा २५ रोपनी जग्गा लिइएको छ । त्यहाँका केही स्थानीयको असमझदारीका कारण फोहोरमैला व्यवस्थापनको काम अगाडी बढ्न सकेको छैन ।

केही वर्ष अघि रामपुर साना शहरी खानेपानी आयोजनाबाट फोहोरमैला व्यवस्थापन शीर्षकमा आएको रु एक करोड रकम काम गर्न नसकेर फ्रिज भएर गएको नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपाने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.