काठमाडौँ अष्ट्रेलिया सिधा उडानको पहल हुँदै 

क्यानबेरा, (अष्ट्रेलिया) १४ पुस : नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो ।

अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् ।

सिड्नी विमानस्थलले प्रकाशित गरेको तथ्याङ्कअनुसार यो वर्षमात्र काठमाडौँबाट सिड्नी आउने यात्रुको सङ्ख्या एक लाख २१ हजार २६० पुगिसकेको छ । सिड्नी विमानस्थलसँग सिधा उडान सम्पर्क नभएका देशको विमानस्थलहरुको सबैभन्दा ठूलो सङ्ख्या हो ।

अष्ट्रेलियाको नागरिक उड्डयन सेवा प्रदायक संस्था विगत १२ वर्षदेखि कार्यरत इञ्जिनीयर राजु अधिकारीका अनुसार यो सङ्ख्या दैनिक सिधा उडानका लागि निकै फाइदाजनक देखिन्छ । उहाँका अनुसार सिधा हवाई सम्पर्क भएमा सिड्नीबाहेकका सहरमा जाने यात्रुहरुलाई पनि यही बाटो प्रयोग गर्ने छन् । यसले गर्दा सिधा उडान प्रभावकारी हुने गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यसमेत रहनुभएका उहाँले बताउनुभयो ।

अष्ट्रेलियन कम्पनीहरुले भारतका सहरबाट समेत हालसम्म उडान गरेको पाइँदैन । नेपाल एयरलाइन्सले काठमाडौँ र सिड्नीबीच सिधा उडानका लागि सम्भाव्यता अध्ययन गरिएको जनाएको छ । सिड्नी काठमाडौँको दूरी लगभग १० हजार किलोमिटर रहेको छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले सम्झौतापछिका प्राविधिक पक्षहरुका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो । अगामी जनवरी ७ तारिखमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको यहाँ भ्रमण हुने समयमा यहाँका उच्च अधिकारीसँग भेटघाटका लागि पहल आफूले गरिरहेको उहाँले बताउनुभयो ।

अष्ट्रेलियाको सिड्नी आसपासको क्षेत्रहरु क्यानवेरा, गोलवन, वागावागा, डव्वो लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली यसबाट लाभान्वित हुने गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटा बताउनुहुन्छ । साथै सिधा उडानले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाँले जानकारी दिनुभयो । यसका लागि आवश्यक सहयोग गर्न गैरआवासीय नेपाली सकारात्मक रहेको उहाँले बताउनुभयो ।

अष्ट्रेलियामा भ्रमण वर्षको भव्य तयारी

भ्रमण वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय कार्यक्रमको शुभारम्भको तयारी यहाँ तीव्र पारिएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अष्ट्रेलियाको सिड्नीमा यही पुस २२ गते भव्य समारोहका बीचमा भ्रमणवर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रमण्डल अष्ट्रेलियाका लागि नेपाली राजदूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी न्यू साउथ वेल्सको सहयोगमा कार्यक्रम हुँदैछ । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालका अनुसार सो दिन बिहान ७ बजे अष्ट्रेलियामा रहेका नेपाली र अष्टे«लियावासी सबैले एकै साथ सामाजिक सञ्जाल फेसबुकमा भ्रमण वर्षको लोगो पोष्ट गने कार्यक्रम रहेको छ ।

यसैगरी बिहान ८ देखि १० बजेसम्म नेपालीको उल्लेख्य बसोबास रहेका स्थानमा भ्रमण वर्षको प्रचारप्रसार गर्दै शान्तिपूर्ण ¥याली गरिने भएको छ । त्यसका लागि गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका विभिन्न तहतप्काका अधिकारीहरु सक्रिय रुपमा लागिपरेका छन् ।

त्यसै दिन दिउँसोे १ बजे सिड्नी सहरको मुटु भनेर चिनिने ओपेरा हाउस रहेको ‘सर्कुलर की’मा नेपाली वेशभूषासहित नेपाली र विशिष्ट पाहुनाहरुको उपस्थितिमा विशेष कार्यक्रम हुने राजदूतावासले जनाएको छ ।

सो कार्यक्रमलाई पर्यटनमन्त्री भट्टराईले विधिवत् रुपमा उद्घाटन गर्नु हुनेछ । कार्यक्रममा मन्त्री भट्टराई, राजदूत दाहाल, नेपालको ५८औँ पटक भ्रमण गर्नुभएका अष्ट्रेलियन नागरिक क्रिस वाकर लगायतका विशिष्ट पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन साँझ विदेशी पाहुनासहितको पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिको उपस्थितिमा रात्रिभोज गरिँदैछ ।

यससँगै नेपालमा पर्यटक भित्र्याउन वर्षभरि नै विभिन्न कार्यक्रम गर्न लागिएको राजदूतवासले जनाएको छ । । ट्राभल एजेन्टहरु, यात्रा विशेषज्ञ, प्राध्यापक, लेखक, पत्रकारलगायतसँग छलफल तथा उनीहरुलाई नेपालको पर्यटकीय महत्वबारे लेख्न र प्रचारप्रसारका लागि उत्प्रेरित गर्न लागिएको छ ।

राजदूतावासको पहलसँगै यहाँका ट्राभल एजेन्सीहरुले नेपाल भ्रमणको प्याकेजहरु पनि सार्वजनिक गरेका छन् । यहाँको सबैभन्दा ठूलो ट्राभल एजेन्सी फ्लाइट क्यानवेराले प्याकेज सार्वजनिक गरेको हो । सम्भवतः पहिलोपटक यहाँका ट्राभल एजेन्सीले नेपालका लागि प्याकेज कार्यक्रम सार्वजनिक गरेका हुन् ।

अष्ट्रेलियाबाट वार्षिक ३३ हजार हाराहारी पर्यटक नेपाल भित्रिने गरेको तथ्याङ्क रहेको छ । यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य रहेको जनइएको छ ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य राजु अधिकारी अष्ट्रेलियामा रहेका नेपालीहरुले भ्रमण वर्षलाई पर्वका रुपमा लिएको बताउनुहुन्छ । उहाँले भ्रमण वर्षलाई सफल बनाउन यहाँ रहेका नेपाली र राजदूतावास संयुक्तरुपमा लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.