पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा प्रदेश सरकार

कृष्णराज गौतम । काठमाडौँ, ९ पुस : प्रदेश ३ सरकार हिमाली, उच्च पहाडी तथा तराई क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा जुटेको छ । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी प्रदेशअन्तर्गतका प्राचीन संस्कृति, ऐतिहासिक विविधता, सम्पदास्थल, धार्मिकस्थलका साथै नयाँ पर्यटकीय गन्तव्यको खोजी गरी पर्यटकलाई आकर्षित गर्न लागिएको हो ।

उक्त मन्त्रालयले गत मङ्सिर ३० देखि यही पुस ६ गतेसम्म महत्वपूर्ण पर्यटकीय क्षेत्रको खोजी तथा प्रचारका लागि प्रदेशका २५ पत्रकारलाई त्यसतर्फ स्थलगत अवलोकन भ्रमण आयोजना गरेको थियो । भ्रमण कार्यक्रमअन्तर्गत सिन्धुलीको सिन्धुलीगढी, दोलखाको कालीञ्चोक, भीमेश्वर मन्दिर, जिरी बजार, सिन्धुपाल्चोकको तातोपानी, बाह्रबिसे, मुढेको पहाडी केन्द्र, नुवाकोटको दरबार, रसुवाको बेत्राबती, चितवनको सौराहालगायतका स्थान अवलोकन गराइएको थियो । पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास छ ।

उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले पर्यटन क्षेत्र यस प्रदेशको विकास र समृद्धिको आधार भएको बताउँदै त्यसको प्रचार तथा प्रवद्र्धनका लागि विभिन्न सञ्चार गृहका पत्रकारलाई भ्रमण वर्षको पूर्वसन्ध्यामा स्थलगत अध्ययन तथा अवलोकन भ्रमण आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चालू आवमा रु एक अर्ब ६५ करोड पर्यटन क्षेत्रको विकासका लागि खर्च विनियोजन गरिएको छ ।”

भ्रमणका क्रममा सिन्धुलीगढीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकका साथै युद्ध सङ्ग्रहालय निर्माण गर्न लागिएको पाइएको छ । विसं १८२४ मा तत्कालीन अङ्गे्रजका तर्फबाट त्यस क्षेत्रलाई कब्जा गर्न किनलकको नेतृत्वमा आएका दुई हजार ४०० फौजलाई शाहको सेनाले आक्रमण गरी एक हजार ६०० फौजलाई सोही वर्षको असोज १५ गते मारिदिएको इतिहास छ ।

तत्कालीन समयका युद्धमा प्रयोग गरिएका केही हतियारलाई हालसम्म सुरक्षित गरिएकाले तीनलाई सोही सङ्ग्रहालयमा संरक्षण गरिने छ । मुलुकको एकीकरणमा योगदान गरेकाले राष्ट्र निर्माता शाहको पूर्णकदको शालिकसमेत त्यहाँ राखिने तयारी गरिएको छ । यसले वीर गोरखालीको प्रतिष्ठा बढाउनुका साथै तत्कालीन युद्धका बारे अध्ययन तथा जानकारी लिन पर्यटक आउने सम्भावना देखिएको छ ।

करिब चार हजार मिटर उचाइमा रहेको दोलखाको कालीञ्चोक मन्दिर, ऐतिहासिक भीमेश्वर मन्दिर, जिरी बजार यस प्रदेशका महत्वपूर्ण पर्यटकीयस्थल हुन् । कालीञ्चोक मन्दिरको उचाइबाट देखिने त्यस आसपास क्षेत्रका भूदृश्य तथा नजिकै रहेको गौरीशङ्कर हिमालले जो कोहीको पनि मन जित्न सक्छ ।

दोलखाकै भीमेश्वर नगरपालिका–९ डाङडुङ्गे डाँडा वरपर क्षेत्रमा निर्माण गर्न लागिएको अन्तरराष्ट्रिय चलचित्र केन्द्र, २० रोपनी क्षेत्रफलमा फैलिएको शिवपोखरी, खरीढुङ्गा पर्यटन क्षेत्रको विकास लागि आकर्षक गन्तव्य हुन् । सिन्धुपाल्चोकको तातोपानी, मुढेको पहाडी केन्द्र, भोटेकोशीको बन्जीजम्पले पर्यटकलाई आकर्षित बनाउन सक्ने देखिएको छ ।

प्राकृतिकरुपमा निस्कने तातोपानीमा स्नानका लागि विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन् । करिब दुई दशकदेखि निजी क्षेत्रबाट साहसिक पर्यटनका लागि सञ्चालन गरिएको बन्जीजम्प कम्पनीले युवा, वृद्धको सहासलाई उच्च मनोबल कायम गरेको छ ।

नुवाकोट दरबार हाल जीर्णोद्धारका क्रममा रहेकाले पुरातत्व विभागको सहयोगमा अहिले मर्मत कार्य भइरहेको छ । विसं १८०१ अगाडि काठमाडौँ उपत्यकाका मल्ल राजाको अधिनमा रहेको यस स्थानमा १७७९ पुस २७ गते गोरखामा जन्मेका राष्ट्र निर्माता पृथ्वीनारायण शाहले २० वर्षमा राजा भएलगत्तै १८०१ असोज १५ गते नुवाकोटमा आक्रमण गरी विजय प्राप्तपछि विशाल नेपाल एकीकरणका अभियान शुरुआत गरेको इतिहास छ ।

रसुवाको बेत्राबतीलाई हिन्दू धर्मावलम्बीले उत्तरगयाका रुपमा आस्था प्रकट गरी श्राद्ध गर्ने महत्वपूर्ण तीर्थस्थल भएकाले यहाँ धार्मिक पर्यटनको सम्भावना छ । चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका १० स्थलमध्ये एक महत्वपूर्ण क्षेत्र हो । यहाँका वन्यजन्तु अवलोकनका लागि देश विदेशबाट पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.